राप्रपाको र मेरो राष्ट्रवाद उस्तै हो : दाहाल- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्रपाको र मेरो राष्ट्रवाद उस्तै हो : दाहाल

'राप्रापसँग मत, विचार र दर्शन मिल्दैन तर गोत्र मात्रै मिल्छ'
कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्तै राष्ट्रवादी भएको बताएका छन् । बुधबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा बोल्दै अध्यक्ष दाहालले आफ्नो राष्ट्रवाद र राप्रपाको राष्ट्रवाद उस्तै भएको टिप्पणी गरेका हुन् ।

उनले राप्रपा र आफ्नो पार्टीको मत भने नमिल्ने स्पष्ट पारे । तर पनि राप्रपाले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्न सघाएर भिन्न परिस्थितिमा भिन्न खालको देशभक्ति देखाएको अध्यक्ष दाहालको तर्क थियो ।

अध्यक्ष दाहालले राप्रपाले ईतिहासतिर फर्केर राष्ट्रवादको कुरा उठाउने गरेको उल्लेख गर्दै आफूहरुले नेपाली जनतालाई राष्ट्रवादको मुख्य आधार बनाएर अघि बढेको दाबी समेत गरे । उनले भने, ‘हाम्रो मत त मिल्दैन । म गणतन्त्रवादी, धर्म निरपेक्षतावादी । तर म पनि तपाईंहरुजस्तै राष्ट्रवादी । राष्ट्रवादको व्याख्या गर्दा दुईटा आधारभूत कुरा छन् । एउटा राष्ट्रवाद भन्ने बित्तिकै अघि बढी हिजोको इतिहासमा भएका सकारात्मक र गौरवपूर्ण कुराहरुलाई आधार बनाएर अहिले पनि इतिहासतिरे फर्कने राष्ट्रवाद । एउटा, नेपालको सम्पूर्ण जनतालाई राष्ट्रवादको आधार मान्दै जनतातिरै फर्कन खोज्ने राष्ट्रवाद ।'

अध्यक्ष दाहालले राजनीतिक विचारधारा फरक भएर पनि राप्रपाका नेता, कार्यकर्ताहरुले मुलुकमा राजनीतिक अस्थिरता हुन नदिनका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा साथ दिएको विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा दाहालले राप्रपासँग आफ्नो मत, विचार र दर्शन नमिले पनि राष्ट्रिय भावना,स्वाधिनताको विषयमा मिल्ने बताए । उनले राष्ट्रियताको सवालमा मत मिल्नै भएकाले राप्रपालाई आफूले उस्तै उस्तै गोत्र भएको उल्लेख गरे ।

प्रकाशित : मंसिर १५, २०७८ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्

खुकुरी रमको नयाँ प्याकेजिङका ५ विशेषताले तान्यो ग्राहकको ध्यान

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रियस्तरको अनुभव र नेपालीको मौलिकपन तथा परम्परालाई समेत फ्यूजन हुने गरी एक विशेष अनुभुति दिलाउनेगरी तयार भएको खुकुरी रमको नयाँ प्याकेजिङको आकर्षक स्वरुपले रम पारखीहरुको ध्यान तानेको छ ।  विगत ६२ वर्षदेखि खुकुरी रमको अनुभव लिएका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको स्वरुपमा तयार भएको नयाँ प्याकेजिङको विषयमा उत्साहजनक प्रतिक्रिया दिएको कम्पनीको दावी छ । 

नयाँ प्याकेजिङमा नेपालको मौलिकताबाट प्रेरित भएर केही नवीन र पृथक विशेषता थपिएका छन् । द नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभास लामिछानेकाअनुसार रमको नयाँ बोत्तलको बिर्को समात्दा नेपाली वीरताको प्रतीक खुकुरीको बिँड समातेको भान हुन्छ । यो बिर्को पुन: प्रयोग गर्न नसकिने गरी तयार गरिएको छ ।

यस्तै, खुकुरीको आकारबाट प्रेरित नयाँ वर्डमार्क समेत तयार गरिएको छ । यसले हाल चल्तीमा रहेको लोगोको सारलाई समेट्दै नेपालीको सरल तथा दृढ स्वभावलाई दर्शाउने लामिछाने बताउँछन् । रमको नयाँ प्याकमा रातो घेरामा अंकित सगरमाथाको शिखर, शिखरमा उदाएको सूर्य र सूर्यको अगाडि रहेको गोर्खालीहरुको शक्तिको प्रतिक खुकुरीले नेपाली मौलिकता र सम्पदालाई दर्शाउने उनी बताउँछन् ।

यस्तै, नेपाली मास्टर ब्लेन्डरको हस्ताक्षरयुक्त यो प्याकेजिङले स्वदेशी तथा विदेशी उपभोक्तालाई शत प्रतिशत नेपाली मौलिकता तथा गुणस्तरको विश्वास दिलाउने उनको तर्क छ । नयाँ प्याकमा एकअर्काको पूरकको रुपमा रहेको खुकुरीले नेपालीको शक्ति, दृढता तथा वीरतालाई दर्शाउने र ‘फ्रम द टप अफ द वर्ल्ड’ शब्दले यसको उद्गमस्थल विश्वको शिखरमा रहेको समेत जनाउने बताइएको छ ।

खुकुरी रमको नयाँ प्याकका यी ५ विशेषताका कारण ग्राहक उत्साहित देखिएको कम्पनीको दावी छ । कम्पनीका अनुसार नयाँ प्याकमा समेत खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखिएको छ । यसको गुणस्तरीयता र रम पिउँदा हुने अनुभुतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष रुपमा ध्यान दिइएको कम्पनीले उल्लेख गरेको छ ।


प्रकाशित : मंसिर १५, २०७८ १९:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×