राप्रपा महाधिवेशनमा माधव नेपालले भने- परिवर्तनको गतिलाई पछाडि नधकेलौं- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्रपा महाधिवेशनमा माधव नेपालले भने- परिवर्तनको गतिलाई पछाडि नधकेलौं

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनलाई रोक्न नसकिने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा बोल्दै राजनीतिक दलहरूले जनताको भावनालाई ठीक ढंगले आत्मसात् गरेर अघि बढ्न सुझाव दिएका हुन् ।

'जनताको भावनालाई ठीक ढंगले आत्मसात् गरेर परिवर्तनको संवाहक पनि बनेर अगाडि बढ्नुस् । परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काममा हामी नलागौँ । इतिहास अगाडि बढिसक्यो । इतिहास पछाडि जाँदैन,’ उनले भने, ‘त्यसैले तपाईंहरू पनि परिवर्तनको संवाहक बन्नुस् ।’

उनले नेपालका राजनीतिक दलहरूमा राष्ट्रियता, लोकतन्त्र र सामाजिक परिवर्तन तथा सामाजिक न्याय र समानताका विषयहरू ब्राण्ड बनेर रहेको बताए । ‘जसले यी ब्राण्डमा काम गरेका छन् । जसले यी एजेन्डा बोकेका छन्, ती राजनीतिकहरूले समाजमा प्रभाव राखेका छन्,’ उनले भने ।

प्रकाशित : मंसिर १५, २०७८ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौंमा चितुवाको छालासहित ३ पक्राउ 

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगर–९ एयरपोर्टबाट दुर्लभ वन्यजन्तु चितुवाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट शिवपुरी गाउँपालिका–२ घर भई गोकर्णेश्वर नगरपालिका–३ बस्ने २८ वर्षीय विशाल तामाङ, ३२ वर्षीय विनोद तामाङ र सोही स्थान बस्ने चितवन राप्ती नगरपालिका–१ का ४२ वर्षीय कामी सिंह स्याङ्तान छन् । 

एयरपोर्ट क्षेत्रमा चितुवाको छाला अवैध रुपमा बिक्री वितरण गर्नका लागि ल्याएको सूचनाको आधारमा महाशाखाको टोलीले बुधबार उनीहरुलाई पक्रेको हो । उनीहरूलाई बरामद २ फिट २ ईन्च लम्बाई र ७ ईन्च चौडाई भएको १ थान चितुवाको छालासहित कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित : मंसिर १५, २०७८ १८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×