हामीले किन विद्रोह गर्‍यौं त्यसको व्याख्या गरिरहनु पर्दैन, चितवनको तमासा नै पर्याप्त छ : अध्यक्ष नेपाल- भिडियो - कान्तिपुर समाचार

हामीले किन विद्रोह गर्‍यौं त्यसको व्याख्या गरिरहनु पर्दैन, चितवनको तमासा नै पर्याप्त छ : अध्यक्ष नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले कम्युनिस्ट आन्दोलनमा नेकपा एमालेबाट विद्रोह गरेको बताएका छन् ।

सोमबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले विद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा र चितवनको कुम्भमेला नै पर्याप्त रहेको बताएका छन् । उनले नेकपा एमाले पार्टीभित्र फरक मत राख्नेहरुको अपमान भइरहेको भन्दै नेकपा एमालेमा जनताको बहुदलीय जनवादका गफ मात्रै हाँकिएको बताए । नेकपा एमालेले कुनै पनि जनवादी अधिकारहरु प्रदान नगर्ने, विचारको बहसहरु सञ्चालन नगर्ने प्रवृत्तिले नै नेकपा एमाले कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन भन्ने प्रष्ट पारेको भन्दै अध्यक्ष नेपाललेएमाले अधोगतितर्फ गइसकेको पनि दाबी गरे ।

अध्यक्ष नेपालले भने, ‘अहिले हामीले कम्युनिष्ट आन्दोलनमा विद्रोह गरेका छौँ । नेकपा एमालेबाट विद्रोह गर्‍यौँ । किन विद्रोह गर्‍यौं त्यसको व्याख्या गरिरहनु पर्दैन, चितवनको तमासा नै पर्याप्त छ । त्यहाँको कुम्भ मेला नै पर्याप्त छ, त्यहाँ फरक मत राख्ने व्यक्तिहरुमाथि जसरी अपमान भएको हामीले समाचार पाइराखेका छौँ । त्यो नै पर्याप्त छ । जनताको बहुदलीय जनवादका गफ मात्रै हाँक्ने, कुनै पनि जनवादी अधिकारहरु प्रदान नगर्ने, त्यसबाट वञ्चित गर्ने, विचारको बहसहरु सञ्चालन नगर्ने, आदेशको पालन गर्ने, त्यो प्रवृत्तिले नै प्रष्ट पार्दछ कि अब त्यो नेकपा एमाले कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन, त्यो अब अधोगतितर्फ गइसकेको छ, दक्षिणपन्थी बाटोतर्फ लागिसकेको छ ।’

अध्यक्ष नेपालले नेकपा एमालेलाई विदेशीको दलालीले मात्र प्रशंसा गर्न सक्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताले महाधिवेशन उद्घाटनमा एमालेको उच्च प्रशंसा गर्नु स्वभनीय नभएको बताए । उनले राम्रो विचारधाराको पार्टीले राम्रोकै साथ दिने र नराम्रो विचारधाराको पार्टीले नराम्रोको नै साथ दिने भन्दै एमालेको कामले पार्टी कुन दिशातर्फ गइरहेको छ भन्ने प्रष्ट देखिने बताए । उनले अहिले वामपन्थी, लोकतान्त्रिक शक्तिहरु मिलेर ५ दलीय गठबन्धन सरकार बनाएको र मुलुक र संविधान मास्नेहरुबाट मुक्ति दिलाएको बताए ।

अध्यक्ष नेपालले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताले उच्च प्रशंसा गरेको, विदेशीहरुको दलाली गर्नेहरुले उच्च प्रशंसा गरेको, त्यसबाट थाहा हुन्छ कि वास्तवमा त्यो पार्टी कुन दिशातर्फ जान खोज्दै छ । राम्रोले राम्रोलाई प्रशंसा गर्दा रहेछन्, नराम्राले नराम्रालाई नै प्रशंसा गर्दछन् । त्यसैले राम्रा राम्रसँग, नराम्रा नराम्रासँग छन्, अहिले हामी वामपन्थी, लोकतान्त्रिक शक्तिहरु एकताबद्ध भएर ५ दलीय गठबन्धन बनाएका छौं । यो मुलुकलाई, संविधानलाई क्षतविक्षत पार्न खोज्ने शक्तिबाट मुक्त गरेका छौँ । लोकतन्त्रलाई मास्न खोज्ने शक्तिहरुबाट जोगाएका छौं । संविधानको, लोकतन्त्रको रक्षा गरेर हामीले क्रान्तिबाट प्राप्त गरेका उपलब्धिहरुको जगेर्ना गरेका छौँ । हामी क्रान्तिप्रति, त्यसबाट प्राप्त भएको उपलब्धिहरुप्रति अत्यन्त सजग छौँ । गम्भीर छौँ, रक्षा गर्न चाहन्छौँ । अगाडि लान चाहन्छौँ, प्रगतिको दिशामा बढाउन चाहन्छौँ ।’

क्रान्तिबाट प्राप्त गरेका उपलब्धिहरुको जगेर्ना गर्न र क्रान्तिबाट प्राप्त भएका उपलब्धिहरुप्रति आफू र आफ्नो पार्टी अत्यन्त सजग भएको बताए ।

प्रकाशित : मंसिर १३, २०७८ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्

एफएनसीसीआई र त्रिविको स्कुल अफ म्यानेजमेन्टबीच ‘इण्डष्ट्री एकेडेमी’ गठन गर्ने सहमति 

कान्तिपुर संवाददाता

काठमाडौँ — निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टबीच संस्थागत सहकार्य हुने भएको छ । दुवै संस्था इण्डष्ट्री एकेडेमी मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका छन् । 

महासंघको वस्तुुगत परिषद् र सोमटुुद्वारा संयुक्त रुपमा आइतबार महासंघ सचिवालयमा आयोजना भएको छलफल कार्यक्रममा उक्त सहमति भएको हो । कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योग, स्टार्टअप, मेडइन नेपाल जस्ता अभियानलाई महासंघले विशेष जोड दिएको बताए । त्यसको लागि त्रिविबाट जनशक्ति विकासमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा महासंघका तर्फबाट दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्ने, आफ्नो क्षेत्रमा नेतृत्व तयार गर्नेगरी शैक्षिक कोर्ष संशोधन गर्नुपर्ने सुुझाव दिइएको थियो । शैक्षिक कोर्ष संशोधन गर्दा शिक्षालाई व्यवहारिक उपयोगी बनाउने, जनशक्ति व्यवस्थापन, गुणस्तर सुधार, आपूर्ति श्रृंखलाको व्यवस्थापन, ईकमर्सलाई उच्च प्राथमिकता, वाणिज्य मध्यस्थता, ट्रेड डाटा एनालाइसिस जस्ता पक्षलाई पनि समेटनुु पर्ने सुुझाव सो अवसरमा निजी क्षेत्रबाट दिइएको थियो ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले विश्वविद्यालयले दिने शिक्षा व्यवहार उपयोगी, मुुलुकको उद्योग व्यवसाय, सीप विकासमा केन्द्रित रही उच्च प्राविधिक ज्ञान दिने खालको हुुनुुपर्ने सुुझाव दिए ।


प्रकाशित : मंसिर १३, २०७८ १८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×