एमालेमा अब केपी ओलीको डनवाद मात्रै बाँकी छ : थापा- भिडियो - कान्तिपुर समाचार

एमालेमा अब केपी ओलीको डनवाद मात्रै बाँकी छ : थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता गगन थापाले प्रजातन्त्र, वर्तमान संविधान र व्यवस्थाको आधारभूत मूल्यमान्यताबाट बरालिएको एमालेलाई कांग्रेसले ठीक पार्न सक्नुपर्ने बताएका छन् ।

‘चितवनबाट फर्किँदै गरेको एमालेले पार्टीभित्रको जनवादलाई सकाएको मात्रै होइन, अब देशको प्रजातन्त्रलाई सक्ने बाटोमा यो अगाडि आउँछ, त्यो शक्तिको रुपमा आउँछ,’ काठमाडौंको १४ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै आइतबार नेता थापाले भने, ‘एमालेसँग जुध्नु कांग्रेसको कर्तव्य नै हो, हिजो हतियारको राजनीतिमा लागेको माओवादीलाई ठीक बाटोमा ल्याएको जस्तै, बरालिएको एमालेलाई पनि कांग्रेसले ठीक पार्न सक्नुपर्छ । नचाहिने कुरा गर्‍यो भने हप्काउने तागत राख्नुपर्छ । तथ्यहीन कुरा गर्‍यो भने तथ्यका आधारमा बोलेर कांग्रेसले ठीक ठाउँमा ल्याउनुपर्छ ।’

उनले कांग्रेसले आफ्नो १४ औँ महाधिवेशनबाट बरालिएको एमालेलाई ठीक गर्न सक्ने नेतृत्व चुन्नुपर्ने बताए । ‘कांग्रेसको शत्रु कोही पनि छैन । एमाले पनि हाम्रो शत्रु होइन । तर बरालिएको एमालेलाई ठीक ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्ने काम कांग्रेसको हो । चितवनबाट एमाले बरालिएको छ । त्यो बरालिएको एमालेलाई ठीक ठाउँमा ल्याउने तागत कांग्रेसले आफ्नो अधिवेशनबाट लिएर आउनुपर्छ,’ थापाले भने ।

उनले चितवनबाट एमाले नराम्रोसँग बरालिएको टिप्पणी गरे । ‘नारायणीको किनारमा कोही पनि मानिस स्वतन्त्र छैन । त्यहाँ बा’को पाउमा तेल लगाउने प्रतिस्पर्धा चलिरहेको छ । त्यो प्रतिस्पर्धामा भाग लिन्नँ भनेर उठेको मान्छे जम्मा एक जना हो–भीम रावल,’ थापाले अघि भने, ‘भीम रावलले झन्डै कुटाई खाएर अहिले उनलाई हाम्रो प्रहरीले सुरक्षा दिइरहेको छ । विधिवत् रुपमा नेकपा एमालेबाट हिजोदेखि जनवाद सकियो । त्यहाँ अब केपी ओलीको डनवाद मात्रै बाँकी छ ।’

पूरा पढ्न : एमालेमा अब केपी ओलीको डनवाद मात्रै बाँकी छ : थापा

प्रकाशित : मंसिर १२, २०७८ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्

ओमिक्रोनको त्रास : डब्लूएचओले दियो नेपाललाई उच्च सतर्कता अपनाउन सुझाव

'जति छिटो संक्रमण नियन्त्रणका उपायहरु अवलम्बन गरिन्छ त्यति नै क्षति कम गर्न मद्दत पुग्छ'
कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले 'नयाँ भेरियन्ट अफ कन्सर्न' ओमिक्रोन पत्ता लागेसँगै नेपाललगायत दक्षिण-पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।

विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया हेर्ने क्षेत्रीय कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिनुपर्ने बताएको छ ।

'यस क्षेत्रका अधिकांस देशहरुमा कोभिड-१९ संक्रमितहरुको संख्या तुलनात्मक रुपमा कम हुँदै गएपनि विश्वका केही देशमा नयाँ भेरियन्ट फेला परेको छ । यसले अझैपनि संक्रमणको जोखिम पूर्णरुपमा हटिसकेको छैन र यसलाई नियन्त्रण गर्न हामीले हाम्रो सतप्रतिशत दिन जरुरी छ,' डब्लूएचओकी क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले भनिन् ।

विज्ञप्तीमा दक्षिण-पूर्वी एसियाका सबै देशहरुले सर्भेलेन्सका साथै सिक्वेन्सिङमा पनि जोड दिनुपर्ने बताइएको छ । यस्तै, सबैले अन्य देशबाट आफ्नो देशमा नयाँ भेरियन्टलाई भित्रिन नदिनका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नेहरु माथि थप निगरानीका साथै नियन्त्रणका उचित उपायहरु उपनाउन समेत सुझाव दिएको छ ।

'जति छिटो संक्रमण नियन्त्रणका उपायहरु अवलम्बन गरिन्छ त्यति नै क्षति कम गर्न मद्दत पुग्छ । कोभिड-१९ गराउने भाइरस जति धेरै फैलिन्छ त्यति नै त्यसमा उत्परिवर्तन देखिन्छ र नियन्त्रण गर्न कठिन हुन्छ,' क्षेत्रीय निर्देशक सिंहले विज्ञप्तीमा भनेकी छन् ।

उनले अहिले पनि भाइरस नियन्त्रणको सबैभन्दा सजिलो उपाय भनेको मास्कको उचित प्रयोग, सामाजिक दूरी, भीडभाडबाट टाढा रहने, स्यानिटाइजेसन र खोपको प्रयोग नै रहेको बताएकी छन् । 'आजको दिनसम्ममा यस क्षेत्रका ३१ प्रतिशतले पूर्ण, २१ प्रतिशतले एक डोज तथा ४८ प्रतिशतले खोप लगाउन बाँकी रहेका छन् । त्यसैले ठूलो संख्या अहिले पनि संक्रमणको जोखिममा नै छन्,' उनले भनेकी छन् ।

प्रकाशित : मंसिर १२, २०७८ १५:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×