‘दलहरू ‘कर्पोरेट’ भए, नेतृत्व चयन कर्मकाण्डी’- भिडियो - कान्तिपुर समाचार

‘दलहरू ‘कर्पोरेट’ भए, नेतृत्व चयन कर्मकाण्डी’

कान्तिपुर संवाददाता

काठमाडौँ — भूराजनीति र राष्ट्रिय अर्थ–राजनीतिमा कलम चलाउने चन्द्रदेव भट्ट राजनीतिशास्त्री हुन् । लन्डन स्कुल अफ इकोनोमिक्स र बर्मिङघम युनिभर्सिटी, बेलायतबाट अध्ययन पूरा गरेपछि नेपालमै रहेर राजनीति र भूराजनीतिबारे अध्ययनका साथै लेखनमा सक्रिय भट्टसित ईकान्तिपुरका ध्रुव सिम्खडाले  प्रमुख दलहरूका आसन्न महाधिवेशनको सन्दर्भमा उनीहरूका कार्यशैलीमाथि केन्द्रित रहेर गरेको कुराकानी:

महाधिवेशनमा होमिइरहेका मूलधारका राजनीतिक दलहरूका क्रियाकलापलाई कसरी हेरिरहनुभएको छ ?

अहिले मूलधारका राजनीतिक दलहरूले जुन महाधिवेशन गरिरहेका छन् यो स्वाभाविक प्रक्रिया हो । दलहरूले महाधिवेशनमार्फत नीति पारित र नेतृत्व चयन गर्छन् । केही दलले समयभन्दा अलि ढिलो महाधिवेशन गर्दैछन्, केहीले अलि भिन्न परिस्थितिमा । एमालेले अलि भिन्न परिस्थितिमा महाधिवेशन गर्दैछ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको खारेजीपछि एमालेले महाधिवेशन गर्दैछ ।

दलका महाधिवेशनहरू केका लागि गरिन्छन् ?

लोकतन्त्रमा विश्वास गर्ने दलहरूले आफ्नो महाधिवेशन गर्नु जरूरी हुन्छ । किनभने तिनलाई वैधानिकता दिने र जनअनुमोदन गर्ने भनेकै महाधिवेशनले हो ।

हाम्रा दलहरूले महाधिवेशनबाट नेतृत्वमात्र परिवर्तन गर्ने गरेका छन् कि नीति पनि समयसापेक्ष बनाउँदै आएका छन् ?

नेतृत्व पनि परिवर्तन भएको छ र केही हदसम्म नीतिमा पनि परिवर्तन भएको छ । नीतिमा परिवर्तन भएकै छैन भन्न मिल्दैन । हाम्रा दलहरूको अवस्था बुझ्न अलि पछाडि फर्कनु पर्छ कि जस्तो लाग्छ । किनकि, अहिलेका हाम्रा मूलधारका दलहरू विशेष गरेर शीतयुद्धकालीन समयतिर स्थापना भएका हुन् । सन् १९४०, ५०, ६० तिर स्थापना भएका हुन् । तिनीहरू स्थापना भएको बेलाको परिस्थिति र अहिलेको परिस्थिति फरक छ । त्यतिबेला लोकतन्त्रको आवश्यकता थियो, विकासको कुरा भइरहेको थियो, आधुनिकताको कुरा भइरहेको थियो त्यसको स्थापना खातिर तिनीहरूले क्रान्ति गरे । सक्दो योगदान दिए । सफल पनि भए । तर अहिले परिस्थिति बदलिएको छ । त्यसैले तिनीहरूले बदलिँदो परिस्थितिअनुसार आफूलाई पनि बदल्न सक्नुपर्छ । १९९० मा बहुदल आएपछि नयाँ चुनौतीहरू थपिएका छन् । उनीहरूले आफूलाई त्यसअनुरूप बदल्नुपर्ने थियो । तर त्यसमा तिनीहरू चुके ।

अहिले हाम्रा दलहरू पनि संक्रमणकालबाट गुज्रिइरहेका छन् । कस्तो नीति बनाउने, पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा नेताहरू दोधारमा छन् । यस्तो अवस्था नेपालमा मात्र पनि होइन, अन्य मुलुकका पनि मूलधारका राजनीतिक दलहरू संकटमै रहेको देखिन्छ । लोकतान्त्रिक परिपाटी सफल भएका देशका पुराना दलहरू पनि संकटबाट गुज्रिरहेका छन् । यसको एउटै कारण बदलिँदो अर्थ–राजनीतिअनुसार उनीहरूले आफूलाई परिवर्तन गर्न नसक्नु हो ।

पूरा पढ्न : ‘दलहरू ‘कर्पोरेट’ भए, नेतृत्व चयन कर्मकाण्डी’

प्रकाशित : मंसिर ५, २०७८ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्

'प्रधानमन्त्रीले विदेशी लगानीका टिभी च्यानल कसरी उद्घाटन गर्नुभयो ?'

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाहृय लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन विपरीत काम गरेको टिप्पणी गरेका छन् ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता ज्ञवालीले नेपालको कानुनले निषेध गरेका ती टेलिभिजन च्यानल उद्घाटन गर्नुको कारण के हो भनेर प्रधानमन्त्री देउवालाई प्रश्नसमेत सोधेका छन् ।

आइतबार प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । गत मंसिर ३ गते योगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली कम्पनीले काठमाडौंमा सञ्चालनमा ल्याएको ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नाममा दुई टेलिभिजन च्यानलको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका थिए ।

तर प्रधानमन्त्री देउवाले उद्घाटन गरेका ती दुई च्यानल कानुनसम्मत नभएको प्रवक्ता ज्ञवालीको दाबी छ । उनले सो च्यानल नेपालको कानुन विपरीत राष्ट्रिय हितभन्दा फरक ढंगले सञ्चालनमा आएको उनको प्रतिक्रिया छ।

‘नेपालले बाहृय लगानीका लागि केही क्षेत्रलाई निषेध गरेको छ । यो अहिले कुनै व्यक्ति विशेषलाई, संस्था विशेषलाई लक्षित गरेर होइन । खासगरी सञ्चार क्षेत्रमा टेलिभिजनदेखि लिएर अरु विभिन्न क्षेत्र सञ्चार माध्यामहरूमा बाह्य लगानीलाई पूर्ण रुपले निषेध गरिएको छ । अब कुन ढंगले प्रधानमन्त्रीले त्यो टिभी च्यानल उद्घाटन गर्नुभयो । त्यो हामीले बुझेका छैनौं । दोस्रो नेपालमा लगानीका निम्ति निश्चित माध्याम छन् । त्यसका लागि उद्योग विभाग अन्तर्गत वान स्टप सर्भिस छन् । त्यसका निम्ति इन्भेष्टमेन्ट बोर्ड छ । बाहृय लगानीलाई के–के सुविधा दिने/नदिने भन्ने कुरा चाहिँ हाम्रा निश्चित नियमहरू छन्,' नेता ज्ञवालीले भने ।

नेपालमा विदेशी लगानी आउनु राम्रो कुरा भए पनि त्यो कानुनसम्मत हुन जरुरी रहेको उनको भनाइ थियो । उनले भनेका छन्, 'नेपालमा विदेशी लगानी आउने कुरा राम्रो हो । तर लगानी कानुनसम्मत हुनुपर्छ । विधिसम्मत हुनुपर्छ, पारदर्शी हुनुपर्छ ।' तर कानुन विपरीत नेपालको राष्ट्रिय हितभन्दा फरक ढंगले लगानी आउने कुरा निषेध गरिएको नेता ज्ञवालीले बताए ।

प्रकाशित : मंसिर ५, २०७८ १९:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×