१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पूर्वराजालाई प्रधानमन्त्री देउवाको चुनौती : चुनाव लड्न आए हुन्छ

'चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ ?'
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह वर्तमान व्यवस्थाको विरुद्धमा लागेको भन्दै त्यसो नगर्ने चेतावनी दिएका छन् । उनले शासन गर्न मन भएर चुनाव लडेर आउन पनि उनले चुनौती दिएका छन् ।

पूर्वराजालाई प्रधानमन्त्री देउवाको चुनौती : चुनाव लड्न आए हुन्छ

गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार शान्ति वाटिकामा आयोजना गरेको कार्यक्रममा देउवाले पूर्वराजा शाहतर्फ इंगित गर्दै भने, 'गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो । हामीले ल्याएकै होइन । मैले सरकार सबै चढाउँछु, प्रजातन्त्रविरुद्ध जान सक्दिनँ सरकार भने । तर मलाई जेलमा थुनियो । त्यसकारण एकाएक जनता तातिए । प्रजातन्त्र आइसकेको देशमा प्रजातन्त्रको पक्षमा गइसकेको छ, त्यही पनि शासन चलाउँछ, यसको खिलाफमा मान्छे लाग्न सक्छन् । त्यसकारण अगाडि बढे भइहाल्यो नि । मैले भनिसकेँ प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । अरु हुनै सक्दैन, उनीहरुले चुनाव आएर लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ ?'

सबैभन्दा राम्रो संविधान भएको र यसले सबै पक्षलाई समेटेको देउवाको भनाइ थियो । 'अहिले सबैभन्दा राम्रो संविधान छ । समावेशी, समानुपातिक छ । सबैलाई अटाएको छ । केही समस्याहरू आउन सक्छन् हामीले प्रजातान्त्रिक ढंगबाटै समाधान गर्नुपर्छ,’ उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेकै जनता भएको स्मरण गराएका थिए ।

निर्वाचन आयोगले वडादेखि नै गराउने चुनाव निष्पक्ष र धाँधलीरहीत हुनुपर्ने देउवाको भनाइ थियो । उनले प्रजातन्त्रलाई जनताप्रति लक्षित कसरी बनाउने भनेर छलफल गर्न आवश्यक रहेको पनि बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘जनताभन्दा ठूलो अर्को शक्ति नै छैन । जनता नै हो यो देशको मालिक, जनताले सहयोग गरेनन् भने जान्छ । त्यसैले यहाँ जनतन्त्र भन्छ, प्रजातन्त्र भन्छ, प्रजा भनेको जनता नै हो । यसमा अर्को पाटो हो निष्पक्ष चुनाव, कसैले पनि धाँदली गर्न नसकोस् । बदमासी गर्न नसकोस् । त्यसैले निर्वाचन आयोग छ, त्यो अत्यन्तै स्वतन्त्र हुनुपर्छ । कुनै पार्टीसँग मिल्ने होइन, स्वतन्त्र रहने संस्था हो, निर्वाचन आयोगले कसैको कुरा मान्दैन ।' निर्वाचन आयोग आफ्नो नीतिअनुसार हिँड्नुपर्ने देउवाको भनाइ थियो ।

प्रकाशित : कार्तिक २४, २०७८ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?