परमादेश जारी गर्ने सबै न्यायाधीशलाई हटाउनुपर्छ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन : प्रधानमन्त्री- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परमादेश जारी गर्ने सबै न्यायाधीशलाई हटाउनुपर्छ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन : प्रधानमन्त्री

‘हमाल हाम्रो पार्टीको मान्छे हो । बिचरा बस्न नसक्ने भएपछि राजीनामा दिए ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतको बारेमा धेरै बोल्न नमिल्ने टिप्पणी गरेका छन् । प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोशसमेत व्यक्त गरेका छन् ।

नेपाल तरुण दलले बुधबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले न्यायालयको सम्बन्धमा उठेका सवालहरुबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढने पनि स्पष्ट पारे । प्रधानमन्त्री देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको तर्कसमेत गरे ।

‘परमादेश ल्याउने सबैलाई हटाउनुपर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन जस्तो लाग्दछ मलाई । अरुकुरा धेरै केही भन्नु छैन तपाईंहरुलाई । हाम्रो गठबन्धन ५ पार्टीको जो छ, जे उठेका सवालहरु छन्–न्यायालय सम्बन्धमा । सरसल्लाह, छलफल गर्नेछौं । यसमा धेरै कुरा छैन । मैले तपाईंहरुलाई भनेको भन्यै छु । हमाल हाम्रो पार्टीको मान्छे हो । विचरा, बस्न नसक्ने भएपछि राजीनामा दिए । यो कुरा सिद्धिइसकेको थियो, तर कुरा उठाएका उठाएकै छन । अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो,’ उनले भने ।

प्रधानमन्त्री देउवाले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको दाबी गर्दै त्यसको विरोध नगर्न पनि एमाले अध्यक्ष ओलीलाई सचेत गराए । उनले कांग्रेसको १४औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन पनि पार्टीका नेता, कार्यकतालाई आह्वान गरे ।

प्रकाशित : कार्तिक १०, २०७८ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्

कञ्चनपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा गैंडाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । वडा नम्बर ४ मैनाहाका ५३ वर्षीय बलिराम राना गैंडाको आक्रमणबाट घाइते भएका हुन् । 

डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख दिने यादवका अनुसार बुधबार बिहान अमर स्मृति सामुदायिक वन छेउमै रानामाथि गैंडाले आक्रमण गरेको हो । उनको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको उक्त सामुदायिक वनमा डेढ/दुई महिनादेखि गैंडा देखिएको थियो । गत साता जिल्लाकै शुक्लाफाँटा नगरपालिकामा हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको थियो ।

प्रकाशित : कार्तिक १०, २०७८ १३:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×