थन्किएका जहाज सञ्‍चालन गरेर पर्यटक भित्र्याउने योजनामा छु : मन्‍त्री आले

आईकाओको कालो सूचीबाट नेपाललाई हटाउन पहल गर्ने प्रतिबद्धता
कान्तिपुर संवाददाता

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले निजी क्षेत्रको कम्पनीसँग साँठगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा आफू नरहेको बताएका छन् ।

थन्किएका जहाज सञ्‍चालन गरेर पर्यटक भित्र्याउने योजनामा छु : मन्‍त्री आले

मन्त्री आलेले विगतमा नेपाल वायु सेवा निगमको जहाजको ग्राउन्ड ल्यान्डिङ समेत आफ्नो व्यक्तिगत स्वार्थका लागि निजी कम्पनीलाई दिएको उल्लेख गर्दै आफूले त्यसो नगर्ने प्रतिबद्धता समेत जनाए ।

नेपाल पर्यटन बोर्डले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल वायु सेवा निगमको थन्किएर बसेको दुई वटा जहाजलाई तत्काल सञ्चालनमा ल्याएर नेपालमा पर्यटन भित्र्याउने काममा आफू लागि पर्ने कार्ययोजना पनि सार्वजनिक गरे ।

मन्त्री आलेले आईकाओको कालो सूचीबाट नेपाललाई हटाउन पनि आफूले पहल गर्ने बताए । त्यसका लागि आफूले निगमकै कर्मचारी संघ, संगठनहरुको माग अनुसार कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको गरेको उनले स्पष्ट पारे । अब निगमको बैठक बस्ने र त्यसले निगमको थन्किएर बसेको विमान सञ्चालन गर्ने, पर्यटन प्रवर्द्धन हुने गरी उडान भर्ने लगायतका काम गर्ने मन्त्री आलेको भनाइ थियो ।

मन्त्री आलेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू मन्त्री भएर आएको बताए । कोभिडको कारण थला परेको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसके पदमा बसिरहने पक्षमा आफू नरहेको पनि उनले बताए ।

प्रकाशित : कार्तिक ९, २०७८ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?