१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

खोकनाका किसानलाई धान काट्ने चटारो

दिपेन्द्र रोक्का

काठमाडौँ — केही दिनअघि आएको बेमौसमी पानीले सुदूरपश्चिम र प्रदेश १ मा ठूलो जनधनको क्षति भयो । साथै धान, तरकारीलगायतका अन्नबाली पनि नोक्सान भएको छ । तिहार नजिकिँदै गर्दा अन्नबाली नोक्सान हुँदा धेरै कृषक मर्कामा परेका छन् । काठमाडौं उपत्यकामा पनि धान काट्ने चटारो छ यतिबेला ।

खोकनाका किसानलाई धान काट्ने चटारो

ललितपुरको खोकनाका ५५ वर्षीय श्यामकृष्ण महर्जनका अनुसार पछिल्लो समयमा खोकनामा पानीले खासै असर गरेको छैन । 'धान काट्ने बेलामा हाम्रो धान केही मात्रामा ढल्यो । एक दुई दिन सुक्न समय लाग्यो तर खासै असर परेन बरु तराईतिर बिजोग पारेछ,' उनले भने । मुख्यतया: ललितपुरको खोकनामा पोखरेली, मसिनो र ताइचिन धान रोपिन्छ । केहीले आफैंले प्रयोग गरे पनि केहीले भने धान बेच्ने गरेका छन् । अन्य धानभन्दा ताइचिन धेरै फल्ने र बिक्री पनि छिटो हुने बताउँछन् महर्जन । 'एक रोपनी चार आना जमिनमा १२ बोरा धान फल्यो,' उनी भन्छन्, ' पहिले मानाको मुरी फल्थ्यो तर अहिले मानाको दशदेखि एघार पाथी मात्र फल्छ।' ७० वर्षीय सानु महर्जनको जीवन खेतीपातीमै बितिरहेको छ । पहिले चालीसदेखि पचास मुरी धान उब्जिए पनि अहिले घट्दै गएको उनी बताउँछन् । पहिले गोबर मल प्रयोग हुँदा उब्जनी धेरै हुने गरेको र युरियाले उत्पादन घटाउँदै गएको उनको भनाइ छ । खोकनाका अधिकांश किसान सिंचाइका लागि आकाशे पानीकै भर पर्छन् । टीकाभैरवबाट आउने राजकुलोमा अचेल त्यति धेरै पानी आउँदैन । अहिले धान झार्न मेसिन प्रयोग गरिन्छ । मेसिन नहुनेले भाडामा ल्याउँछन् । उपत्यकाको काँठ क्षेत्रमा मुख्यतया: खोलाको बगर छेउमा जेठमा र उर्बर क्षेत्रमा असारमा धान रोपिन्छ।

प्रकाशित : कार्तिक ८, २०७८ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?