कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नन्कुन्‍नी-निर्मला घटना सम्बन्धमा छानबिन समिति गठन, आन्दोलन स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता सम्बन्धमा सरकारले छानबिन समित गठन गरेको छ । आन्दोलनरत महिला अधिकारकर्मीसँग सहमतिपछि सरकारले छानबिन समिति गठन गरेको हो । छानबिन समिति गठन भएसँगै आन्दोलनरत पक्षले आन्दोलन स्थगित गरेको छ भने ११ दिनदेखि अनशनरत महिला अधिकारकर्मी रुबी खानले अनशन तोडेकी छन् ।

नन्कुन्‍नी-निर्मला घटना सम्बन्धमा छानबिन समिति गठन, आन्दोलन स्थगित

दुवै महिलामाथि भएको अन्यायका सम्बन्धमा छानबिनका लागि समिति गठन गर्ने र समितिले दिएको सुझावलाई अक्षरश पालना गर्ने शर्तमा आन्दोलनरत पक्ष आन्दोलन र अनशन स्थगित गर्न तयार भएको हो ।

अधिकारकर्मी रुबी खानले माइती नेपालकी संरक्षक अनुराधा कोइराला, मानव अधिकारकर्मी मोहना अन्सारी, गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको रोहबरमा अनशन तोडेकी छन् । उनी अनशनरत रहेको त्रिवि शिक्षण अस्पतालमा पुगेर सहमति गरेपछि अनशन तोडाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । ‘अहिले उहाँहरुले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्नुभएको हो । हामीले त्यहीअनुसार घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेका छौँ । अब समितिले स्थलगत अवलोकन गरेर घटनाको छानबिन गर्छ । समितिले जे तथ्य दिन्छ, त्यसआधारमा सरकारले दोषीमाथि कारबाही गर्छ,’ पोखरेलले इकान्तिपुरसँग भने । उनले छानबिन समितिलाई ७ दिनको म्याद दिएर प्रतिवेदन बुझाउन निर्देशन दिएको बताए ।

मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा मंगलबार छानबिन समिति गठन भएको हो । समितिका सदस्यहरुमा नेपाल प्रहरीका उपरीक्षक रामप्रकाश साह, राष्ट्रिय अनुसन्धानका निर्देशक धिरेन्द्रसिंह कार्की, कानूनका उपसचिव रामप्रसाद लम्साल, आन्दोलनरत पक्षका तर्फबाट मोहम्मद शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत प्रतिनिधि छन् । गृह प्रवक्ता पोखरेलले समितिलाई मन्त्रीस्तरीय निर्णयले दुवै घटनाको अध्ययन, अनुसन्धान गरी राय-सुझाव पेश गर्ने कार्यादेश दिइएको बताए । सहमतिपछि अधिकारकर्मी खानले माइतीघर पुगेर आन्दोलन स्थगित गर्ने घोषणा गरिन् ।

धोबी र कुर्मी प्रकरणमा गहिरो अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै नेपालगञ्जदेखि २० दिन पैदल हिँडेर काठमाडौं आएका अधिकारकर्मी र आफन्तले माइतीघरमा १२ दिनदेखि धर्ना दिइरहेका थिए भने आन्दोलनको नेतृत्व गरिरहेकी खान ११ दिनदेखि आमरण अनशनमा थिइन् ।घरेलु हिंसाबाट पीडित भई मृत्युवरण गरेकी नन्कुन्नी धोबीको मृत्युमा दोषी रहेका ४ जनालाई पक्राउ गरी अनुसन्धान र कारबाही गर्नुपर्ने उनीहरुको माग छ । त्यस्तै, निर्मला कुर्मीको अपहरण, शरीर बन्धक बनाई बेपत्ता पारिएको घटनाका दोषीहरुलाईसमेत पक्राउ गरी कारबाही गर्नुपर्ने आफूहरुको माग रहेको महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य सकिना तेलीले बताइन् । नन्कुन्नी र निर्मलाको न्यायका लागि नेपालगञ्जमा १९ दिनसम्म जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिएका उनीहरु २१ असोजमा २० दिन पैदल हिँडेर काठमाडौं आइपुगेका थिए ।

प्रकाशित : कार्तिक २, २०७८ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?