हिरासतभित्रै थुनुवाको मृत्यु प्रकरण : प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जन बढी घाइते- भिडियो - कान्तिपुर समाचार

हिरासतभित्रै थुनुवाको मृत्यु प्रकरण : प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जन बढी घाइते

कान्तिपुर संवाददाता

सुनसरी — प्रहरी हिरासतभित्रै थुनुवाको मृत्यु भएपछि आन्दोलित भएका आफन्त र प्रहरीबीच झडप हुँदा दर्जन बढी घाइते भएका छन् । पीडित परिवारले ढुंगा प्रहार गर्न थालेपछि दोहोरो झडप भएको हो ।

स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनबढी अश्रुग्यास प्रहार गरेको छ । झडपमा परी दर्जन बढी प्रहरी र प्रदर्शनकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास प्रहार गरेको जनाएको छ । प्रहरीले मृतक मियाँको शव उठाएर पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएको छ ।

आइतबार बिहानैदेखि इनरुवा तनावग्रस्त बनेको छ । १२ दिनदेखि थुनामा रहेका २२ वर्षीय मोहम्मत हाकिम मियाँको आइतबार बिहान ३ बजेर १७ मिनेटमा जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा झुण्डिएर मृत्यु भएपछि मृतकका आफन्तले कार्यालय अगाडि नारा जुलुस लगाउँदै आन्दोलित भएका हुन् ।उनी हिरासतबाट छुट्ने दिनमै मृत्यु भएपछि आफन्तले षड्यन्त्र भएको आरोप लगाएका छन् । इनरुवाका स्थानीय बासिन्दा इजरायल मन्सुरीकाअनुसार एकजना खत्वे समुदायकी १९ वर्षीया युवतीसँग प्रेम भएपछि दुवैजना भागेका थिए । तर, प्रहरीले धनकुटाबाट पक्राउ गरेर ल्याएको थियो । विवाहका लागि केटीको उमेर नपुगेकाले प्रहरीले अभिभावकलाई जिम्मा लगाएका थिए । मियाँलाई भने प्रहरी र केटीपक्षले अभद्र व्यवहार अन्तर्गत मुद्दा दायर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले भने, ‘मियाँको मृत्यु कसरी भयो भन्ने सबै कुरा हिरासतभित्र राखिएको सिसिटिभि फुटेजमा देखिएको छ । उनी बिहान उठेर शौचालय गएको देखिन्छ । त्यसपछि फर्केर आएर गाम्छाले बेरिएर हिरासतभित्रै आत्महत्या गरेको देखिएको छ । त्यसबेला हिरासतभित्र अरु थुनुवा भने बिहानै भएकाले अरु सुतिरहेका थिए ।’

यसैबीच, मृतक मियाँका आफन्तहरूले इनरूवा-९ बबियास्थित केटी पक्षको गोदाममा आगजानी गरेका छन् । सुनसरीका एसपी सञ्‍जयसिंह थापाका अनुसार गोदममा लगाइएको आगो नियन्त्रणमा आइसकेको छ । 'आन्दोलनकारीहरूले केटी पक्षको घरमा पनि आगजनी र तोडफोड गर्न खोजेका थिए तर प्रहरी तैनाथ गरिएकाले क्षति हुनबाट जोगियो,' एसपी थापाले भने ।

प्रकाशित : आश्विन २४, २०७८ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्

प्रजातन्त्रको खिलाफमा कसैले सपना नदेखे हुन्छ : प्रधानमन्त्री देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहेर प्रजातन्त्र मास्न नसक्ने बताएका छन् । पोखरामा आइतबार आयोजित समारोहमा गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्दै प्रधानमन्त्री देउवाले अब कसैलाई पनि प्रजातन्त्रको खिलाफमा कुनै किसिमको सपना नदेख्न सचेत गराए ।

‘विभिन्न कुराहरु सुन्छु । मान्छेहरुले धेरै सपना नदेखे हुन्छ । जनताले भोटबाट देखाइहाल्छन् । यो प्रजातन्त्र हो । प्रजातन्त्रको विकल्प अर्को छैन । त्यसैले प्रजातन्त्रको खिलापमा कसैले कुनै सपना नदेखे हुन्छ,’ देउवाले भने, ‘अहिले संसद्‌मा भएका सबै दलहरु प्रजातन्त्रका लागि लडेर आएका हुन् । त्यसैले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो ।’

प्रधानमन्त्री देउवाले नेपालमा संघीयता पूर्णरुपमा कार्यान्वयन हुन बाँकी रहेको भन्दै सरकारले त्यसलाई क्रमशः अघि बढाउने बताए । ‘हामी कहाँ संघीयताको पूर्ण कार्यान्वयन भइसकेको छैन । अब छिटो छरितो विकासका कामहरु अघि बढाउनुपर्ने छ । मलाई विश्वास छ, हामी धेरै कामहरु गर्दै जान्छौँ,’ उनले भने ।

उनले संविधानले नै शिक्षालाई मौलिक हकका रुपमा व्यवस्था गरेको भन्दै नागरिकलाई त्यो हकको सुनिश्चितता गराउने गण्डकी प्रदेशलाई धन्यवाद दिए ।

प्रकाशित : आश्विन २४, २०७८ १५:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×