कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सगरमाथामा रेकर्ड ब्रेकर फेशन शो

सुरज कुँवर

काठमाडौँ — कोरोना माहामारीबाट सिंगो मानव जीवन प्रभावित बनेका बेला असोज पहिलो साता सगरमाथा क्षेत्रको गोक्योमा पुगेका १० देशका मोडलले विश्वको ध्यान खिचे ।त्यति मात्रै होइन, उनीहरुलाई गिनिज वर्ल्ड रेकर्डले पनि नयाँ कीर्तिमानी कायम गरेकोमा प्रमाणपत्र दियो । समुद्री सतहबाट ५५०० मिटर उचाइमा हिउँमाथि बनाइएको र्‍याम्पमा नेपाली पोशाक लगाएर उनीहरुले विश्‍व फेशन बजारका पारखीहरुलाई गौतम बुद्धको अहिंसामा आधारित पोशाक प्रदर्शनी गरेका थिए ।

सगरमाथामा रेकर्ड ब्रेकर फेशन शो

‘गोक्योमा गरिएको फेशन शोमा रेशम किरा नमारी तयार पारिएको सिल्कबाट बनाइएका कपडा मोडलले लगाए,’ आयोजकमध्येका पंकज के गुप्ताले कान्तिपुरसँग भने, ‘यस्को अर्थ हिंसा विना फ्रेब्रिक उत्पादन गरेर प्रयोग गर्न सकिन्छ भन्ने थियो, जसलाई हामीले यसपटक बुद्धिष्ट फेशन लाइन भनी नाम दियौँ ।’ उनले विश्वभरका फेशनबारे जानकारी राख्ने तथा मोडललाई यसपटक नेपालबाट फेशनको दिगोपनबारे पनि सन्देश दिएको बताए ।

यस कार्यक्रमलाई गिनिज वर्ल्ड रेकर्डले विश्‍वकै अग्लो स्थानमा आयोजना गरिएको फेशन शो भनी प्रमाणपत्र दिएको छ । यसबाहेक यो कार्यत्रममा काठमाडौंबाट गोक्यो पुगेका नेपाल पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मीसहित ४५ जनालाई पनि गिनिजिले अग्लो स्थानमा भएको फेशन शोका दर्शक (सुपर अडियन्स) लाई पनि प्रमाणपत्र दिइएको छ ।फेशन शोमा भाग लिन इटाली, फिनल्याण्ड, पोल्याण्ड, रसिया, बेलायत, जर्मनी, लक्जेम्बर्ग लगायत मुलुकबाट आएका मोडलहरु काठमाडौंदेखि हवाईमार्गबाट लुक्ला हुँदै ११ दिनको पैदलयात्रामा गोक्यो पुगेका थिए । आयोजकका अनुसार कोरोना महामारीपछि त्यहाँ समूहमा पुगेको यो पहिलो टोलीलाई पहिलो सगरमाथा आरोहण दलका सदस्य कान्छा शेर्पाले स्वागत गरेका थिए ।

खुम्बु क्षेत्रमा दोस्रोपटक आयोजना गरिएको यस कार्यक्रम नेपाली युवा व्यवसायी रिकेन महर्जन, फेशन डिजाइनर रमिला नेमकुल र भारतीय नागरिक फेशन विश्लेषक पंकज के गुप्ताले आयोजना गरेका थिए । यस्मा प्रयोग गरिएका पोशाक नेपाली कम्पनी कासाले तयार पारेको थियो । यो कार्यक्रमको लागत ४ करोड रुपैयाँ रहेको आयोजक रिकेन महर्जनले बताए ।

प्रकाशित : आश्विन २१, २०७८ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?