सबै कम्युनिस्ट मिलेर आए पनि जित्ने तागत कांग्रेसले बनाउनु छ : थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता गगन थापाले आसन्न महाधिवेशनबाट आगामी आमनिर्वाचनमा सबै कम्युनिस्ट पार्टीहरु एक भए पनि जित्ने तागत कांग्रेसले आर्जन गर्नुपर्ने बताएका छन् ।‘ढिलो चाँडो हुनसक्छ । तर अब पार्टीको महाधिवेशन हुन्छ । यो महाधिवेशनबाट बाहिर निस्किनेबित्तिकै हाम्रो अगाडि लगातार तीन तहको चुनाव आउँछ,’ शनिबार कांग्रेसको काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता थापाले भने, ‘कांग्रेस अर्काले पस्केको खाने जात होइन । हामी आफैँले एकल शक्तिको आधारमा काठमाडौं महागनरमा कांग्रेसको झण्डा गाड्ने हो । र यो पटक कोहीसँग मिलेर होइन, एकल शक्तिका आधारमा पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसले लिने हो ।’

सबै कम्युनिस्ट मिलेर आए पनि जित्ने तागत कांग्रेसले बनाउनु छ : थापा

उनले महाधिवेशनबाट कांग्रेसले सबै कम्युनिस्ट एक भएर आए पनि, सबै मधेसी दलहरु एक भएर आए भने पनि जित्ने तागत राख्ने नेतृत्व र संगठन निर्माण गर्नुपर्ने बताए ।‘सबै कम्युनिस्ट एक भएर आए पनि, सबै मधेसी दलहरु एक भएर आए भनेपनि जित्ने तागत राख्ने नेतृत्व र संगठन निर्माण गर्नुपर्नेछ अबको ५/६ महिनाभित्रमा । त्यसैले तपाईहरुले विवेकपूर्ण निर्णय गर्नुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘हामीले वडामा गरौँ या महानगरमा गरौँ । ती प्रत्येक निर्णयले अर्थ बोकेको हुन्छ । हामी पार्टीभित्र परिवर्तन चाहन्छौँ कि चाहदैनौँ ? आज कांग्रेस जसरी चलेको छ, यो ठीक छ ? हामी यो यथास्थितिमा टिकाउन चाहन्छौँ ? या परिवर्तन चाहन्छौँ ? यो हलबाट निर्णय भएर आउनुपर्छ ।’

नेता थापाले यो महाविधेशनले कांग्रेसमा शुद्धीकरण र संगठन सुदृढीकरण गर्नुपर्ने खाँचो रहेको बताए । ‘म एउटा कांग्रेसको कार्यकर्ता भएको हिसाबले ठान्दछु, आज जसरी कांग्रेस चलेको छ, यसै गरी चलेको कांग्रेसले जनतालाई भरोसा दिलाउन सक्दैन । कांग्रेसभित्र ठूलो सुधारको खाँचो छ । कांग्रेसलाई शुद्धीकरणको खाँचो छ, सुदृढीकरणको खाँचो छ,’ थापाले भने, ‘त्यो शुद्धीकरण र सुदृढीकरण यो महाधिवेशनबाट गर्नुपर्ने छ ।’

प्रकाशित : आश्विन १६, २०७८ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?