१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

५८ वर्षपछि भेटिएको एउटा कविता पाण्डुलिपी

काठमाडौँ — २०२१ सालमा २१ वर्षकै अल्लारे वयमा थिए— ध्रुवचन्द्र गौतम । त्रिचन्द्र क्याम्पसमा एमए तहका विद्यार्थी उनी एउटा चिनियाँ साइकलका भरमा सहरमा यताउता गरिरहन्थे ।कवि–लेखक बन्ने हुटहुटी लिएर कहिले कहिले ‘रुपरेखा’ साहित्यिक पत्रिका त कहिले भूपी–उत्तम कुँवरका मेहफिलहरूमा पुगिरहन्थे । त्यसअघि ध्रुवचन्द्रको ‘रुपरेखा’ पत्रिकामा ‘तटस्थता असफलता’ शीर्षकमा एउटा मात्रै कविता छापिएको थियो, उनको आख्यानकार वा कथाकारको परिचय कहींकतै थिएन ।

५८ वर्षपछि भेटिएको एउटा कविता पाण्डुलिपी

‘मैले त्यसैबेला थाहा पाएको थिएँ, जगदम्बा प्रकाशनले लेखकहरुको किताब छाप्ने गरेको छ । त्यसमा पनि कवि कुमार नेपालको ‘चर्केको पर्खाल’ नामको कविता संग्रह जगदम्बाबाटै छापिएको छ, त्यही थाहा पाएर म जगदम्बाका प्रमुख साहित्यकार कमल दीक्षितलाई भेट्न श्रीदरबार टोल गएको थिएँ,’ लेखक ध्रुवचन्द्र गौतम आजभन्दा ५८ वर्षअघिको क्षण सम्झिरहेका थिए—‘मैंले पनि त्यही उदाहरण सम्झिएर कतै मेरो कविता संग्रह पनि छापिएला कि भनेर ‘ह्याङ्गरमा झुण्डिएको आकाश’ संग्रह दीक्षितज्यूलाई बुझाउन गएको थिएँ । तर, त्यो कहिल्यै छापिएन र, किन छापिएन भनेर सोध्ने आँट पनि कहिल्यै राखिँन ।’ ‘ह्याङ्गरमा झुण्डिएको आकाश’ हस्तलिखित पाण्डुलिपीमा तत्कालीन प्रभावको शून्यबाददेखि अस्तित्ववाद दर्शन झल्कने झण्डै ४ दर्जन कविता छन् ।कवि बन्ने ध्रुवचन्द्रको हुटहुटी यसरी थान्को लागेपछि उनी आख्यानतिर तानिएका रहेछन् । पहिलोपटक २०२४ साल वैशाखमा ‘रुपरेखा’ पत्रिकामा गौतमको ‘अन्त्यपछि’ उपन्यास छापिएको थियो, त्यसपछि २०२८ सालमा पहिलोपटक पुस्तकाकार रुपमा ‘बालुवामाथि’ उपन्यास छापियो । अहिलेसम्म २ दर्जनभन्दा बढी उपन्यास लेख्ने आख्यानकार गौतमको ‘अलिखित’ उपन्यासले २०४० सालमा मदन पुरस्कार पाएको थियो । गौतमका अधिकांस उपन्यास विश्वविद्यालय पाठ्यक्रममा छन् । ३ दशकअघि उनको ‘कट्टेल सरको चोटपटक’ उपन्यासमाथि बनेको ‘बासुदेव’ फिल्म अद्यपी चर्चामा रहन्छ ।

‘हाम्रा लागि पनि यो सुखद कुरा हो,’ मदन पुरस्कार पुस्तकालयका अध्यक्ष एवं पत्रकार कनकमणि दीक्षितले मंगलबार आयोजित एक संक्षिप्त समारोहमाझ भने—‘आजभन्दा ५८ वर्षअघि लेखक गौतमले मेरा बुबा कमल दीक्षितलाई बुझाउनुभएको पाण्डुलिपी अझै पनि सुरक्षित भेटिएको र यो सहस्र कवि स्वयंमलाई बुझाउन पाउनुमा सुखद संयोग छ । यस संग्रहमा ‘लडिबुडिन्छ’ जस्ता मौलिक शब्दहरुको उपयोग भएको मैले पाएको छु, यसभित्र त्यो समयमा पनि कवि चेतनाको उच्चतम् प्रयोग र परख गरेको पाइन्छ ।’यतिका वर्षपछि भेटिएको दुर्लभ पाण्डुलिपी प्रकाशन गर्ने जमर्को सांग्रिला बुक्सले गरेको छ । ‘यसमा ऐतिहासिकता छ, हामीले चिनेको आख्यानकार ध्रुबचन्द्रको अल्लारे वयको कवि चेत र उर्जा यो संग्रहमा समेटिएको छ,’ प्रकाशक आन्विका गिरीले भनिन्—‘यो कृति कवि ध्रुवचन्द्रको आगामी पुस २ गते पर्ने जन्मदिनकै दिन बजारमा आउनेछ ।’ मदन पुरस्कार पुस्तकालयका तर्फबाट कविता पाण्डुलिपी कवि ध्रुवचन्द्रलाई हस्तान्तरण गरेलगत्तै कविले प्रकाशकलाई उक्त पाण्डुलिपी बुझाएका थिए ।‘मैले यही संस्थाबाट २०४० सालमा मदन पुरस्कार पाएको थिएँ, आज यतिका वर्षपछि मेरो सिर्जनाको पुर्नजन्म गराउने गरी फेरि हराएको पाण्डुलिपी पाएको छु, दुईपटक पुरस्कृत भएजस्तो महसुस भइरहेको छ,’ कवि ध्रुवचन्द्रले भने । प्रकाशनका लागि बुझाइएको ‘ह्याङ्गरमा झुण्डिएको आकाश’ हस्तलिखित पाण्डुलिपीको दर्ता नम्बर ‘ह १९७’ पाइएको छ ।

प्रकाशित : आश्विन ६, २०७८ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?