कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

साथीजस्ता पाइलट बाबुछोरी

काठमाडौँ — बुबा आन्तरिक उडानमा । छोरी अन्तर्राष्ट्रिय उडानमा । पेसा एकै हो– पाइलट । तर, बाबुछोरीको भेट हुन ‘साइत’ नै जुर्नुपर्ने । ६४ वर्षीय विनोद पुरी समिट एयरमा कार्यरत छन् भने छोरी नेहा हिमालय एयरलाइन्समा । दुवैको उडान तालिका फरक पर्ने भएकाले विमानस्थल तिरै भेट्न पनि मुस्किल पर्छ । फेरि दुईटा टर्मिनल बीच आवतजावत पनि सजिलो छैन ।

साथीजस्ता पाइलट बाबुछोरी

१९८१ देखि विमान उडाउन थालेका विनोदले १० वर्ष नेपाल एयरलाइन्समा काम गरे । अहिले विभिन्न प्राइभेट एयरलाइन्समा काम गरिसकेका उनी इन्स्ट्रक्टर पाइलट (पाइलट तालिम प्रशिक्षक) समेत हुन् । काठमाडौं चण्डोलस्थित घरमा गफिने क्रममा विनोदले भने, ‘छोरीलाई पनि इन्स्ट्रक्टर भएको हेर्न चाहन्छुु ।’पाइलट बनेको हेर्ने इच्छा हुँदाहुँदै पनि विनोदले छोरी पढाइमा अब्बल छ भनेर पढाइमा जोड दिन आग्रह गरे । स्नातकसम्मको पढाइ पूरा होस् भन्ने उनको चाहना थियो । तर, कक्षा ८ देखि नै पाइलट बन्ने सपना बुन्न थालेकी नेहाले भने ५ वर्ष इन्जिनियिरिङ पढिन् ।‘१२ कक्षाबाट नै पढ्न दिएको भए हुन्थ्यो भन्ने लाग्छ । तर, यो निरन्तर चलिरहने पेशा हो । अहिले उसको प्रगति देख्दा खुसी लाग्छ,’ विनोद भन्छन् । नेहाले एक वर्ष टाटा मोटर्स कम्पनीमा काम पनि गरिन् । तर त्यसमा मन गएन । उनले ‘फ्लाइङ करियर’नै रोजिन् । फिलिपिन्सबाट पाइलट कोर्स गरेर आएकी नेहा भन्छिन्, ‘सानैदेखि पाइलट बन्ने इच्छा थियो, त्यसैले अरुतर्फ सोच्न सकिनँ ।’

सन् २००९ बाट करियर सुरु गरेकी उनले अग्नि एयरमा काम गरिन् । हाल हिमालय एयरलाइन्सको एयरबस–३२० उडाइरहेकी नेहालाई प्लेन उडाउँदा स्वतन्त्र महसुस हुन्छ । बाल्यकालमा नेहालाई विनोद ट्रेनिङ फ्लाइटमा घुमाउन लैजान्थे । ‘सायद म ९/१० वर्षको थिएँ । मेरो अंकलपनि पाइलट हो । मुम्बईबाट काठमाडौंमा कककपिटमा बसेर आएको थिएँ । एकदम मजा लागेको थियो । ककपिटको त्यो बत्ती देख्दा पनि ‘वाह’ लाग्थ्यो,’ उनले आफ्नो पाइलट मोह सुनाइन् ।विनोद विगत ४० वर्षदेखि आन्तरिक उडान भरिरहेका छन् । उनको सुरुआती दिनमा अन्तर्राष्ट्रिय फ्लाइट कम थिए । विस्तारै उडान त थपिए तर, उनको रस आन्तरिकमै बसिसकेको थियो । ‘पछि मौका आउँथ्यो पनि होला । तर, अन्तर्राष्ट्रिय उडानमा जान पाइँन,’ उनले भने । उनले ‘मिस’ गरेको अवसर छोरीले पुरा गरिरहेकोमा भने उनी गौरवान्वित छन् । ‘मलाई त्यो मौका जुरेन । अहिले छोरीले अन्तर्राष्ट्रिय फ्लाइट गरिरहेकी छ । उसको प्रगतिमा निकै खुसी लाग्छ,’ विनोदले भने ।नेहाले पाइलटको पहिलो तालिम बुवाबाटै लिने अवसर पाइन् । उनी बुवासँग तालिम लिन पाएकोमा खुसी हुन्थिन् र दु:खी पनि । विस्तारै पुलुक्क बुवातिर हेर्दे भनिन्, ‘बुवाले त गाली गरी गरी सिकाउनुहुन्थ्यो ।’ आफ्नी छोरीलाई पाइलटको पहिलो तालिम आफै दिन पाएकोमा विनोदलाई खुसी लाग्छ । ‘मैले सिकाएको उसलाई मन पर्दैन थियो । अलि ठाडो स्वरमा बोल्ने बानी छ मेरो । छोरी र अरुलाई फरक तरिकाले सिकाउने भन्ने भएन ।’उनी छोरीले काम गर्ने एयरलाइन्समा आफ्ना साथीहरुसँग छोरीको कामप्रति चासो व्यक्त गरिरहेका हुन्छन् । ‘तपाईंको छोरीको प्राविधिक ज्ञान र काम राम्रो छ’ भनेको सुन्दा कुन बुवाआमालाई खुसी लाग्दैन र ?’ विनोद भन्छन्, ‘अबको केही वर्षमा क्यापटेन भएको देख्न चाहन्छु । कोभिडले फ्लाइट आवर कम भएर हो नत्र अहिले प्रमोट भइसक्थ्यो होला ।’

प्रकाशित : भाद्र २२, २०७८ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?