१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

'मह'को ४१ वर्ष : मित्रता भर हो, घर हो, डर हो [भिडियो]

काठमाडौँ — सहकार्य र सहयात्राको ४१ औं वर्ष । यो जोडीले पञ्चायत, बहुदल र गणतन्त्र देख्यो । रंगमञ्चमा जन्मिएका यी दुईले एकअर्काका हात समाएर यात्रा सुरु गरे । उनीहरुको सहकार्य साथ, भरोसा र विश्वासबाट सुरु भयो । उदाहरण बने असल मितत्राको, अनि बलियो साथको । यी दुई परिवर्तनका वाहकमात्र बनेनन् हास्यव्यंग्यको नबिर्सने इतिहास बने । दर्शकको ताली र हाँसोमा जन्मिएको यो जोडी हो 'मह' । 

'मह'को ४१ वर्ष : मित्रता भर हो, घर हो, डर हो [भिडियो]

सहयात्राको ४१ वर्षलाई फर्केर हेर्दा हरिवंश अचम्म मान्छन् । '४१ वर्ष भयो र ! भर्खर १० वर्ष भएजस्तो लाग्छ । ४१ वर्ष सहयात्रा गर्न सकेको हुनाले दर्शकले ठूलो इज्जतको दृष्टिले हेर्छन् । मायाको दृष्टिले हेर्छन् । जातीय सद्भा‌वको दृष्टिले हेर्छन् । ४१ वर्षभित्र हामीले जीवनको ४१ अर्ब स्याबासी पाएका छौं,' महको 'ह' सुनाउँछन् ।

शरीरले साथ दिउन्जेल सहयात्रामा रोकिन चाहँदैनन् उनीहरु । यी दुई मित्रताको 'लोगो' बन्न चाहन्छन् । चार दशक लामो यात्राले उनीहरुलाई आफू राजनीतिभन्दा माथि रहेको आभास गराएको छ । नेपालको राजनीतिमा सहयात्राको संस्कार बसेन । २ तिहाई बहुमत जनताले दिँदाखेरी पनि मिलेर बस्न सकेनन् । तर यी दुईले ४० वर्ष एकसाथ बिताइसके । कति यात्रा त बिर्सिसके, कति मानसपटलमा धमिला याद बनेर बसेका छन् ।

सहयात्राको सुरुवातका वर्ष सम्झँदा मदनकृष्णलाई भने कति काम पूर्वजन्ममा गरेझैं लाग्न थालेको छ । जन्मनु अगाडि नै हरिवंशसँग चिनाजानी भएर कार्यक्रम गर्दै हिँडेको कल्पन्छन् उनी हिजोआज । 'आफूले आफैंलाई हेर्दै गर्दा सानो-सानो देख्छु । धन्य भगवान् ! हामी दुईले सहयात्रा गर्न पायौं । दुवैजना कला क्षेत्रमा समर्पित, यही लगावले यत्तिका वर्ष सँगै हिँडिरहेका छौं,' ७१ वर्षीया मदनकृष्ण सुनाउँछन् ।

कतिपय सहयात्राहरु आम्दानीमा अडिएका हुन्छन् । तर 'मह'को सहयात्रा आम्दानीभन्दा माथि बन्यो । मदनकृष्ण भन्छन्, 'पार्टनरहरु सुरुमा आम्दानी नभएसम्म खुब दु:ख गर्छन् । एकले अर्कालाई माया गर्ने, एक कप चियासँगै खानलाई कुर्ने गर्छन् । तर जब आम्दानी हुन थाल्छ । तब मनमा कुरा खेल्छ, उसले भन्दा मैले बढी पाउनुपर्छ, ऊ भन्दा म राम्रो । अनि झगडा सुरु हुन्छ । त्यस्तो दिनहरु हाम्रो यात्रामा आएन । मैले हरिवंशलाई एक पैसा पनि गद्दारी गरेको छैन । हरिवंशले पनि मलाई कहिल्यै गद्दारी गरेन ।'

एकअर्कासँग इमान्दार भएरै अगाडि बढ्यो 'मह' । पञ्चायत व्यवस्थाको व्यंग्य गर्दै बहुदलको पक्षमा उभियो । बहुदलीय व्यवस्थामा नेताहरु गाली गर्दै चिच्याएर भाषण गर्थे । महको लागि हास्यव्यंग्य भाषणको माध्यम बन्यो । गणतन्त्रमा देखिएका उच्छृंखल तत्व र नकारात्मक क्रियाकलापविरुद्ध महको व्यंग्य रोकिएको छैन । 'विपक्षी दलले संसद्‌मा गर्ने भूमिका हामीले बाहिर बसेर गर्‍यौं । हास्यव्यंग्य भनेको बाहिरको विपक्षी संसद् हो । हामीले त्यो पुस्तादेखि अहिलेसम्म व्यंग्यलाई निरन्तरता दिइरहेका छौं । त्यो हाम्रो उपलब्धि हो,' हरिवंशले भने ।

'मह'भन्दा अगाडिको जोडी 'हाडापाल'को हास्यव्यंग्यको अवशेष भेटिन गाह्रो पर्छ । 'मह'ले भने क्यासेट, रेडियो, टेलिभिजन, युट्युबमा आफ्नो व्यंग्यको रेकर्ड राख्न पाए । यसमा आफूलाई भाग्यमानी ठान्छन् उनीहरु । 'हामीभन्दा पहिलाको पुस्ताले पनि व्यंग्य गर्नुहुन्थ्यो । उहाँहरुले गरेको हास्यव्यंग्य रेकर्ड भएन । बिलाएर गए । तर हामी यति भाग्यमानी भयौं कि हामीले हाम्रो हास्यव्यंग्य रेकर्ड गर्न पायौं,' हरिवंशले भने, '४० वर्ष अगाडि हामीले गरेको हास्यव्यंग्यलाई अहिलेका बालबालिकाले हेर्न पाएका छन् । हामीले गरेको हास्यव्यंग्यले दर्शकलाई आकर्षित गर्नसक्यो । त्यो बेलाको पुस्तादेखि अहिलेका बालबालिकासम्मले हामीलाई चिन्छन् । यो हाम्रो उपलब्धि हो ।'

यात्राका दौरान मदनलाई पार्किनसन्सले छोयो । हरिवंशको साथकै कारण उनी शरीरलाई चुनौती दिँदै कर्ममा डटेर लागिरहेका छन् । यो ४१ वर्ष कसरी बित्यो उनलाई पत्तो छैन । 'एक्लै हिँडेको भएँ सेलाइसक्थें, थाकिसक्थें । एकजना साथीको सहयोग पाएकोले म अझै पनि हिँड्न सक्दै छु,' उनले मुसुक्क हाँस्दै सुनाए ।

कलाकारिताले नै उनी दुईलाई एक बनायो । मन मिल्ने मित्र बनायो । त्यो मित्रतामा कहिल्यै 'अहंकार' दुस्मन बनेन । 'अहंकार' पन्छाएर हिँडेपछि मित्रता र सहयात्रा दीगो बनेको उनी दुईको विश्लेषण छ । 'मैले मदन दाइलाई जानेर बुझेर केही कुरामा बेइमानी गरिनँ । उहाँले पनि मसँग बेइमानी गर्नुभएन । काँचको भाँडा जस्तै हामीले सम्बन्धलाई ख्याल गरेर बोकेर हिँड्यौं । खसालेनौं । खस्यो भने फुट्छ भन्ने कुरा मनमा रहेकाले यो यात्रा निरन्तरता हुनसकेको हो,' हरिवंश सुनाउँछन् ।

पूरा फिचर पढ्न :


प्रकाशित : भाद्र १८, २०७८ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?