२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

‘भाइरल’ लालबहादुर [भिडियो]

कान्तिपुर संवाददाता

काठमाडौँ — असार पहिलो सातायता मुस्ताङको कोबाङ स्वास्थ्यचौकीका स्वास्थ्य सहायक लालबहादुर रोक्का एकाएक ‘भाइरल’ बनेका छन् । सामाजिक संजालहरुमा रोक्काको नामकामले वाहवाही पाएको छ । कतिसम्म भने विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस अधानोम घेब्रेइससले पनि तन्नेरी रोक्काको खुलेरै प्रशंसा गरे । यसको कारण एउटै थियो— लेते र कोबाङबीचको छाप्ताङ खोला उर्लिएर आएको अवस्थामा लालबहादुरले कोभिड भ्याक्सिनका बट्टा खोला पार गराउन सोचेको उपाय ।

‘भाइरल’ लालबहादुर [भिडियो]

‘असार १ गते गाउँघरबाट कोरोना खोपको दोस्रो डोज लगाउन भनेर ५५ वर्ष माथिका गाउँलेलाई स्वास्थ्य चौकीमा बोलाइएको थियो, घन्टौं हिँडेर गाउँलेहरु चौकीमा आउने क्रममा थिए,’काठमाडौंमा भेटिएका लालबहादुरले सुनाए—‘त्यहीबेला ठूलो पानी परेर चारैतिर भेलबाढी आएको थियो । म स्वास्थ्य चौकीमा भेटिएको पुरानो पीपीई लगाएर छाप्ताङ खोलासम्म पुगेको थिएँ । साथमा टुकुचे स्वास्थ्य चौकीका अहेव सविन खत्री पनि थिए । उता लेतेबाट भ्याक्सिन बोकेर गगन बिक खोलापारि आइपुगेका थिए । अनि मैले उपाय लगाएर खोला किनारमा भेटिएको फलामे डन्डीमा अड्याएर भ्याक्सिन ‘केरियर’ (बट्टा) वारपार गराएका थियौं ।’

झट्ट सुन्दा र भीडीयो हेर्दा सामान्य लागे पनि यो काम आफैंमा सुरक्षा–सतर्कतासहितको जोखिम मोलिएको काम थियो । ‘उता स्वास्थ्य चौकीमा सौरी, सिरकोमजस्ता टाढाका गाउँबाट बुबाआमाहरु भेला भइसकेका थिए, भ्याक्सिन भने आइपुगेको थिएन,’२३ वर्षे रोक्काले सुनाए—‘त्यो कष्टले गरेको कामको साथी सविन खत्रीले भीडीयो खिचेका रहेछन्, पछि स्थानीय एक सहयोगीले टिकटकमा राखेपछि त्यो भीडीयो भाइरल बनेको रहेछ । त्यही भीडीयोलाई गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पनि राखेपछि त्यसले अझै चर्चा पायो ।’

पश्चिम रुकुमको सानीभेरी गाउँपालिका–११ मूलघर भएका रोक्का सुर्खेतबाट स्वास्थ्य सहायक (एच.ए.) पढाइ पूरा गरेपछि जागिर खोज्न काठमाडौं आएका रहेछन् । लोकसेवा आयोग दिन वा कतै मजदुरी गर्नैका लागि यता आएका उनी कुनै उपाय नलागेपछि एकदिन फेसबुकमा देखिएको विज्ञापन हेरेर मुस्ताङको कोबाङस्थित स्वास्थ्य चौकीमा पुगेका रहेछन् । त्यही विज्ञापनका भरमा स्वास्थ्य सहायकमा भीडेर करार सेवामा २०७६ फागुनदेखि उनी कोबाङबासी बनेका रहेछन् । रोक्काका अनुसार, उनका बाबु जगबीर रोक्का र अरु दुई भाइसमेत ज्यालादारी काममा भारत जाने गरेका छन् । गाउँमा आमा र सानो भाइमात्रै बस्छन् ।

आफूले गरेको कामका लागि शनिबारमात्रै लालबहादुरलाई बारबरा फाउण्डेसनले कोभिड–१९ को नियन्त्रण अभियानमा अग्रपंक्तिमा रहेर काम गरेकोमा १ लाख रुपैयाँ राशिसहित पुरस्कृत गरेको थियो । ‘मैंले सोचेर, योजना बनाएर गरेको काम होइन,’रोक्का भन्छन्—‘तर, बल्लतल्ल आएको भ्याक्सिन स्वास्थ्य चौकीमा नपुर्‍याउने हो भने गाउँले पाको उमेरका जोकोही पनि स्वास्थ्य संकटमा पर्न सक्छन् भनेर त्यो उपाय अपनाएको थिएा । आज यसरी सम्माानित र पुरस्कृत हुन पाउँदा निकै खुसी लागेको छ ।’

प्रकाशित : श्रावण १७, २०७८ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?