इन्द्रचोकको मल्लकालीन पोते बजार- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्द्रचोकको मल्लकालीन पोते बजार

दिपेन्द्र रोक्का

काठमाडौँ — काठमाडौंको इन्द्रचोकको दक्षिण पूर्वी किनारमा रहेको यो कश्मीरी पोते बजार करिब साढे चार सय वर्ष पुरानो मानिन्छ। मल्लकालमा मुसलमानहरुलाई चुरा र पोतेको व्यापार गर्न भनी काठमाडौं झिकाइएको थियो । साउन महिनामा हिन्दु महिलाहरूले हरिया चुरापोते लगाउने चलन छ । पछिल्लो समय अन्य धर्म मान्नेहरूले पनि साउनमा चुरापोते र मेहेन्दी लगाउने गरेको पाइन्छ । हिन्दु धर्ममा सौभाग्यका रुपमा चिनिने पोते इरानी गहना हो । यसमा प्रयोग हुने मोती मल्लकालमा मुसलमानहरूले इरानबाट भित्र्याएको मानिन्छ । काठमाडौंको इन्द्रचोकको पोते बजारमा काम गर्ने नेपाली मुसलमानहरू अधिकांश कश्मीरी मूलका छन् । यहाँ ४५ वटा पसल रहेका छन्। पोतेको व्यापार वर्षैभरि हुँदैन, तिज, साउन तथा विवाहको लगन भएका महिनामा असन/इन्द्रचोकमा भीड लाग्ने गरेको छ । कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि जारी गरिएको लकडाउन खुकुलो भए पनि पोते बजार ग्राहकको पर्खाइमै रहेको छ ।

महामारीअघिको जस्तो व्यापार नभएको व्यापारीको गुनासो छ । 'पहिले सिजनमा दैनिक १० देखि १५ हजारको व्यापार हुन्थ्यो तर अहिले १-२ हजार हुन पनि मुस्किल परेको छ, कालिगडलाई पोते बनाउन भ्याइनभ्याई हुन्थ्यो, अहिले ग्राहक कुर्दाकुर्दा पट्यार लागिसक्यो,' रजत उद्दीन सुनाउँछन् । महामारीका कारण व्यापारी ग्राहकदेखि र ग्राहक व्यापारीदेखि डराउने स्थिति छ ।

पोतेमा प्रयोग हुने मोती चेक रिपब्लिक, जापान, चीन र ताइवानबाट ल्याइन्छ । विदेशबाटै प्लास्टिकको प्याकेटमा पोतेका दानाहरु आउँछन् । त्यसलाई विभिन्न रङ लगाएर धागोमा उनिन्छ । पोते व्यापारले नेपालको केन्द्रीय कारागारमा रहेका धेरैलाई रोजगारी पनि दिएको छ। पोतेका दाना धागोमा उन्ने काम धेरैजसो केन्द्रीय कारागारमा बन्दी जीवन बिताएका कैदीहरुले गर्दछन् । नेपालमा नौगेडी, कान्छी र माइली तिलहरी, छड्के तिलहरी, जन्तर र हसुलीको माग धेरै हुन्छ। बजारमा रेडिमेड पोतेहरु एक हजारदेखि १० हजार रुपैयाँसम्मका पाइन्छन् ।

खालिद उद्दीनको चार पुस्ताले पोतेबजारमा कालिगडको काम गरिरहेका छन्। पहिले-पहिले नेपालका विभिन्न ठाउँमा चुरा र पोते डोकोमा बोकेर हिँडेको सम्झन्छन् उनी । समयसँगै धेरै कुरा बदलिएको छ । पहिले-पहिले पोते उन्नलाई एकदेखि दुई घन्टा लाग्ने भए पनि अहिले सबै रेडिमेड आउने भएकाले काम अलि सजिलो बनेको उनको अनुभव छ । तर पनि बिस्तारै व्यापारको मात्रा र फाइदा भने घटिरहेको उनी बताउँछन् । अर्का व्यापारी रजत उद्दीन आफ्नो पुर्खाले सिकाएको यो पेसालाई जस्तोसुकै महामारी र घाटा भए पनि निरन्तरता दिने बताउँछन् । पोते व्यापारले क्रिस्चियन, इस्लाम र हिन्दु धर्म मान्नेहरूलाई एकअर्कासँग जोडेको र सांस्कृतिक सद्भाव कायम गरेको बताइन्छ ।


प्रकाशित : श्रावण ६, २०७८ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्

लगाइयो जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप

दिपेन्द्र रोक्का

काठमाडौँ — अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप सोमबार लगाउन सुरु गरिएको छ । जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप एक मात्रा लगाए पुग्ने उक्त खोप ५० देखि ५४ वर्ष उमेरसमूहलाई लगाउने सरकारले घोषणा गरेको थियो । त्यस्तै क र ख वर्गको अपांगता भएका, नेपालमा रहेका शरणार्थी र सरसफाइकर्मीलाई पनि यो खोप लगाइँदै छ ।

यो खोपलाई मान्यता दिएका देशहरुमा जानेहरुलाई पनि उपत्यकामा यो खोप दिइएको छ । यो खोप जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको हो ।

अमेरिकी सरकारले कोभ्याक्स परियोजनामार्फत उपलब्ध गराएको १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप गत साता काठमाडौं आइपुगेको थियो । जोन्सनको ‘जेन्सेन एडी२६.सिओभी.२’ एक मात्रा लगाए पुग्ने खोप हो । यो खोपलाई पहिलो पटक गत फेब्रुअरीमा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले आपत्कालीन उपयोगका लागि अनुमति प्रदान गरेको थियो ।


यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।


जोन्सन खोप ०.५ एमएलको पाँच मात्रा भएको भाइलमा आउँछ । डब्लूएचओको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घण्टासम्म मात्र राख्नुपर्छ । ६ घण्टापछि उपयोग गर्न मिल्दैन ।


विश्व स्वास्थ्य संगठनको यो खोपबारे जारी अन्तरिम गाइडलाइनअनुसार यो खोपको ०.५ एमएल इन्ट्रामस्कुलरको रूपमा डल्टोइड मांसपेशीमा दिइन्छ । हालसम्म यो खोपको एउटै मात्रा प्रस्ताव गरिएको छ । अतिरिक्त मात्राको आवश्यकता र समयबारे क्लिनिकल ट्रायलअन्तर्गत अध्ययन जारी छ ।


जोन्सनको विज्ञप्तिअनुसार यो खोपलाई माइनस २० डिग्री सेल्सियसको तापक्रममा दुई वर्षसम्म सुरक्षित राख्न सकिन्छ भने २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा बढीमा ३ महिनासम्म राख्न सकिन्छ ।


नेपालमा यसअघि पनि विभिन्न उमेरसमूह र क्षेत्रका आधारमा कोभिसिल्ड र चिनियाँ भेरोसेल खोप लगाइसकिएको छ ।

प्रकाशित : श्रावण ४, २०७८ १७:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×