लगाइयो जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लगाइयो जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप सोमबार लगाउन सुरु गरिएको छ । जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप एक मात्रा लगाए पुग्ने उक्त खोप ५० देखि ५४ वर्ष उमेरसमूहलाई लगाउने सरकारले घोषणा गरेको थियो । त्यस्तै क र ख वर्गको अपांगता भएका, नेपालमा रहेका शरणार्थी र सरसफाइकर्मीलाई पनि यो खोप लगाइँदै छ ।

यो खोपलाई मान्यता दिएका देशहरुमा जानेहरुलाई पनि उपत्यकामा यो खोप दिइएको छ । यो खोप जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको हो ।अमेरिकी सरकारले कोभ्याक्स परियोजनामार्फत उपलब्ध गराएको १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप गत साता काठमाडौं आइपुगेको थियो । जोन्सनको ‘जेन्सेन एडी२६.सिओभी.२’ एक मात्रा लगाए पुग्ने खोप हो । यो खोपलाई पहिलो पटक गत फेब्रुअरीमा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले आपत्कालीन उपयोगका लागि अनुमति प्रदान गरेको थियो ।यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।जोन्सन खोप ०.५ एमएलको पाँच मात्रा भएको भाइलमा आउँछ । डब्लूएचओको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घण्टासम्म मात्र राख्नुपर्छ । ६ घण्टापछि उपयोग गर्न मिल्दैन ।नेपालमा यसअघि पनि विभिन्न उमेरसमूह र क्षेत्रका आधारमा कोभिसिल्ड र चिनियाँ भेरोसेल खोप लगाइसकिएको छ ।

प्रकाशित : श्रावण ४, २०७८ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्

देउवालाई मतदान गरेका एमालेका २२ सांसद छलफलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमाले माधव नेपाल पक्ष र केपी शर्मा ओली पक्षका २२ सांसद छलफलमा जुटेका छन् ।

सोमबार एमाले केन्द्रीय कमिटी बैठकले मतदान गर्ने सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेपछि उनीहरु काठमाडौंको डल्लुमा छलफल गरिरहेका छन् ।

केन्द्रीय किमटी बैठकमा पार्टी अध्यक्ष ओलीले पार्टी निर्णय विपरीत भोट हाल्ने सांसदहरुलाई स्पष्टिकरण सोध्‍ने सम्बन्धीको प्रस्ताव राखेका थिए ।

यस्तै छलफलमा नेपाल समूह सरकारमा जाने/नजाने विषयमा पनि कुराकानी भइरहेको छ । छलफलमा उपस्थित एक नेताले भने, 'आज सोधिएको प्रस्टीकरण र आगामी कार्ययोजनाबारे छलफल गर्न भेला भएका हौं । यस्तै सरकारमा जाने नजाने विषयमा पनि कुरा हुन्छ ।'

विश्वासको मत दिने ओली पक्षका ८ सांसदमध्ये गोपाल(किसन) श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसी छन् । नेता नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी थिए ।

नेपालका पक्षका योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, सरेन्द्र पाण्डेलगायतले विघटन कार्यदलले दिएको १० बुँदै समझदारी अनुसार पार्टी विवाद अन्त्य गर्नुपर्ने भन्दै बैठकमा सहभागी भएका थिएनन् । नेपाल पक्षका सांसद समेत रहेका उपाध्यक्ष भिम रावलले संसद् भवन अगाडि नै सांसद पदबाट राजीनामा दिएको पत्र पढेर सुनाएका थिए ।

प्रकाशित : श्रावण ४, २०७८ १७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×