उपत्यकाको निषेधाज्ञा १० दिन थपियो, खाद्यान्न पसल खोल्न पाइने

काठमाडौँ — उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईले खाद्यान्न तथा किराना पसल खोल्न दिनेजस्ता केही प्रावधान खुकुलो पारेर निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको कान्तिपुरलाई बताए ।यस्तै ललितपुरका सीडीओ ढुण्डिप्रसाद निरौलाले पनि खाद्य र किराना पसल खोल्न र निर्माणका सामाग्री ढुवानी गर्न दिइने बताए । 'यो एक हप्ता कडारुपमा गरिएको निषेधाज्ञाले संक्रमण रोक्न मद्दत गर्‍यो । अब खाद्य सामाग्रीका पसलहरु बिहान खोल्न दिने गरी १० दिन थप गरिएको छ,' निरौलाले कान्तिपुरसँग भने ।

उपत्यकाको निषेधाज्ञा १० दिन थपियो, खाद्यान्न पसल खोल्न पाइने

काठमाडौंका सीडीओले जारी गरेको निषेधाज्ञासम्बन्धी आदेशमा खाद्यान्न, किराना, तरकारी तथा फलफूल पसल, दुध डेरी, मासु पसल, ग्याँस पसल बिहान ९ बजेसम्म खोल्न पाइने उल्लेख छ । यस्तै निर्माण सामाग्री ढुवानीका सवारी साधान राती ९ बजेदेखि बिहान ४ सम्म चलाउन पाइने पनि आदेशमा उल्लेख गरिएको छ । यस्तै, सवारी साधन मर्मत गर्ने वर्कशपहरु राती ९ बजेदेखि बिहान ९ बजेसम्म खोल्न पाइनेछ ।

शैक्षिक संस्था, सार्वजनिक निजी सवारी तथा भोज, सभा समारोहजस्ता धेरै मानिस जम्मा हुने स्थललाई बन्द गर्ने निर्णय यथावत राखिएको छ । घरमै वा बसेको स्थानमा ७ जनासम्म जम्मा भई विवाह ब्रतबन्ध गर्न पाइने छ । सरकारले तोकेका मापदण्ड पालना गरि कृषिको काम गर्न भने छुट दिइएको छ । अत्यावश्यकबाहेक सरकारी कार्यालय, सार्वजनिक संस्थान र बीमा कार्यालयहरु बन्द रहने छन् । वाणिज्य बैंकहरुले भने प्रधान कार्यालयबाहेक काठमाडौंमा तीनवटा शाखा कार्यालयमात्र खोल्न पाउनेछन् । संचारकर्मीलाई सूचना विभागको पास वा जिल्ला प्रशासनबाट जारी गरिएको पासका आधारमा आवतजावत गर्न दिइने आदेशमा उल्लेख गरिएको छ । औषधि तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तु र सेवा खरिदमा बाहेक जेठ ३१ सम्म कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाइने पनि आदेशमा उल्लेख गरिएको छ ।

प्रकाशित : जेष्ठ १९, २०७८ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?