१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

लमजुङ भूकम्प : ६ जना घाइते, २७ घर क्षतिग्रस्त

काठमाडौँ — लमजुङमा बुधबार बिहान गएको भूकम्पले २७ घरमा क्षति पुग्नुका साथै ६ जना घाइते भएका छन् । त्यसपछि पनि निरन्तरजसो परकम्प गएकाले प्रायजसो स्थानीय बासिन्दा खुला ठाउँमै बसिरहेका छन् ।

लमजुङ भूकम्प : ६ जना घाइते, २७ घर क्षतिग्रस्त

बिहान ५ बजेर ४२ मिनेटमा मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेलाई केन्द्रविन्दु बनाएर ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै बिहान ८ बजेर १६ मिनेटमा ४ म्याग्निच्युड र ८ बजेर २६ मिनेटमा ५ दशमलव ३ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहानको भूकम्पपछि सोही ठाउँमा २० भन्दा बढी परकम्प गएका छन् । केन्द्रले बिहानको भूकम्प पनि २०७२ वैशाखको गोरखा भूकम्पकै परकम्प रहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगदीश रेग्मीका अनुसार अहिलेसम्म भूकम्पमा परी ६ जना घाइते भएको जानकारी आएको छ । ३ जना घरको पर्खाल खसेर र ३ जना भागदौडका क्रममा घाइते भएको उनले बताए । रेग्मीका अनुसार मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु घर भई हाल बेंसीसहर नगरपालिका–६ चनौटे बस्दै आएकी ४० वर्षीया उमा गुरुङ, बेंसीसहर ११, रामचोकबेंसीकी ८३ वर्षीया खवकुमारी पाण्डे र दोर्दी गाउँपालिका–७, लप्सीबोटकी ८३ वर्षीया मंगलीमाया तामाङ घर भत्किँदा घाइते भएका छन् ।

मर्स्याङ्दी गाउँपालिका–६, ठूलीबेसीका २२ वर्षीय गोविन्द अधिकारी, बेंसीसहर नगरपालिका ८, ओख्लेफाँटकी २९ वर्षीया खुसीमाया गुरुङ र बेंसीसहर–८ सेराकी ६० वर्षीया सुमित्रादेवी श्रेष्ठ भागदौडका क्रममा घाइते भएका छन् । घाइतेमध्ये दोर्दीका तामाङबाहेक सबैको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । तामाङको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । डीएसपी गंगाबहादुर थापाका अनुसार हालसम्म २७ वटा घरमा क्षति पुगेको विवरण आएको छ ।

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले घाइतेको अस्पतालमा उपचार गराइरहेको र क्षतिका थप विवरण संकलन भइरहेको बताए । उनले पनि २७ वटा घरमा क्षति पुगेको प्रारम्भिक तथ्यांक आएको बताए ।बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले नगरभित्र मात्रै २० भन्दा बढी घरमा क्षति पुगेको बताए । ‘अझै सबै जानकारी आउन बाँकी छ,’ उनले भने । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले प्रारम्भिक जानकारीअनुसार करिब २ दर्जन घरमा क्षति पुगेको बताए ।

प्रकाशित : जेष्ठ ५, २०७८ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?