कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो बन्यो धरहरा

दिपेन्द्र रोक्का

काठमाडौँ — भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा यही वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । ३ अर्ब ४८ करोड रुपैयाँ अनुमानित लागत रहेको धरहराको पुनर्निर्माणमा बिहान र बेलुका गरेर साढे तीन सय मजदुरहरुले काम गर्दै आइरहेका छन् । यसको निर्माण ठेक्का जीआईटीसी रमन जेभीले २०७५ असोज १४ गते पाएको हो ।

यस्तो बन्यो धरहरा

डबल बेसमेन्टको धरहरा टावर, करिब ३ सय हाराहारीको क्षमता भएको ट्रिपल बेसमेन्ट पार्किङ, भूकम्पको संग्रहालय र क्याफेटेरिया गरी धरहरा निर्माणलाई चार भागमा विभाजन गरिएको थियो ।

भूकम्पले भत्काएको धरहराको भग्नावशेषलाई भने सिसाले छोपेर नयाँ धरहरा छेवैमा राखिनेछ । धरहराको पुरानै गजुरलाई मर्मत गरी सुनको जलप राख्ने काम पनि अन्तिम चरणमा पुगेको छ । धरहराको कुल उचाई ८० मिटर रहेको छ । यसलाई पुरानै संरचनामा निर्माण गरिएको हो । हरेक दुई तलामा पहिलाकै जस्तो कार्नेसको बुट्टा रहेको छ भने पुरानै शैलीको गोलो झ्यालहरु यसमा देख्न पाइनेछ ।

२०औं तलाबाट काठमाडौंको दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको छ । २२औं तलामा भने पुरानै शिव लिंग स्थापना गरिनेछ । नयाँ धरहरामा दुईवटा लिफ्टको पनि व्यवस्था गरिएको छ जुन अपांगमैत्री हुनेछन् । पहिलेको धरहरामा गोलो भर्‍याङ राखिएको थियो भने अहिलेको त्यसलाई नयाँ शैलीमा निर्माण गरिएको छ ।

पहिले सुर्की र इँटाबाट बनेको धरहरा अहिले गिट्टी बालुवा, सिमेन्ट र रडको प्रयोग गरी बनाइएको छ । पहिले हुलाक कार्यालय रहेको ठाउँमा अहिले पार्किङ क्षेत्र बनाइएको छ। यो तीन तहको पार्किङ क्षेत्र हुनेछ भने यसको माथि बगैंचा र पानीको फोहोरा हुनेछ । अहिले बन्न लागेको धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ । छेवैमा रहेको सुन्धारालाई पनि जीवन्त बनाउने काम भइरहेको छ । अहिलेसम्म धरहराको ९७.३ प्रतिशत काम सम्पन्न भइसकेको छ अब बाँकी रहेको काममा रङ लगाउने, लिफ्टको काम, बत्तीका तारहरु लगाउने र जमिनको फ्लोरिङ गर्ने कामहरु रहेका छन् ।

प्रकाशित : वैशाख ३, २०७८ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?