१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जुलुस गइरहने मान्छे

काठमाडौँ — (कवि भूपाल राईप्रति । जो २०३६ सालदेखि सडकमा छ  ! जुलुसरत छ ।)
आजसम्म जीवन जे–जति बन्यो जिउनलायक
जुलुस गएरै बनाएको हुँ मैले

जुलुस गइरहने मान्छे

म जुलुसलाई

सय जीवन दिन चाहन्छु

तानाशाह नयाँ होस् या पुरानो

म झेल्न सक्दिनँ

मेरो आत्मा

जीवनवादी नाराहरुको अस्त्रागार हो

अँध्यारोलाई मुर्दावाद

र, उज्यालोलाई जिन्दावाद भन्न

जुन दिन पछि हट्नेछु म

मभित्रको मान्छेमा खिया लाग्नेछ

खिया लागेका मान्छेहरु

तानाशाहका जन्मदाता हुन्

म तानाशाहलाई जति घृणा गर्छु

खिया लागेका मान्छेलाई पनि उत्तिकै घृणा गर्छु

र, आफूलाई खिया लाग्नबाट जोगाउन

म जुलुस जाने गर्छु

कसैले तख्तबाट तमस फैलाइरहँदा

देशको तानमा नर्क बुनिरहँदा

म कसरी धान रोप्न सक्छु ?

इँटा पार्न सक्छु ?

हँसिया बनाउन सक्छु ?

जमिनदारको बयलगाडा चलाउन सक्छु ?

कारखानामा काम गर्न सक्छु ?

समाचार लेख्न सक्छु ?

पढ्न सक्छु ? पढाउन सक्छु ?

मेरो मनध्यानै जुलुसमा हुन्छ....

म प्रेमक्रीडाकै बीचमा पनि

मायालुको अँगालोबाट फुत्किएर हिँड्दिन्छु

शिशुलाई खुवाइरहेको गाँस

अधुरै छोडेर हिँड्दिन्छु

मृत्युशय्यामा आमालाई एक्लै छोडिदिएर

हिँड्दिन्छु

म तानाशाह ढाल्न हिँडेको मान्छे

जुलुस मेरो कर्म र कर्तव्य हो

मैले ढालेका तानाशाहहरु

सबै कायर थिए,

ताज्जुब लाग्ने गरी कायर थिए

ती यति डराउँथे

कविताको एउटै पङ्क्तिमाथि पनि तोप चलाउँथे

ती सबैले गरेका थिए प्रमाणित

दौरा–सुरूवाल लगाएर पनि नाच्न सकिन्छ नाङ्गै

ती सबै ठट्टा गर्न मन पराउँथे

केहीले त

आफ्ना चुट्किलामा हाँस्न

चाकरहरू पनि नियुक्त गरिराखेका थिए

हमेसा क्यालकुलेटरमा औंला हुन्छ इतिहासको

जो स्वयम् खग्गु छ

जोड–घटाउ–गुणन–भागमा

हिसाब तानाशाहको मात्र राखिने छैन

उसले कति मान्छे मार्‍यो

कतिको जिन्दगी ध्वस्त पार्‍यो

धरतीलाई कति दुःख दियो

कति उनको खुन–आँसु पियो

हिसाब तानाशाहको मात्र राखिने छैन

कसले तानाशाहलाई छाता ओढायो ?

कसले उसको कोटको अबिर टकटक्यायो ?

कसले पान–सुपारी टक्य्रायो ?

कसले गीत सुनायो ?

र, उसले मान्छेहरु मारिरहँदा

कसले बाँसुरी फुक्यो ?

कसले ताली बजायो ?

हिसाब तिनको मात्र पनि राखिने छैन

क्यालेन्डरमा आफ्नै स्वतन्त्रताको मलामी जानुपर्ने

तिथि तय हुनै लाग्दा पनि

को–को गएनन् जुलुस

हिसाब तिनको पनि राखिनेछ


मेरो टाउको देशभरिका लठ्ठी खान तयार छ

ढाड संसारभरिका बुट खान तयार छ

छाती दुनियाँभरिका गोली खान तयार छ

मस्तिष्क पृथ्वीभरिका झ्यालखानाका हावा खान तयार छ

मन ब्रहृमाण्डभरिका मृत्युलाई म्वाई खान

तयार छ

तर, म

तानाशाहसँग हार खाएर

इतिहासको गाली खान तयार छैन ।

प्रकाशित : माघ १८, २०७७ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?