कुन्ता शर्माको कविता- 'पोथी बास्नु हुँदैन'- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुन्ता शर्माको कविता- 'पोथी बास्नु हुँदैन'

कान्तिपुर संवाददाता

काठमाडौँ — कुन्ता शर्मा नेपाली साहित्य क्षेत्रको चिरपरिचित नाम हो । उनले निरन्तर आफ्ना सिर्जनामार्फत महिला उत्पीडन र महिला आन्दोलनका विषय उठाउँदै आएकी छन् । 

शर्माले पित्तृसतात्मक समाज र महिलाहरुले पाउँदै आएका दु:ख पीडालाई लिएर विसं २०४२ सालतिर 'पोथी बास्नु हुँदैन' भन्ने कविता रचेकी थिइन् ।

पोथी बास्नु हुँदैन

सधैं सधैं घरका धुरीहरूमा

आँगनहरूमा, बार्दलीहरूमा…

घाँटी तन्काउँदै, सिउर हल्लाउँदै

बस्ने काम भालेको हो

आवाज उकास्ने काम भालेको हो ।

पोथीले मात्र कुर्कुराउनु पर्छ

आक्रोसका घुड्काहरू चुपचाप निल्नु पर्छ

अण्डा पार्नु पर्छ, ओथारा बस्नु पर्छ

चल्ला काढ्नु अनि

तन्मयतापूर्वक बच्चा हुर्काउनु पर्छ

उन्मुक्त हाँसो हाँस्नु हुँदैन

पोथी बास्नु हुँदैन ।

तौलीतौली बोल्नु पर्छ

शब्दमा आदरभाव घोल्नु पर्छ

पाउमा निहुरिनु पर्छ

दासताको फूल सिउरिनु पर्छ

लक्ष्मण रेखा नाघ्नु हुँदैन

अधिकार माग्नु हुँदैन

उन्मुक्त हाँसो हाँस्नु हुँदैन

पोथी बास्नु हुँदैन ।


आँसु हतियार हो

मुस्कान हतियार हो

स्थिति अनुसार प्रयोग गर्नु पर्छ

परिस्थिति अनुसार उपयोग गर्नु पर्छ

साँचो कुरा बोल्नु हुँदैन

अन्धकारको पर्दा खोल्नु हुँदैन

उन्मुक्त हाँसो हाँस्नु हुँदैन

पोथी बास्नु हुँदैन ।


टेक गर्नु हुँदैन

थुनछेक गर्नु हुँदैन

मालिक मालिक रट्नु पर्छ

यन्त्र जस्तो भएर खट्नु पर्छ

नयाँ परिवेशमा टेक्नु हुँदैन

नयाँ विचार राख्नु हुँदैन

उन्मुक्त हाँसो हाँस्नु हुँदैन

पोथी बास्नु हुँदैन ।


बासेमा के हुन्छ ?

साह्रै अनिष्ट हुन्छ

नीति नियम रुष्ट हुन्छ

ठूलो अवरोध सहनु पर्छ

आँसुको नदीमा बग्नु पर्छ

सपना तुहिन सक्छ

जीवन चुँडिन सक्छ

ओथारोको अण्डा

त्यसै त्यसै कुहिन सक्छ

चल्लाको कलिलो जीवन

नफुल्दै झर्न सक्छ

प्रहार हुन सक्छ

संहार हुन सक्छ

त्यसैले चेतनाको डाक बोल्नु हुँदैन

अन्धकारको पर्दा खोल्नु हुँदैन

उन्मुक्त हाँसो हाँस्नु हुँदैन

पोथी बास्नु हुँदैन ।


अवरुद्ध चेतना

कहिलेकाहीँ प्रवाहित हुन खोज्दा

जडताको विरुद्ध

गतिशीलताको पाइला चाल्न खोज्दा

उज्यालोले कुत्कुत्याए पछि

आँटिला मुटुहरूले मुख खोल्दा

साँचो कुरा बोल्दा

आतङ्कित बर्बरताहरू

एकैपल्ट ब्यूँझिएर

जीवनको विरुद्ध

मृत्युघण्ट ठोक्न सक्छन्

एकोहोरो शंख फुक्न सक्छन्

त्यसैले ठूलो आँट नलिइ

दरिलो साथ नलिइ

काँडाघारीमा पस्नु हुँदैन

उन्मुक्त हाँसो हाँस्नु हुँदैन

पोथी बास्नु हुँदैन ।

प्रकाशित : माघ १०, २०७७ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्

केपी ओली कम्युनिस्टको खोल भिरेका प्रतिगमनकारी हुन् : युवराज ज्ञवाली

‘केपी ओलीले  लोकतन्त्र र संविधानको घाँटी निमोठे । देशलाई अँध्यारोमा धकेले । नक्कली राष्ट्रवाद देखाएर राष्ट्रघात गरे’
अमृता अनमोल

बुटवल — पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्टको खोल भिरेका प्रतिगमनकारी भएको टिप्पणी गरेका छन् ।

नेकपा दाहाल नेपाल समूहले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री ओलीले कम्युनिस्टका नाममा कलंक र राष्ट्रवादका नाममा राष्ट्रघात गरेको बताए । संविधानमै नभएको व्यवस्थाबाट प्रतिनिधिसभा भंग गरेर लोकतन्त्र र संविधानलाई समेत घात गरेको दाबी गरे ।

‘केपी ओलीले लोकतन्त्र र संविधानको घाँटी निमोठे । देशलाई अध्ँयारोमा धकेले । नक्कली राष्ट्रवाद देखाएर राष्टघात गरे,’ उनले भने, ‘उनी राष्ट्रघाती हुन् । जनघाती हुन् । विश्वासघाती प्रतिगमनकारी मात्र हुन् ।’

नेता ज्ञवालीले सिंगो कम्युनिस्ट पाटी र संविधान धराशायी बनाउने केपी शर्मा ओली कहिल्यै नेकपामा नरहने बताए । ‘हामी अलग बाटो रोजेका सबैलाई स्वागत गर्न सक्छौँ । तर, केपी ओली नो,’ उनले भने, ‘अब कम्युनिस्टमा केपी ओली रहँदैनन् ।’

नेता ज्ञवालीले जबजको मन्त्र जपेको नाटक गर्ने केपी ओली नै दाहालसँगको सम्झौतामा प्रधानमन्त्री बन्न जनताको बहुदलीय जनवाद छोड्ने पहिलो व्यक्ति भएको दाबी गरे । ‘अहिले जबजलाई ड्रप गरौं पछि सल्लाह गर्दै गरौंला । एक्काइसौँ शताब्दीको जनवाद माओवाद हो । तसर्थ जनताको जनवाद भनौं भन्ने पहिलो व्यक्ति केपी ओली हो । यसका तथ्य र प्रमाण हामीसँग छन्,’ नेता ज्ञवालीले भने ।

केपी ओलीको प्रतिगमनविरुद्ध सडक, सदन र सरकारबाट आन्दोलन गर्नुपर्ने भएकाले प्रदेश सरकारबाट आफूहरु नहटेको बताए । ‘हामी तत्काल प्रदेश सरकारहरुबाट बाहिरिन्नौं । किनभने ओलीको प्रतिगमनविरुद्ध सडक, सदन र सरकारबाट लड्नुपर्ने भएको छ,’ उनले भने ।

अर्का नेता ठाकुर गैरेले दलभित्र कसैको दास बन्न नसकेका कारण आन्दोलनमा होमिनु परेको बताए । उनले देश, संविधान र दलको सिद्धान्तविपरीत कदम चाल्नेहरुविरुद्ध प्रतिकार गर्न जो सुकै तयार हुनुपर्ने बताए ।

प्रकाशित : माघ १०, २०७७ १३:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×