कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

'सबै क्षेत्र खुल्यो, फिल्म हल कहिले खोल्ने ?' 

काठमाडौँ — बानेश्वरको आइप्लेक्स मलमा मानिसको चहलपहल उस्तै छ जसरी कोभिडअघिका समयमा हुने गर्दथ्यो । पसलहरु खुलेका छन् । पहिलाझैं अस्तव्यस्त देखिने यो महलमा खाली एउटा कुरा भने बन्द छ- मलभित्रको फिल्म हल ।मलको होहल्लाबीच मौन रहेका हलहरुको चित्रण गर्छ यो वान सिनेमाजले । टिकट काउन्टर धुलाम्मे छ । हल प्रवेश द्वार खाली देखिन्छ । दर्शकको हाँसो, रोदन र ताली गुञ्जने हल चकमन्न छ । फुड काउन्टर आफैं भोकोजस्तो देखिन्छ । सँधै उज्यालो बत्तीहरु बलिरहने प्रतीक्षालय अँध्यारो छ । यहाँ दर्शकको आउजाउ नभएको ९ महिना भयो ।

'सबै क्षेत्र खुल्यो, फिल्म हल कहिले खोल्ने ?' 

सोमबार वान सिनेमाज पुग्दा केही मानिस हलको सरसफाइमा व्यस्त देखिन्थे । पीपीई सुटमा एकजना हलका सिटमा डिसइन्फेक्ट गर्दै गरेका भेटिए । धेरैजसो फिल्मको कार्यक्रम भइरहन्थ्यो कुमारी हलमा । कार्यक्रम नभए पनि कलाकार र दर्शकको आउजाउ हुन्थ्यो । ९ महिना भयो यो हलको ढोकामा ताला झुन्डिएको । कुमारी हलको दृश्य पनि वान सिनेमाजको भन्दा फरक छैन । टिकट काउन्टरको छेउमा बलिउड फिल्म 'थप्पड', 'अंग्रेजी मिडियम' र नेपाली फिल्म 'आमा'को पोस्टर टाँसिएको छ । पार्किङ क्षेत्र खाली छ । हलको प्राङ्गणमा दर्शकको जुत्ता/चप्पलको छाप भेटिँदैन । हलमा गुँड बनाएर बसेका चराचुरुङ्गीको प्वाँखहरु प्राङ्गण वरिपरि छरिएको भेटिन्छ ।

दर्शकको बाक्लो भीड रहने यो हल पुग्दा सुरक्षामा खटिएका सेक्युरिटी गार्ड कुमार रानामात्रै भेटिए । काम गरेको डेढ वर्षमा कहिल्यै उनले कुमारी हललाई यसरी एक्लो देखेका थिएनन् । कहिलेकाहीँ उनलाई ढोकामा देखेर 'हल खुलेको हो ?' भन्दै सोध्ने पनि गर्छन् । उनी 'होइन' भन्दै दर्शकलाई फर्काइदिन्छन् ।

कोरोना महामारीका कारण सरकारले सुरुमै फिल्म हल बन्द गर्ने निर्णय गर्‍यो । अहिले लामो/छोटो दुरीका यातायत सञ्चालनमा छन् । होटल/रेस्टुरेन्ट खुले । बैंक तथा विभिन्न उद्योग खुल्दा हलमा अझै ताला झुन्डिएको छ । बन्द भएको ९ महिना बितिसक्दा पनि सरकारले हल खोल्ने निर्णय नगर्दा हल सञ्जाकहरु आक्रोशित छन् ।

देशभर २ सयको हाराहारीमा हल छन् । हलमा प्रत्यक्ष ३५-४० हजार कर्मचारी आश्रीत छन् । प्रत्यक्ष अप्रत्यक्ष गरेर ९ महिनादेखि १ लाख बढी श्रमजीवी बेरोजगार बनेको अध्यक्ष प्रधानको दावी छ । मल्टिप्लेक्स अन्तर्गतको क्युएफएक्स बन्द हुँदा करिब ७ सय जनाले रोजगारी गुमाए । निर्माता एवं कलाकार रविन्द्रसिंह बानिया हल खोल्न नदिनु ठिक नभएको बताउँछन् । हल बन्द हुँदा धेरै निर्माताका लगानि फ्रिज अवस्थामा छन् । फिल्मको प्रदर्शन रोकिएको छ । निर्माताको उत्साहका लागि पनि हल खोल्नुपर्ने उनको भनाई छ ।

धेरै हलवालाले दशैं अगावै हल खोल्न पाउने आसा राखेका थिए । तर दशैं/तिहारमा पनि हल नखोलेपछि हलवाला निरास भएका छन् । निर्देशक विनोद पौडेल नयाँ रणनीति बनाएर हल खोल्नुपर्ने बताउँछन् ।

प्रकाशित : मंसिर १७, २०७७ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?