तिहारलाई पाला बनाउन भ्याइनभ्याइ

दिपेन्द्र रोक्का

काठमाडौँ — काठमाडौं उपत्यकाको प्राचीन सहर भक्तपुरको एउटा आकर्षण हो पोटरी स्क्वायर । माटोका भाँडाका लागि प्रख्यात यो ठाउँ सधैं व्यस्त नै रहने गर्दछ । नेपालीहरूको अर्को महान चाड तिहार नजिकिँदै गर्दा यहाँका कुमालेहरु पनि व्यस्त भएका छन् यतिबेला । तिहारमा माटाका पालाहरुले विशेष महत्त्व राख्ने गर्दछन् ।

तिहारलाई पाला बनाउन भ्याइनभ्याइ

४६ वर्षीया धर्मप्रसाद प्रजापति पनि यतिबेला दैनिक ५ सयदेखि हजार वटासम्म माटाका पालाहरु बनाउँदैछन् । ३६ वर्ष माटाका भाँडा बनाउन समर्पित धर्मप्रसादलाई उनका २० वर्षीय छोरा विकल प्रजापतिले पनि सघाउँछन् । भक्तपुरको पोटरी स्क्वायरको एउटा कुनामा धर्मप्रसाद ठूलो माटोको पाला र विकल प्रजापति सानो पाला बनाउँदै थिए । दुवैका मोबाइल फोनमा आफ्नो-आफ्नै संगीत बजिरहेका थिए । प्रजापति बाबुछोराजस्तै पोटरी स्क्वायरमा अधिकांशको दैनिकी यस्तै छ आजकल । सरकारले जारी गरेको लकडाउनको समयमा माटो खेर जाने डरले धर्मप्रसादले त्यस अवधिमा एक लाख पालाहरु बनाइसकेका छन् । अन्य माटाका भाँडाका तुलनामा पालाको बजार खासै राम्रो नभएको उनी बताउँछन् । अहिले पालाहरुलाई विद्युतीय बत्तीहरुले विस्थापित गरिसकेको छ । तिहारको समयमा पनि मानिसहरूले पूजा कोठामा एउटा मात्र पाला प्रयोग गरेर विद्युतीय बत्तीले झिलिमिलि पार्छन् । यसकारण उनलाई पालाहरु भन्दा माटाका अन्य भाँडाहरु बनाउन मन लाग्छ। 'व्यापार राम्रो भएको बेलामा माटाका पालाहरूको वार्षिक आम्दानी २० देखि २५ लाख हुन्थ्यो तर विगतका वर्षहरुजस्तो व्यापार अहिले छैन।' माटाका भाँडा बनाउन उनले भोगेको अर्को समस्या माटो नपाउनु पनि हो । पहिले भक्तपुर वरपर माटो सजिलै पाइन्थ्यो । अहिले समय फेरिएको छ । बढ्दो सहरीकरणले गर्दा माटो असहज भएको हो उनी बताउँछन् । समयसँगै काम गर्ने ढाँचा पनि बदलिएको छ, पहिले माटो फुटाउन खुट्टा र हातले चक्र घुमाउन परेपनि अहिले मेसिनले काम सजिलो भने पारिदिएको छ। भाँडा पोल्न नजिकैको आधुनिक भट्टीमा लैजान्छन् जसको दैनिक भाडा ६ सय देखि ९ सय रुपैयाँसम्म पर्न आउँछ । पाला बनाउनभन्दा रङ लगाउन गाह्रो हुने उनी सुनाउँछन् । तर कसैले आगोमा नपोलेको पाला पनि लैजाने गरेके उनले बताए । पालाबाहेक तिहारमा भिउँटे, ठेकी, धुपौरो लगायतका माटोका सामाग्रीहरूको माग पनि उच्च हुने गरेको उनले बताए । विद्युतीय बत्तीहरुले माटाका पालाहरुलाई बिस्तारै विस्थापित गर्दै गएपनि यस वर्षको तिहारमा आफूले बनाएका माटाका पालाहरु बिक्री होलान् कि भनेर आफ्नो काममा लगनशील छन्, भक्तपुरको पोटरी स्क्वायरका कुमालेहरु।

प्रकाशित : कार्तिक २२, २०७७ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?