कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

वर्षौपछि फर्किए आँखाका ज्योति

वसन्तप्रताप सिंह

बझाङ — जब आँखाका गुमेका ज्योति फिर्ता पाए, वृद्धवृद्धाले हात फैलाएर खुसी साटे । बझाङ सदरमुकाम चैनपुरबाट दुईदेखि तीनदिन पैदल हिँडेर पुगिने साइपाल गाउँपालिकामा सञ्चालन भएको आँखा शिविरबाट उनीहरुले वर्षौदेखिको अन्धकारमय जीवनबाट छुटकारा पाए ।

वर्षौपछि फर्किए आँखाका ज्योति

गएको शनिबारदेखि सोमबारसम्म सञ्चालन भएको शिविरमा ३ सय ८ जना महिला र २ सय ३ जना पुरुष गरी ५ सय ११ जनाले आँखा सम्बन्धी सेवा लिए । ३२ महिला र २४ पुरुष गरी ५६ जनाको मोतियाविन्दु र अन्य समस्याको शल्यक्रिया भयो । १ सय ६० महिला र २ सय २० जना पुरुष गरी ३ सय ८० जनालाई चश्मा वितरण गरियो ।

साइपालमा शल्यक्रिया सेवा सहितको बृहत स्वास्थ्य शिविर सञ्चालन भएको यो पहिलोपटक हो । चीनको तिब्बतसँग सीमा जोडिएको जिल्ला कै विकट यस गाउँपालिकामा जिल्ला अस्पतालमा समेत उपलब्ध नभएको सेवा घरदैलो मै पाएकोमा स्थानीयले खुशी व्यक्त गरेका छन् ।

नौ जना विशेषज्ञ चिकित्सक, सहित ४० भन्दा बढी स्वास्थ्यकर्मीहरुको टोलीले दुई अलग–अलग स्थानमा शिविर सञ्चालन गरे । काँडा स्वास्थ्य चौकीको भवनमा बालरोग, स्त्रीरोग, दन्तरोग, महिला तथा पुरुष वन्ध्याकरण र जनरल डिजिज सम्बन्धी सेवा सञ्चालन गरिएको थियो । यस्तै तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ नेत्र चिकित्सक डाक्टर रिता गुरुङको नेतृत्वको टोलीले काँडा माध्यामिक विद्यालयमा आँखा शिविर सञ्चालन गरेको थियो ।

शिविर सञ्चालनको लागि तिलगंगा आँखा प्रतिष्ठान र हिमालयन मोतियाविन्दु परियोजनालले १५ लाख, सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले २५ लाख रकम खर्च गरेको छ । यस्तै जिल्ला अस्पताल बझाङ, सेती प्रादेशिक अस्पताल धनगढी र साइपाल गाउँपालिकाको १० लाख गरी ५० लाख हाराहारीमा बृहत स्वास्थ्य शिविरमा खर्च भएको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए ।

गत भदौ २४ गते कान्तिपुर दैनिकमा ‘साइपालको अँध्यारो संसार’ शीर्षकमा समाचार प्रकाशित भएपछि यो शिविर सम्भव भएको हो । समाचार प्रकाशित भए लगतै सुदुरपश्चिम प्रदेश सरकारले आँखाको शल्यक्रिया सहितको बृहत स्वास्थ्य शिविर सञ्चालन गर्नका लागि २५ लाख बजेट उपलब्ध गराएको थियो ।

प्रकाशित : कार्तिक ५, २०७७ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?