आकाशमा रंगीचंगी चंगाहरु- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आकाशमा रंगीचंगी चंगाहरु

दिपेन्द्र रोक्का

काठमाडौँ — चंगा व्यवसायी सुन्दरलाल मानन्धरको यतिबेला दैनिकी फेरिएको छ। गतसालतिर दसैंअघि फाट्टफुट्ट आउँथे ग्राहक । तर यो साल भने कालिमाटीमा रहेको उनको चंगा पसलमा भ्याइ नभ्ययाइ छ । कारण- कोभिड १९ । बाहिर ननिस्कने र घरमा बसेर चंगा उडाउनेहरु बढेसँगै उनको दैनिकी बेफुर्सद बनेको छ।
पोहोरपरार त्यति राम्रो हुँदैनथ्यो । वर्षमा एक सिजन मात्र पसल खोल्ने गर्थे उनी । उनी भन्छन्, 'व्यापार बन्द गर्ने मनसायमा पुगिसकेका थियौं तर यसवर्ष भने हाम्रो व्यापार फेरि सल्बलाउन थालेको छ । आजकालका पुस्ता बाहिरी मनोरञ्जन भन्दा पनि इन्टरनेट र मोबाइल फोनमा व्यस्त भएका कारण चंगा धेरैले नउडाउने बुझाइ छ उनको।

नैकापमा बस्ने १४ वर्षीया समर्पण थापा पनि आफ्नो फुर्सदको समयमा चंगा उडाउने गर्छन। उनलाई मोबाइल भन्दा चंगा उडाउन रमाइलो लाग्छ। काठमाडौंकै डल्लुमा बस्ने मनिक महर्जन पनि लकडाउनले आफूले बाल्यकालमा चंगा उडाएको यादहरु पुनर्ताजगी गराएको बताउँछन्।मानन्धरको ३ पुस्तादेखि चंगा व्यापारमा छ। अहिले उनको चौथो पुस्ता दर्शन मानन्धरले व्यवसाय हेर्दै आएका छन्। यो अवधिसम्म आइपुग्दा व्यवसायमा पनि निकै परिवर्तन आएको उनी सुनाउँछन।

पहिले चंगा उडाउने धागोमा माजा लगाउने चलन थियो तर अहिले यो विस्थापित भइसकेको छ। साबूदाना र सिसाको धुलो मिलाएर धागो सुकाउने चलन धेरैले बिर्सिसके। उतिबेला राम्रो मानिने नेपाली कागजको चंगा पनि बजारमा बिरलै भेटिन्छन। ५ पैसामा आउने चंगाको मूल्य रुपैयाँमा उक्लिसकेको छ । मुख्यतः नेपाली बजारमा भारतबाट चंगा लट्टाई र धागो आयात हुने गरेको छ। उनका ग्राहकले भारतीय लट्टाई भन्दा स्वदेशी लट्टाई रुचाउने गरेको बताउँछन्। उनका अनुसार चंगासँग हाम्रो संस्कृति पनि जोडिएको छ। स्वर्गका राजा इन्द्रलाई चंगा उडाएर पानी नपार भनेर संकेत गर्न चंगा उडाउने गरेको उनले कथा सुनेका छन् ।

विस्तारै लोप हुन लागेको चंगा उडाउने चलन कोरोना भाइरसबाट बच्न र फैलन नदिन गरिएको लकडाउन र निषेधाज्ञाले फेरि जुर्मुराएको छ । त्यसैले त सफाचट वातावरणको शरद ऋतुमा काठमाडौं उपत्यकाका आकाशमा रंगीचंगी चंगाहरु देख्न पाइएको छ।

प्रकाशित : कार्तिक १, २०७७ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्

जो वर्षको तीनपटक भगवान बनाउँछन्

दिपेन्द्र रोक्का

काठमाडौँ — पेसाले मूर्तिकार ६१ वर्षीय श्याम नारायण पण्डित विश्वकर्मा पूजा नजिकिँदै गर्दा आफूले बनाएका मूर्तिहरु बिक्री नहुने हो कि भनेर अन्योलमा छन् यतिबेला। कोरोना महामारीका कारण सरकारले मठ मन्दिरहरुमा भेला हुन र पूजा गर्न निषेध गरेको छ।पण्डितले २५ वर्ष अघि लहानमा आफ्ना पुर्खाले सिकाएको कला काठमाडौंमा ल्याए। वर्षको तीनपटक उनका हातहरू भगवान बनाउने कलामा समर्पित हुन्छन्। विश्वकर्मा पूजा, सरस्वती पूजा र दुर्गा पूजामा उनका मूर्तिहरुले राम्रो बजार पाउँथ्यो।

तर यस वर्ष भने उनको व्यापार मौलाएको छैन। विश्वकर्मा पूजाको एक हप्ताअघि नै भीडभाड हुने उनको कारखानामा अहिले सन्नाटा छाएको छ । 'भगवान त बनाए तर लगेर पूजा गरिदिने कोही भएन,' उनी सुनाउँछन्। माटोसँग विशेष लगाव छ पण्डितको। पहिलेपहिले मूर्ति बनाउनका लागि सहजै रुपमा माटो पाइन्थ्यो तर अहिले सजिलो छैन । पहिले ७ देखि ८०० सम्म पाइने माटो अहिले १२००० रुपैयाँमा किन्ने गरेको उनी बताउँछन् । बढ्दो सहरीकरणले गर्दा माटो असहज भएको उनको बुझाइ छ। मूर्ति बनाउन धेरै मेहनत आँखा, मुख र नाक बनाउन खर्च हुन्छ उनको। मूर्ति बनाउनका लागि उनी बाँस,पराल, डोरी, माटो,धानको भुस र जुट प्रयोग गर्छन्। २ वटा मूर्तिबाट व्यापार सुरु गरेका पण्डितले अहिले औसतमा १०० वटा सम्म मूर्ति बनाउँछन्।

२५ वर्षअघि काठमाडौँ छिरेका श्याम नारायणले ५ जनालाई रोजगारी पनि दिएका छन् आफ्नो कारखानामा । रहरै रहरमा आफ्नो बुवाबाट सिकेको कला अहिले उनका छोरा श्यामले पनि अनुसरण गरेका छन् । बुवाको उमेर बढ्दै गएपछि आफूले व्यापार समालेको उनी बताउँछन् । उमेरले ६१ पार गरेपनि श्याम नारायणको जोश जाँगरमा कुनै कमी आएको छैन। उनले बनाएका मूर्तिहरू ५ देखि १६ हजार रुपैयाँसम्म बिक्री गर्छन् । तर पछिल्ला दिन उनले सोचेको जस्तो व्यापार हुन सकेको छैन । 'आफ्नो परिश्रमअनुसार व्यापार नभएको देख्दा कहिलेकाहीँ निराश हुन्छु, बनाएर राखेको मूर्तिहरू पनि ग्राहकले कम मूल्य तिरेर लैजान खोज्दा राम्रो लाग्छ,' उनले सुनाए । त्यसमाथि विश्वकर्मा पूजाका लागि बनाएको १०० वटा मूर्तिहरु खेर जाने हो की भनेर चिन्तित छन् ।

प्रकाशित : आश्विन १, २०७७ ०९:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×