आकाशमा रंगीचंगी चंगाहरु- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आकाशमा रंगीचंगी चंगाहरु

दिपेन्द्र रोक्का

काठमाडौँ — चंगा व्यवसायी सुन्दरलाल मानन्धरको यतिबेला दैनिकी फेरिएको छ। गतसालतिर दसैंअघि फाट्टफुट्ट आउँथे ग्राहक । तर यो साल भने कालिमाटीमा रहेको उनको चंगा पसलमा भ्याइ नभ्ययाइ छ । कारण- कोभिड १९ । बाहिर ननिस्कने र घरमा बसेर चंगा उडाउनेहरु बढेसँगै उनको दैनिकी बेफुर्सद बनेको छ।
पोहोरपरार त्यति राम्रो हुँदैनथ्यो । वर्षमा एक सिजन मात्र पसल खोल्ने गर्थे उनी । उनी भन्छन्, 'व्यापार बन्द गर्ने मनसायमा पुगिसकेका थियौं तर यसवर्ष भने हाम्रो व्यापार फेरि सल्बलाउन थालेको छ । आजकालका पुस्ता बाहिरी मनोरञ्जन भन्दा पनि इन्टरनेट र मोबाइल फोनमा व्यस्त भएका कारण चंगा धेरैले नउडाउने बुझाइ छ उनको।

नैकापमा बस्ने १४ वर्षीया समर्पण थापा पनि आफ्नो फुर्सदको समयमा चंगा उडाउने गर्छन। उनलाई मोबाइल भन्दा चंगा उडाउन रमाइलो लाग्छ। काठमाडौंकै डल्लुमा बस्ने मनिक महर्जन पनि लकडाउनले आफूले बाल्यकालमा चंगा उडाएको यादहरु पुनर्ताजगी गराएको बताउँछन्।मानन्धरको ३ पुस्तादेखि चंगा व्यापारमा छ। अहिले उनको चौथो पुस्ता दर्शन मानन्धरले व्यवसाय हेर्दै आएका छन्। यो अवधिसम्म आइपुग्दा व्यवसायमा पनि निकै परिवर्तन आएको उनी सुनाउँछन।

पहिले चंगा उडाउने धागोमा माजा लगाउने चलन थियो तर अहिले यो विस्थापित भइसकेको छ। साबूदाना र सिसाको धुलो मिलाएर धागो सुकाउने चलन धेरैले बिर्सिसके। उतिबेला राम्रो मानिने नेपाली कागजको चंगा पनि बजारमा बिरलै भेटिन्छन। ५ पैसामा आउने चंगाको मूल्य रुपैयाँमा उक्लिसकेको छ । मुख्यतः नेपाली बजारमा भारतबाट चंगा लट्टाई र धागो आयात हुने गरेको छ। उनका ग्राहकले भारतीय लट्टाई भन्दा स्वदेशी लट्टाई रुचाउने गरेको बताउँछन्। उनका अनुसार चंगासँग हाम्रो संस्कृति पनि जोडिएको छ। स्वर्गका राजा इन्द्रलाई चंगा उडाएर पानी नपार भनेर संकेत गर्न चंगा उडाउने गरेको उनले कथा सुनेका छन् ।

विस्तारै लोप हुन लागेको चंगा उडाउने चलन कोरोना भाइरसबाट बच्न र फैलन नदिन गरिएको लकडाउन र निषेधाज्ञाले फेरि जुर्मुराएको छ । त्यसैले त सफाचट वातावरणको शरद ऋतुमा काठमाडौं उपत्यकाका आकाशमा रंगीचंगी चंगाहरु देख्न पाइएको छ।

प्रकाशित : कार्तिक १, २०७७ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्

बेलकोटगढीमा सामूहिक जमरा

कान्तिपुर संवाददाता

नुवाकोट — गाउँका सबै जातजाति मिलेर जमरा राख्दै आएको बेलकोटगढीस्थित निरञ्जना देवीथानमा यस पटक सहभागिता घटेको छ । पोहोर २ सय ३५ घरधुरीले मन्दिरमा सामूहिक जमरा राखेका थिए । 

शनिबार १ सय २६ घरधुरीले जमरा राखेको बेलकोटगढी–१० का भोलाराज पौडेलले बताए । ‘भिडभाडमा बस्नुपर्छ भनेर यो पटक कोरोनाको डरले समूहमा जमरा राख्ने घटेका हुन्,’ उनले भने, ‘दलित, गैरदलित र जनजाति मिलेर देवी दुर्गाको प्रसादस्वरूप यहाँ जमरा राख्ने चलन वर्षौंदेखिको हो ।’ कोरोनाबाट जोगिन सतर्कता अपनाएर यो पटक जमरा राखिएको उनले बताए । ‘जमरा राख्ने–नराख्ने दुविधामा थियौं । भिडभाड नगरी स्वास्थ्य मापदण्ड अपनाएर जमरा राख्यौं,’ उनले भने ।

स्थानीय भीमबहादुर नेपाली नवरात्र सुरु भएपछि देवीथानमा नगरा बजाउँछन् । उनले पनि एक टपरी जमरा यहीँ राखेका छन् । ‘यहाँ भेदभाव छैन,’ उनले भने, ‘सबै मिलेर जमरा राखियो ।’ उनी यही जमरा राखेको मन्दिरमा साँझबिहान नगरा बजाउँछन् । जमरा राख्न स्थानीयहरू बिहान नुहाईधुवाई गरेर सफा ठाउँ र नदीकिनारबाट माटो वा बालुवा ल्याएर टपरी र भुइँमा जमरा राख्छन् । सबै मिलेर जमरा राख्ने चलनले यस पटक पनि निरन्तरता पाएको निरञ्जना मन्दिरका पुजारी महेश पौडेलले बताए ।

‘कोरोनाका कारण प्रशासनले निषेधाज्ञा गरेकाले घटस्थापनामा पोहोर जस्तो भिड हुन पाएन,’ उनले भने । यहाँका मगर समुदायले निरञ्जना भगवतीलाई आफ्नो कुलदेवीका रूपमा पुज्छन् । त्यसैगरी शनिबार साततले दरबार उत्तरपट्टि रहेको तुलजा भवानी दरबारमा पनि जमरा राखिएको छ । तुलजा भवानीको दरबारमा काठमाडौं हनुमानढोकाकै विधिअनुसार जमरा राख्ने चलन छ ।

प्रकाशित : कार्तिक १, २०७७ १८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×