रथ तान्‍ने क्रममा स्थानीय र प्रहरीबीच दोस्रो पटक झडप- भिडियो - कान्तिपुर समाचार

रथ तान्‍ने क्रममा स्थानीय र प्रहरीबीच दोस्रो पटक झडप

कान्तिपुर संवाददाता

काठमाडौँ — पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय युवाहरु र प्रहरीबीच पुनः झडप भएको छ । रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले बिहीबार दिउँसो पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गर्ने क्रममा पहिलो झडप भएको थियो । निषेधाज्ञाका बाबजुद रथ तानेको भन्दै प्रहरीले रोकेपछि झडप भएको थियो । प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास समेत प्रयोग गरेको थियो ।

स्थानीय युवाले रथ तान्‍न अवरोध गरेको भन्दै प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।युवाहरुले आफैं रथ तानेर पुल्चोकबाट धमाःफल्चा पाटीसम्म पुर्‍याएका थिए । दोस्रो पटक पुनः आक्रोशित युवाहरुले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि झडप भएको थियो । झडपमा परी केही प्रहरी,पत्रकार,तथा युवाहरु घाइते भएका छन् ।

प्रकाशित : भाद्र १९, २०७७ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्

बारा र पर्सामा सुरक्षाकर्मीसहित थप ४५ जनालाई कोरोना

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार ५ सय ८४ जनाको स्वाब परीक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २६ जना पर्सा र १९ जना बाराका हुन् ।

१० जनामा कन्ट्याक्ट ट्रेसिङका क्रममा कोरोना संक्रमण देखिएको हो । नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार १० महिलासहित १८ देखि ४५ वर्ष उमेरसमूहका ४५ जनामा कोरोना पुष्टि भएको हो । वीरगन्ज महानगरपालिकाका विभिन्न वडामा १९ जना संक्रमित थपिएका छन् ।

वीरगन्जको आदर्शनगरमा रहेको नबिल बैंकका ५ जना कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको छ । पर्साको कालिकामाई गाउँपालिकाको वडा नं १ मा दुई र वडा नं ३ मा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सखुवाप्रसौनी गाउँपालिका–४ मा दुई र वडा ५ मा एक जनामा कोरोना देखिएको छ । पटेर्वासुगौली गाउँपालिकाको निचुटा स्वास्थ्य चौकीका एक कर्मचारी पनि संक्रमित भएका छन् ।

बाराको निजगढ नगरपालिकाको विभिन्न वडामा १४ जना संक्रमित थपिएका छन् । इलाका प्रहरी कार्यालय निजगढका ६ जना थुनुवामा कोरोना पुष्टि भएको छ । निजगढमै रहेको कामना विकास बैंकका एक कर्मचारीमा पनि कोरोना देखिएको छ । सशस्त्र प्रहरी बल पिलुवाका दुई सुरक्षाकर्मीमा संक्रमण देखिएको छ । राष्ट्रिय वाणिज्य बैंक कलैयाका ३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित : भाद्र १९, २०७७ १०:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×