पार्टीभन्दा व्यक्ति र देशभन्दा गुट ठूलो भन्‍ने धारणाले नेकपा समस्यासँग जुधिरहेको छ : रावल 

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपाभित्रको विवाद समाधान दिनदिनै बढ्दै गइरहेको छ । असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा मागेपछि विवादले चर्को रूप लिएको थियो । जुन महिना दिन बितिसक्दा पनि थामिएको छैन । बरु चर्किएको छ ।

पार्टीभन्दा व्यक्ति र देशभन्दा गुट ठूलो भन्‍ने धारणाले नेकपा समस्यासँग जुधिरहेको छ : रावल 

पछिल्लो समय नेकपाका नेताहरू गुट भेलातिर लागेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षले प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकट नेताहरूसँग परामर्श गर्दै आएका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले खुमलटार र राजधानीका विभिन्न होटलमा भेला र छलफल गर्दै आएका छन् ।

यसरी नेकपा विवादमा फस्नुको कारण प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभन्दा आफू ठूलो भएको र देशभन्दा आफ्नो समूह ठूलो भएको धारणा राख्नु रहेको नेकपा स्थायी कमिटी सदस्य भीम रावलले बताएका छन् ।दुई अध्यक्षले विवाद समाधान गर्न नसके पार्टी कमिटीले बहुमत र अल्पमतले निर्णय लिने र त्यसरी हुने निर्णय सबैले मान्नुपर्ने रावलले बताए ।

स्थायी कमिटी वा अन्य कमिटीले बहुमतले गर्ने निर्णय नमान्ने ओलीले भनिरहेकाले समस्या भएको रावलको भनाइ थियो । 'सहमति नहुने अवस्थामा पार्टी जनवादी केन्द्रीयताको आधारमा संचालन हुने विधानमा लेखिएको छ । मतभेद भएका विषयमा अल्पमत बहुमतबाट टुंगो लगाइन्छ र अल्पमतले बहुमतको निर्णय मान्नुपर्छ भन्ने पनि छ,' रावलले भने, 'पार्टीभन्दा व्यक्ति ठूलो, देशभन्दा समूह ठूलो भन्ने धारणा पलाएकाले आज यो समस्यासँग जुधिरहनुपरेको छ ।'

गुटका भेलाले पार्टीलाई विभाजनतिर लैजाने रावलको भनाई छ । उनले प्रधानमन्त्री तथा अध्यक्ष ओली पक्षले बालुवाटारदेखि विभिन्न जिल्लामा भेला गरेपछि दाहाल-नेपाल पक्षले प्रतिक्रिया दिएको बताएका छन् । 'संवेदनशील बेलामा गुटको जवाफ गुटको भेलाले दिनुपर्छ भन्ने कुरा होइन । तर, कुनै पक्षले सम्पूर्ण मर्यादाका रेखा भंग गर्‍यो भने अर्को पक्षले मर्यादाको रेखा के हो भनेर स्मरण गराउनुपर्ने स्थिति उत्पन्न हुन्छ,' उनले भने ।

रावलले दुई अध्यक्ष छलफलमा बसेर अहिलेको विवाद मिलाउनुपर्ने बताएका छन् । उनले भने, 'हामी अहिलेसम्म उहाँहरूले यो सात दशक लामो, अत्यन्त आरोह-अवरोहपूर्ण जीवन व्यतित गरिसकेको नेकपालाई अवश्य पनि जिम्मेवारीपूर्वक पार्टीको विधि, प्रणालीमा ल्याउनुहोला भन्ने अझै अपेक्षा र आशा गरेका छौं ।'

प्रकाशित : श्रावण २४, २०७७ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?