कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

महाधिवेशन गरौं र अध्यक्ष बनौं, चुनावमा जाउँ र प्रधानमन्त्री बनौं : नेम्वाङ

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपाभित्रको सत्तासंघर्ष तत्कालका लागि मत्थर भएजस्तो देखिन्छ । पार्टी विभाजन हुने हो कि भन्नेगरी देखिएको विवाद मत्थर भए पनि टरिसकेको भने छैन । अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट केपी शर्मा ओलीलाई राजीनामा दिन स्थायी कमिटी बैठकमा विषय प्रवेश गराउने नेताहरू पछिल्लो समय एउटा पदबाट मात्रै राजीनामा दिए विवादले निकास पाउँछ भन्न लागेका छन् ।

महाधिवेशन गरौं र अध्यक्ष बनौं, चुनावमा जाउँ र प्रधानमन्त्री बनौं : नेम्वाङ

प्रधानमन्त्रीले हतारमा संसद अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउने भनेर दिएको चेतावनीले उत्कर्षमा पुगेको विवाद मिलाउनमा समाधानका लागि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसामू मंसिरमा 'अर्ली महाधिवेशन' गर्ने र त्यसबाट एकल अध्यक्ष बन्न प्रस्ताव गरेको सार्वजनिक भयो । तर, अहिलेको अवस्थामा अर्ली महाधिवेशनको सम्भावना कम रहेको नेकपाका नेताहरू बताइरहेका छन् ।

नेकपा संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले महाधिवेशन गर्नेमा कुनै पनि नेतामा अहसमति नरहेको बताएका छन् । उनले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा नदिने बताएका छन् । 'महाधिवेशन गरौं अर्को अध्यक्ष आउन सक्नुहुन्छ, ल्याउँ । संविधान बमोजिम निर्वाचनमा जाउँ, अर्को प्रधानमन्त्री चुनौं,' उनले भने ।

पार्टी सचिवालयमा रहे बाहेकका नेताबाट प्रधानमन्त्री बनाउनुपर्ने र त्यसका लागि उपयुक्त पात्र नेम्वाङ भएको प्रस्ताव ओलीले गरेको भन्ने सार्वजनिक भएको थियो । त्यसमा नेम्वाङको भनाइ थियो, 'यसतर्फ मैले पटक्कै सोचाइ राखेको छैन । अहिले यो सान्दर्भिक कुरा पनि होइन । अहिले हामी देश र जनताको हितमा एकताबद्ध भएर लाग्ने हो । यो विषयमा छलफल गरेर हामीले अगाडि बढ्ने बेला होइन ।'

नेकपाको विवाद मिलाउनका लागि र पार्टी एक बनाएर अगाडि बढाउनका लागि अध्यक्षद्वय ओली र दाहाल मिल्नुको विकल्प नभएको नेम्वाङको भनाइ छ । आगामी महाधिवेशन पहिल्यै दुईमध्ये एउटालाई पदबाट हटाउन नमिल्ने र त्यसो गरिएमा पार्टी एकतामा असर पर्ने उनले बताए । 'कतिपय कुराहरू टुंगोमा अहिले नै पुग्न नसकिने भएकाले महाधिवेशनबाट टुंगोमा पुर्‍याउछौं र त्यो महाधिवेशन एकताको महाधिवेशन हुन्छ भनेर घोषणा गर्‍यौं । यहीबीचमा एकीकरणको घोषणा गर्नेमध्ये एउटा अध्यक्ष चाहे प्रचण्डको भन्नुस् चाहे केपी ओलीको, उहाँले हट्नुपर्छ भन्दा त्यो एकीकरण प्रक्रियालाई टुंगोमा पुर्‍याउन सहयोग पुग्छ कि पुग्दैन ?,' उनले भने ।

प्रकाशित : श्रावण १०, २०७७ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?