कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मास्क बेचेर समाजसेवा गर्दै ८ वर्षीया बालिका

दीपक परियार

काठमाडौँ — एक छेउमा किताब, अर्को छेउमा मास्क । ३ कक्षा पढ्ने ८ वर्षीया बालिका प्रेन्सा रेग्मी पोखरा बिरौटाको सडक छेउ मास्क बेच्छिन् । विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग गर्ने उद्देश्यले एक सातादेखि उनले मास्क बेच्न थालेकी हुन् ।

मास्क बेचेर समाजसेवा गर्दै ८ वर्षीया बालिका

मास्क बेचेर आउने मुनाफा समाजसेवामा लगाउने उनी बताउँछिन् । यस्तो प्रेरणा भने उनले एक घटनाबाट पाएकी हुन् । बिरौटामा उनका बुवा रामकृष्ण रेग्मी र आमा जयन्तीले स्टेसनरी चलाउँछन् । ५ महिनाअघि प्रेन्सा स्टेसनरीमा थिइन् । २–३ जना बालक कापी किन्न आए । उनले महँगो कापी देखाइन् । ती बालकले महँगो भएको बताए । प्रेन्साले अलि कम मूल्यको कापी देखाइन् । त्यो कापीलाई पनि बालकले महँगो भने । प्रेन्साले ती बालकलाई बुवाआमाको पेसाबारे सोधिन् । बालकले बुवाआमा नभएको जवाफ फर्काए । साथमा पैसा नभएकोले सस्तो कापी पनि ती बालकलाई महँगो लागेको प्रेन्साले बुझिन् ।

त्यतिखेरबाटै उनले चाडबाडमा बुवाआमा र आफन्तले दिने दक्षिणा बचत गर्न सुरु गरिन् । असारसम्म १५ हजार रुपैयाँ पुग्यो । कोभिड–१९ को महामारीमा विद्यालय बन्द भएकोले उनी घरमै बसिन् । उनले घरमै १२ वर्षीय दाइ प्रोग्रेस रेग्मीसँग मिलेर युट्युबमा आफ्नो भिडियो अपलोड गर्न थालिन् । फेसबुकमा राजनीति, शिक्षा, स्वास्थ्यको बारेमा उनले बोलेको भिडियो लाखौं पटक हेरिएको छ । ५ हजार रुपैयाँले मास्क किनेर बेच्ने र मुनाफा समाजसेवामा खर्चने उनले बुवाआमालाई सुनाइन् । बुबा आमाले त्यसमा १५ हजार रुपैयाँ थपिदिए । ३० हजार रुपैयाँको एन–९५ र सर्जिकल मास्क किनेर उनले पसल अगाडि बेच्न बसिन् । सामाजिक सञ्जालबाट उनले आफ्नो अभियानबारे जानकारी दिने गरेकी छन् । एन–९५ उनले ९५ रुपैयाँमा नै बेच्छिन् । सर्जिकल मास्क २ वटाको १५ रुपैयाँ लिन्छिन् । जबकी एन–९५ लाई बजारमा १ सय ५० सम्म पर्छ । औषधि पसलले सर्जिकल मास्क एउटैको १५ रुपैयाँमा बेच्छन् । ‘यस्तो महामारीमा पनि बढी नाफा कमाउने उद्देश्य राख्नु गलत छ,’ उनी भन्छिन्, ‘त्यो देखेर नै सस्तोमा मास्क बेचिरहेकी छु ।’

सामाजिक सञ्जालबाटै थाहा पाएर उनकोमा मास्क किन्नेहरु पुग्ने गरेका छन् । रकम अभावमा मास्क किन्न नसक्नेलाई उनी सर्जिकल मास्क निःशुल्क उपलब्ध गराउँछिन् । प्रहरीलाई पनि उनले निःशुल्क मास्क वितरण गरिन् । उनको अभियानमा बुवाआमाले साथ दिएका छन् । ‘छोरी सानैदेखि पढ्न, नाच्न, नाटक गर्न प्रतिभावान थिइन्,’ उनकी आमा जयन्तीले भनिन्, ‘लकडाउनमा थप प्रतिभा थाहा भयो ।’ आफ्नै उमेरका विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग गर्ने छोरीले इच्छामा साथ दिएको बुवा रामकृष्ण रेग्मीले बताए । ‘उनको बोल्ने खुबीले गर्दा पनि मास्क बिक्री भइरहेको छ,’ उनले भने, ‘सानैदेखि समाजसेवा, राजनीतिमा उनको चासो देखेर हामी अचम्मित छौं ।’


प्रकाशित : असार २७, २०७७ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?