१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बादल कहिले यता कहिले उता !

बबिता शर्मा

काठमाडौँ — पार्टीको झगडामा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलका एक साताको अन्तरमा आएका परस्परविरोधी अभिव्यक्तिको सत्तारुढ दल नेकपाभित्र चर्चा परिचर्चा भएको छ । केही दिनदेखि नेकपामा ओलीविरोधी खेमाका बैठक र भेलामा सहभागी थापाले मंगलबार भने ठीकविपरीत अभिव्यक्ति दिए । थापाका परस्परविरोधी अभिव्यक्तिले नेकपाभित्र चर्किएको सत्ता संघर्षलाई थप रहस्यमयी बनाएको छ ।

बादल कहिले यता कहिले उता !

असार १७ मा ललितपुरको झम्सिखेलमा ओलीविरोधी समूहको भेलामा थापा सहभागी थिए । भेलामा सहभागी नेताहरुका अनुसार थापाले सरकार र पार्टी नेतृत्वबाट ओलीलाई नहटाए देशमा प्रतिक्रान्ति हुने बताएर आफ्नो कित्ता स्पष्ट पारेका थिए । प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई बालुवाटार बोलाएर सरकारको पक्षमा उभिने वा विपक्षमा उभिने कित्ता स्पष्ट गर्न निर्देशन दिएपछि पनि ओलीइतर समूहका छलफलमा थापा सहभागी भए ।

तर, असार २३ मा आफूलाई भेट्न पुगेका ओली निकट नेताहरुसँग थापाले विल्कुलै फरक भनाइ राखेका छन् । राष्ट्रिय सभाका नेकपा प्रमुख सचेतक खिमलाल भट्टराईसहितका केही सांसदसँगको भेटमा थापाले सरकार र पार्टी दुवैतिर नेतृत्व परिवर्तनले पार्टी एकताको भावना भत्किने र प्रतिक्रान्ति हुने धारणा राखेका हुन् । भट्टराईका अनुसार थापाले असार १७ को ललितपुर भेलामा आफूले बोलेका कुरा गुट भित्रबाट कुप्रचार भएको पनि आरोप लगाएका छन् । तर, सचिवालयका एक नेताका अनुसार बुधबार अध्यक्ष दाहालसँगको कुराकानीमा थापाले आफ्नो अडान यथावत रहेको र आफ्नो भनाइलाई गतल प्रचार गरेको प्रष्टीकरण दिएका छन् ।

यसअघि वैशाख १७ को सचिवालय बैठकमा अध्यक्ष दाहालसहित सचिवालयका पाँच नेताले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । उक्त बैठकमा भने थापा ओलीले राजीनामा दिनु नपर्ने पक्षमा उभिएका थिए । यही श्रृंखलाबद्ध विवादमा थापाले आन्तरिक छलफल र भेटमा भिन्दाभिन्दै अभिव्यक्ति दिएका छन् । तर, विगतमा जस्तै पार्टी विवादमा सार्वजनिक अभिव्यक्ति दिनबाट भने उनी बचेका छन् ।त्यसैले थापा निकट नेकपाका एक केन्द्रीय सदस्य भन्छन्, ‘पार्टीभित्र विकसित र फेरबदल भइरहने शक्ति सन्तुलनमा तराजु कता ढल्किएको छ र कता बस्दा सुरक्षित भइन्छ भन्ने हिसाबमै उहाँ चल्ने गर्नु हुन्छ ।'

प्रकाशित : असार २४, २०७७ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?