नेकपा विवाद : शीर्षमाथि दोस्रो पुस्ताको ‘हस्तक्षेप’

बबिता शर्मा

काठमाडौँ — सत्ता र शक्तिसंघर्षले पार्टी विभाजनसम्मको खतरा उत्पन्न भएपछि नेकपाका दोस्रो पुस्ताका नेताहरुले सक्रियता बढाएका छन् । शनिबारसम्म स्थायी कमिटी बैठक स्थगित भएकै बेला दोस्रो पुस्ताका नेताहरु शुक्रबार सहमति जुटाउने प्रयासमा लागेका हुन् ।

नेकपा विवाद : शीर्षमाथि दोस्रो पुस्ताको ‘हस्तक्षेप’

यसका लागि मन्त्री क्वाटरमा भेलादेखि पार्टी मुख्यालयमा धर्नासम्मका गतिविधि भए । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद फराकिलो हुँदै गएपछि दोस्रो पुस्ताका नेताले ‘हस्तक्षेप’ को नीति लिएका हुन् ।

शुक्रबार बिहानै कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालको निवासमा भेला भएका नेताहरुले पार्टी एकता जोगाउन ‘युद्धविराम’का लागि आग्रह गरका थिए ।

मन्त्री घनश्याम भुसालको निवासमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, विष्णु रिमाल, टोपबहादर रायमाझी, मणि थापालगायतका नेताहरु भेला भएर नेतृत्वमाथि दबाब बनाउने योजना बनाएका हुन् ।

बैठकमा सहभागी नेताहरुले ‘पुरानो सहमति कार्यान्वयन वा नयाँ सहमति गरेर भए पनि पार्टी एकता जोगाउनुपर्छ’ भन्ने निष्कर्ष निकालेका छन् । यसका लागि संवाद बढाउन उनीहरुले शीर्ष नेताहरुको ध्यानाकर्षण गराएका छन् । दोस्रो पुस्ताका नेताहरुले छिटो अधिवेशन गरेर पार्टीभित्रको समस्या समाधान गर्न पनि सुझाएका छन् ।

उनीहरुको दाबी छ, ‘पार्टी गम्भीर सङ्कटको मोडमा पुग्न लागेको चिन्तासहित एकता रक्षाका लागि प्रयास थालिएको हो ।’ पार्टी एकता हुँदा जे सहमति भएको थियो त्यसमै टेकेर छलफल सुरु गर्नुपर्छ र त्योभन्दा दायाँ बायाँ गएर पार्टी एकताबद्ध हुन सक्दैन भन्ने उनीहरुको निष्कर्ष छ ।

‘पार्टी एकतालाई बचाउनुपर्छ । स्थिति भड्काउने काम गर्नु हुँदैन । पार्टी एकता हुँदा जे सहमति भएको थियो त्यसमै टेकेर छलफल सुरु गर्नुपर्छ । त्योभन्दा दायाँ बायाँ गएर पार्टी एकताबद्ध हुन सक्दैन । दुई अध्यक्षलाई भेटेर हाम्रोतर्फबाट घनश्याम भुसालजीले यही सुझाव दिनुहुन्छ । आवश्यक परे हामी सबैजना शीर्ष नेताहरुलाई भेटेर सुझाव दिन्छौं,’ छलफल सहभागी स्थायी कमिटी सदस्य मणि थापाले भने ।

उता केन्द्रीय कमिटीका नेताहरूले पनि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जम्मा भएर विवाद तत्काल अन्त्यका लागि शीर्ष नेतालाई दबाब दिएका छन् । शुक्रवार अपराह्न १ बजेदेखि ४ बजेसम्म ५० जना भन्दा बढी केन्द्रीय कमिटी सदस्य र अन्य कार्यकर्ताहरू धर्नामा बसेका थिए ।

‘पार्टी एकता कायम हुनुपर्छ । पार्टी विभाजन हुनु हुँदैन । विधि पद्धतिबमोजिम पार्टी चल्नु पर्‍यो, नेताहरु त्यसबमोजिम अगाडि बढ्नु पर्छ । त्यही दबाब दिन यहाँ भेला भएका हौं,’ नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले भने । गैरेका अनुसार भेलामा स्वेच्छाले केन्द्रीय सदस्यहरु पुगेका छन् ।

पार्टी स्थायी कमिटी बैठक चलिरहेको बेला मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि नेकपा विवाद थप जटिल मोडमा पुगेको थियो । बिहीबार साँझ नै अधिवेशन अन्त्य भएको छ । अधिवेशन अन्तय गरेर प्रधानमन्त्रीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको दाहाल–नेपाल समूहको आंशका छ ।

दाहाल–नेपाल समूह ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ । तर, ओली दुवै पद नछाडने अडानमा छन् । यही टकरावले नेकपा विभाजनको तहमा पुग्न लागेको आंशका पैदा भएको छ । र, यही आंशकाकाबीच एकता जोगाउन दोस्रो पुस्ताको नेताहरुले शीर्ष नेतृत्वमाथि हस्तक्षेप र दबाबको रणनीति लिएका छन् ।

यद्यपि शुक्रबार दुई अध्यक्षबीच बालुवाटारमा करिब तीन घण्टा छलफल भएको थियो । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागि थिए ।

नेता शर्माका अनुसार आजको छलफलमा ठोस सहमति नभएको हुँदा शनिबार बैठक बस्नु अघि फेरी दुई अध्यक्षबीच छलफल गर्ने सहमति भएको छ ।

नेकपा बैठक शनिबारसम्मका लागि स्थगित छ । यहि बीचमा दोस्रो पुस्ताका नेताहरुको हस्तक्षेप र दबाब कति प्रभावकारी हुन्छ? चासोपूर्वक हेरिएको छ ।

प्रकाशित : असार १९, २०७७ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?