लकडाउनमा निगमका जहाज १६ वटा नयाँ गन्तव्यमा पुगे

सुरज कुँवर

काठमाडौँ — कोरोना भाइरसको महामारीका कारण संसारभर सयौं वायुसेवा कम्पनीका हजारौं विमान ग्राउन्डेड भइरहँदा राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगम १६ वटा नयाँ गन्तव्यमा पुगेको छ ।निगमको संस्थागत विभाग प्रमुख अर्चना खड्काका अनुसार, सरकारले चैत ९ गतेदेखि व्यावसायिक उडान रोक लगाएपछि भएका चार्टर उडानमा निगम १६ वटा गन्तव्यमा पुगेको हो ।

लकडाउनमा निगमका जहाज १६ वटा नयाँ गन्तव्यमा पुगे

‘पहिले हामी ९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्देै आइरहेका थियौं,’ प्रवक्ता रहेकी खड्काले भनिन्, ‘यो तीन महिनाको लकडाउनमा निगमका विमान जापानको फुकुओका, अस्ट्रेलियाका ब्रिसबेन, सिड्नी, क्यानबेरा र मेलबर्न, ढाका, माले, रिहाद, जेद्हा, कुवेत, बहराइन, चीनको छाङसा, कुनमिङ, ग्वाङजाउ, बेइजिङ र वुहान पुगेका छन् ।

निगमले यो अवधिमा ११ हजार ६ सय हाराहारी यात्रुलाई सेवा पुर्‍याएको जनाएको छ । त्यसैगरी कार्गोतर्फ नेपालबाट १ लाख ८४ हजार किलोग्राम निर्यात गरेका र १ लाख ९३ हजार किलोग्राम आयात गरेको जनाइएको छ । निगमले यो अवधिमा ८० करोड हाराहारीको कारोबार गरेको जनाएको छ ।

निगमको अपरेशन विभागका निर्देशक दिपुराज जुहार्चनका अनुसार, संसारभर लाखौं उड्डयनकर्मी जागिरबाट निस्कासन भइरहेका बेला निगममा भने ठीकविपरीत अवस्था छ । ‘हामीसँग १ सय हाराहारी पाइलट र १ सय ८० हाराहारी क्याबिन क्रू छन् यो तीन महिनाको अवधिमा हामीले चालकदलका सदस्यबाट ७ सय २ कार्य दिनको सेवा लिइसकेका छौं ।’ उनका अनुसार, यतिबेला निगमका दुइटा वाइडबडी र दुइटा न्यारोबडी गरी चारवटै जहाज उडानमा छन् । उनले अन्य सामान्य दिनको दाँजोमा सबै विमानको उडानको अवधि पनि वृद्धि भइरहेको बताए ।

निगमले उडानमा जाने चालक दलका लागि सोल्टी क्राउन प्लाजामा क्वारेन्टाइन बनाएको छ । उडानबाट आउने चालकदलका सबै सदस्य अनिवार्य रुपमा होटलमा बस्नुपर्छ । ४/५ दिनको उडानपछि निगमले पीसीआर जाँच गरेर मात्रै घर पठाउने गरेको जनाएको छ ।

प्रकाशित : असार १८, २०७७ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?