१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

लकडाउन प्रभाव : सडकमा गीत गाउनेहरु साबुन बनाउँदै

काठमाडौँ — सडकमा गीत गाएर गुजारा चलाउने दृष्टिविहीनहरु अहिले कोरोना महामारीका कारण लकडाउन भएपछि डल्ला साबुन बनाएर गुजारा चलाउन थालेका छन् । टहरामा बसोबास गर्ने सात दृष्टिविहीन परिवारले अहिले डल्ला साबुन बनाउन सुरु गरेको छ । 

लकडाउन प्रभाव : सडकमा गीत गाउनेहरु साबुन बनाउँदै

टेकबहादुर मगरातीले केही वर्षअघि गरिबी निवारण कोषले दिएको तालिममा साबुन बनाउन सिकेका थिए । उनले नै अहिले टहरामा बसेका सबैलाई साबुन बनाउन सिकाइरहेका छन् ।

‘साबुन बनाउन सकिन्छ, तर त्यसका लागि आवश्यक कुरा पकाउन हामी सक्दैनौं,’ उनले भने, ‘पकाइसकेपछि हामी सजिलै बनाउन सक्छौं ।’

उनीहरुले साबुन बनाउन थालेको १५ दिन भयो । त्यस अवधिमा ५०० केजी साबुन बेच्न लगिसकेको उनले बताए । ‘तीनवटा डल्ला भएको साबुनको एउटा प्याकेटको ६९ रुपैयाँ पर्न आउँछ,’ मगरातीले भने, ‘हामीले पसलमा बेच्दा ७५ रुपैयाँमा बेच्छौं ।’ लायन्स क्लबले उपलब्ध गराएको सामानबाट साबुन बनाइरहेको उनले बताए । ‘सुरुवाती चरणमा सहयोग पायौं भने हाम्रो व्यवसाय नै सुरु हुने थियो,’ उनले भने ।

काठमाडौं महानगरपालिकाले सडकमा बस्न, गीत गाउन नपाउने भनेपछि बेसाहारा मानव सेवा आश्रममा र परिवार भएकाहरु घरमै बस्न बाध्य भएका थिए । त्यस्तै सडकमा बस्न नपाउने भनिएपछि फुटपाथमा गीत गाएर गुजारा चलाउने दृष्टिविहीनहरुको रोजीरोटी नै खोसिएको थियो ।

सडक फुटपाथमा गीत गाएर गुजारा चलाउने मगरातीसहित ९ वटा दृष्टिविहीन परिवार उक्त टहरामा बसोबास गर्छन् ।

प्रकाशित : असार १७, २०७७ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?