'मलाई पर्नु पीर कल्लाई परिच'

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि लगाएको लकडाउनले सबै क्षेत्र प्रभावित बनेका छन्। त्यसमा पनि दैनिक ज्याला/ मजदुरी गरेर बिहानबेलुकी गर्जो टार्ने मजदुर वर्गलाई भने लकडाउन लम्बिएसँगै  समस्या पनि थपिँदै गएको छ । 


यस्तै मर्कामा परेका छन् ठमेलमा सारङ्गी बजाउँदै र बेच्दै आएका गन्धर्वहरु । सारङ्गी बजाउने, गीत गाउने र सारङ्गी, बाँसुरी र मर्चुङ्गा बेच्नेहरु दैनिक गुजारा चलाउनै मुश्किल परेको बताउँछन् ।


विगत २५ वर्षदेखि ठमेल क्षेत्रमा सारङ्गी बजाउँदै आएका डम्बर गन्धर्वको कथा पीडादायी छ । ५ जनाको परिवारसहित काठमाडौंमा बस्दै आएका उनी लकडाउनले आम्दानी हुँदैनभएको सुनाउँछन् ।


सधैंभरी आन्तरिक तथा बाहृय पर्यटकले गुल्जार बन्ने ठमेल लकडाउनले मसानघाटजस्तै बनेको छ । पर्यटक कोही नभएकोले आफ्नो कमाई शून्यमा झरेका उनी बताउँछन् । ठमेलमा मात्रै यसरी गुजार चलाउनेहरु दुईदर्जन भन्दा बढी व्यक्तिहरु रहेको उनी सुनाउँछन् ।


सरकारले राहत दिने भनेपनि वास्तविक ज्यालादारीमा का मगर्नेहरुले नपाएको गुनासो गरे ।

प्रकाशित : वैशाख १, २०७७ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकामा 'फ्रन्टलाइन'मा खटिएकी शिखाको अनुभव-'परिवारले जागिर छोड भने'

'कोरोनाविरुद्धको संघर्षमा म पनि एउटा हिस्सा हुन पाएकी छु। बिरामीहरु परिवारका सदस्यजस्तै हुन्। त्यसैले दिलोज्यान दिएर उपचार सेवामा खटिएकी छु।'
बुनु थारु

काठमाडौँ — अमेरिकाको सियाटलमा पहिलोपटक कोरोना भाइरस (कोभिड-१९) का बिरामी फेला परेका थिए। कोभिडबाट सबैभन्दा बढीको मृत्यु हुने देशमा अमेरिका नै पहिलो नम्बरमा छ। विश्व स्वास्थ्य संगठनका अनुसारका हाल अमेरिकामा कोभिडबाट ज्यान गुमाउनेको संख्या साढे १८ हजार नाघिसकेको छ। संक्रमितको संख्या ५ लाख पुग्न लागेको छ। 

विश्वभर कोभिड-१९ का बिरामीको उपचारमा ज्यानको बाजी थापेर स्वास्थ्यकर्मीहरु अहोरात्र खटिइरहेका छन्। अमेरिकाको युनिभर्सिटी अफ वासिङ्टन हार्बरभ्यु मेडिकल सेन्टरमा कार्यरत 'नर्स प्राक्टिसनर' हुन् शिखा भारती। कोभिड-१९ का संक्रमितको उपचारमा 'फ्रन्टलाइन'मा खटिएकी उनले कान्तिपुरकी बुनु थारुलाई आफ्नो अनुभव यसरी सेयर गरिन् :

मेरो घर झापाको बिर्तामोड हो। कालिपोङको सेन्ट जोसेफ कन्भेन्ट स्कुलको पढाइ सकेर मैले अमेरिकाबाट ब्याचलर अफ साइन्स इन नर्सिङमा अध्ययन सकाएँ। सन् २०१४ देखि २०१६ सम्म अंकोलोजी नर्सको रुपमा काम गरेँ। त्यसपछि अफ्रिकाको केन्यामा भोलिन्टियर बनेँ। त्यसबेला म एचआईभी संक्रमित बालबालिका तथा महिलाको रेखदेखमा खटिएकी थिएँ।

मैले अमेरिकाको कार्सोन न्युमेन युनिभर्सिटीबाट फ्यामिली मेडिसिनमा मास्टर्स गरेकी छु। मास्टर्स सिध्याएपछि पछिल्लो वर्ष अमेरिकामा मेडिसिन अभ्यास गर्ने लाइसेन्स प्राप्त गरेको हो। गएको मार्च २ देखि युनिभर्सिटी अफ वासिङ्टन हार्बरभ्यु मेडिकल सेन्टरमा कायर्रत छु। काम थाल्नेबित्तिकै कोभिडका बिरामीको उपचारमा खटिएकी छु। म यहाँ पोस्ट एक्युट मेडिसिन टिममा इन्‍टरनल मेडिसिन प्रोभाइडरका रुपमा कार्यरत छु ।

जोखिमसँगै अवसर पनि
फ्रन्टलाइनमा बसेर कोभिडका बिरामीको उपचारमा काम गर्ने हामी उच्च जोखिममा नै हुन्छौं। डर र चिन्ता त अवश्य लाग्छ। किनकि विश्वभर महामारी फैलिएको छ। हरेक दिन काममा जानुपर्ने हुन्छ। कहिले संक्रमितको घेरामा पर्न सक्ने हो टुंगो हुँदैन। तर मैले यसलाई अवसरको रुपमा पनि लिएकी छु।
सुरुको केही साता त चिन्ताको बीच पनि काम गर्दा हामी निकै उत्सुक पनि थियौं । अहिले हामीले आफ्नो ड्युटी राम्ररी निभाएका छौं। सौभाग्यवश हामी त्यस्तो जोखिममा परेका छैनौं। हरेक दिन ड्युटीमा जाँदा आज के होला, कति नयाँ केस आउलान् भनेर सोच्छु। आफू र आफ्नो टिमको सदस्यलाई कसरी सुरक्षित राख्ने होला भन्ने लागिरहन्छ। आफूलाई कसरी जोखिमरहित बनाउनेमा ध्यान पुर्‍याइरहेकी हुन्छु।

बिरामीको अनुहार देख्दा मन खिन्न हुन्छ
हाम्रो अस्पतालमा धेरै जना ज्येष्ठ नागरिक नै छन्। प्राय: दीर्घरोगी हुन्छन्। उनीहरु शारीरिक रुपमा कमजोर मात्र होइन मानसिक रुपमा पनि सबल छैनन्। उनीहरुलाई विशेष केयर चाहिन्छ। धेरै बिरामीमा कोभिडको भयले सताइरहेको हुन्छ। धेरै दिनसम्म परिवारलाई भेट्न पाएका हुँदैनन्। एक्लो महसुस गर्छन्। धेरैले त खाना खान मान्दैनन्। सिसा लगाइएको झ्यालबाट आफ्नो परिवारका सदस्यसँग नरमाइलो मानेर गफ गर्छन्। एक जना आमा त छोरीलाई भेट्न नपाएर एकदमै निराश भएकी थिइन्। उनलाई झ्यालबाट फोनमा छोरीले फकाइफकाइ खाना खुवाइदिएको सम्झिन्छु। अस्पतालमा हरेक दिन यस्तै नयाँ पात्र तथा कथाहरु भेटिने गर्छन्। त्यस्तो दृश्यले मन खिन्न भइदिन्छ।

संकटको बेला 'ड्युटी आवर' भन्ने हुन्न
यस्तो संकटको बेला हामीलाई ठ्याक्कै यति नै घन्टा ड्युटी गर्नुपर्छ भन्ने छैन। हामी त अहिले स्वयंसेवक जस्तै खटिइरहेका छौं। जतिबेला पनि कोभिडको हटस्पटमा कुद्नुपर्ने हुन्छ। कति बिरामी भर्ना हुन्छन् र बिरामीको अवस्था कस्तो छ भन्नेमा हाम्रो ड्युटी निर्भर हुन्छ। विश्वव्यापी महामारीलाई अन्त्य हुन केही समय लाग्छ तर रोकिएला भन्ने विश्वासका साथ काम गर्छौं। मेरो टिम राम्रो छ। काम गर्दा सहज पनि हुन्छ। न्युयोर्कको जस्तो सियाटलमा त्यति धेरै संकट छैन। यद्यपि अमेरिकामा पहिलोपटक यही ठाउँबाट देखिएको हो। बिस्तारै जोखिम घट्छ भन्ने लागेको छ।

हाम्रो मेडिकल सेन्टरमा अरु थप चार वटा अस्पताल रहेका छन्। राज्यको अस्पताल भए पनि यहाँ उपचार महँगो छ। कोभिडको बिरामीलाई निःशुल्क उपचार छैन तर केही सहुलियत भने हुन्छ। कोहीको इन्स्योरेन्सले काम गर्छ। आर्थिक अवस्था कमजोर हुने तथा उमेर हेरीकन पनि सहुलियत दिइन्छ। बेघर मान्छेहरु पनि यहाँ थुप्रै छन्।

आफ्नो सुरक्षा, त्यसपछि अरुको
सुरुमा त टेलिमेडिसिन सेवाझैं घरबाटै काम गर्ने होला भन्ने पनि थियो। पछि त्यस्तो भएन। फ्रन्टलाइनमै आएर काम गर्नुपर्छ भन्ने कुरा आयो। आफू स्वस्थ्य तथा जोखिमरहित भएमात्र अरुलाई राम्ररी स्याहार गर्न सकिन्छ। यस कुरामा सजगता अपनाउँछु। सावधानी अपनाइरहेको हुन्छ। कारको डिक्कीमा अस्पतालमा लगाएको लुगा राख्छु। आउनेबित्तिकै नुहाउँछु।

अहिले त मेरो दैनिकीमा धेरै परिवर्तन भइसक्यो। महामारीको अवस्थामा कसरी यसलाई डिल गर्ने भन्ने दिमागमा हुन्छ। अनुभव लिइरहेको छु। जुधिरहेकी छु। श्रीमान्‌ले पनि सपोर्ट गर्नुहुन्छ। थाकेर आउँदा फ्रेस पकाएर खुवाउनुहुन्छ। उहाँ नभएको भए जंक फुड नै खानुपर्थ्यो होला। फुर्सद पाइहालेमा घर नजिकैको लेकसाइडमा टहलिन जान्छु। हाँसहरु छन्, दाना खुवाउँछु आनन्द लाग्छ। मुड फ्रेस बनाउन कहिलेकाहीँ फिल्म हेर्छु।

परिवारले 'जागिर छोड' भने
परिवारका सदस्यहरु चिन्ता गर्नुहुन्छ। ७५ वर्षीया हजुरआमाले नेपालबाट हरेक दिन मसँग कुरा गर्नुहुन्छ। जताततै कोरोना भाइरसको चर्चाले उहाँ निकै आत्तिनुभएको छ। मेरो हालखबर सोधिरहनुहुन्छ। ठिक छु चिन्ता नलिनु भनेर सम्झाउने गरेको छु। परिवारका सदस्यले 'घरबाटै काम गर्नु, घरमै बस्नु' भन्छन्। 'यस्तो डरलाग्दो अवस्थामा किन अस्पताल जानु? बरु जागिर नै छोड' पनि पनि भने।

हुन त उहाँहरुको ठाउँमा भएको भए म पनि त्यसरी नै सोच्थेँ होला। डर तथा चिन्ता लाग्नु स्वाभाविक हो। मेरो त बिरामीलाई सेवा दिने ड्युटी हो भनेर सम्झाउँछु। उहाँहरुसँग भिडियो च्याट तथा मेसेन्जरमा नियमित कुरा गरिरहेको हुन्छु। तपाईंहरुकी नातिनी अनि छोरीले पनि केही योगदान दिँदै छे भनेर सम्झाउन खोज्छु। मलाई वास्तवमै खुसी लाग्छ। कोभिडविरुद्धको संघर्षमा म पनि एउटा हिस्सा हुन पाएको छु।आफूले नियन्त्रण गर्ने सक्ने कुरा गर्ने हो। त्यसभन्दा बढी त के गर्ने सकिन्छ र। परिवार पहिलो प्राथमिकता हुन् तर बिरामी पनि परिवारजस्तै लाग्छ। त्यसैले दिलोज्यान दिएर यसमा होमिएकी छु।

पीपीईको अभाव
काम गर्दै जाँदा एकदिन हाम्रो टिमले नै 'रोयटर्स'मा फिचर्ड हुने अवसर पायो। यस्तो अवसर आउला भनेर सोचेको पनि थिइनँ। साथीभाइ तथा इष्टमित्रले हौसला दिनुभएको छ। फ्रन्टलाइनमा काम गर्ने मान्छेलाई पक्कै गाह्रो हुन्छ। अहिले अरुले चिनिरहेका छन्। हाम्रो काम बुझिदिएका छन्। सबैले कामको प्रशंसा गर्नुभएको छ। यही खुसीले काममा लाग्न थप प्रेरणा मिलेको छ।
पीपीई त हामीले पाएका छौं तर पर्याप्त छैन। विश्वभर नै पीपीई लगायत स्वास्थ्यकर्मीका लागि अन्य सुरक्षा सामग्रीको अभाव भइरहेको छ। कहिलेकाहीँ हामीले पनि लगाएको मास्क पुनः प्रयोग गर्नुपर्ने हुन्छ। टाउको छोप्ने प्लास्टिको सिल्ड पुनः प्रयोग गर्ने बनाइएको छ। सुरुमा त्यति थिएन अहिले अलि राम्ररी पुगेको छ।

आशा राखौं महामारीको अन्त्य हुन्छ
आफ्नो कामलाई नयाँ अनुभवको रुपमा लिइरहेको छु। यस्तो अवस्था आउँछ भनेर कसले पो सोचेको थियो र! भोलि के हुन्छ थाहा हुन्न। हामी सबै स्वास्थ्यकर्मी आफ्नो कामप्रति तल्लीन भएर लागिरहेका छौं। सबैका परिवार छन्। कसैका बच्चाबच्ची छन्। तर जतिसुकै चुनौती र डरको बाबजुद पनि एक दिन राम्रो हुन्छ भन्ने आशा राख्ने हो। लकडाउनको पालना गरेर घरमै सुरक्षित बस्नुपर्छ। पूरै विश्व यो महामारीलाई अन्त्य गर्न मिलेर लागिपरेका छन्। त्यसैले आशा गरौं एक दिन हामीले कोभिडविरुद्ध जित हासिल गर्नेछौं। हरेक दिन अँध्यारो हुन्छ तर त्यसले उज्यालोको प्रतीक्षा गरिरहेको हुन्छ। सुनौलो बिहानी अवश्य आउनेछ। त्यसका लागि आफ्नो तर्फबाट के सहयोग गर्न सकिन्छ सबैले गरौं।

म जस्तै अरु स्वास्थ्यकर्मी पनि अमेरिकाको न्युयोर्क, क्यालिफोर्नियाजस्ता राज्यमा रहेर काम गरिरहेका छन्। उनीहरुले पनि उत्तिकै योगदान दिइरहेका छन्। हरेक ठाउँका स्वास्थ्यकर्मीहरुको उस्तै भोगाइ हो। नेपालका स्वास्थ्यकर्मीहरु पनि निकै मेहनतका साथ लाग्नुभएको छ। उहाँहरुको कामप्रति समेत मेरो उत्तिकै सम्मान छ।

प्रकाशित : वैशाख १, २०७७ १५:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×