कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

'प्रधानमन्त्रीलाई संगीतको धेरै ज्ञान रहेछ'

स्वरूप आचार्य

काठमाडौँ — प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपण गरेसँगै उनको रेखदेखको जिम्मा प्रा.डा. आचार्यको नेतृत्वमा डा. प्रमेशसुन्दर श्रेष्ठ, डा. हेमराज पनेरु, डा. सौरभ प्रधानका साथै लिभर आईसीयूका नर्सको टोलीले सम्हालेको थियो । सफल उपचारपछि प्रधानमन्त्री ओलीलाई बालुवाटार फर्काउन पाउँदा आचार्यको अनुहारमा सन्तुष्टिको भाव देखिन्थ्यो ।

'प्रधानमन्त्रीलाई संगीतको धेरै ज्ञान रहेछ'

बालुवाटारबाट फर्किएपछि उनले भने, ‘कुनै पनि आईसीयूमा भएको बिरामी निको भएर घर फर्कियोस् भन्ने हाम्रो आशा हुन्छ । त्यसमा पनि देशको प्रधानमन्त्रीलाई डिस्चार्ज गरेर निवासमा फर्काउन पाउँदा त खुसी लाग्छ नै ।’

उनकै नेतृत्वमा शिक्षण अस्पतालमा नेपालमै क्रिटिकल केयर विधाले नयाँ आयाम पाएको छ । क्रिटिकल केयरका विज्ञ भएकाले केही महिनाअघि प्रधानमन्त्री ओलीको एपेन्डेक्टोमी र ल्याप्राक्टोमी गरेका बेला पनि उनले रेखदेख गरेका थिए । ‘अहिलेभन्दा त्यो बेला प्रधानमन्त्रीज्यूको अवस्था निकै गम्भीर थियो । त्यो अचानक आइपरेको अवस्था थियो,’ उनले भने, ‘अहिले त हामीले के गर्ने भनेर पहिले नै छलफल गरेर निर्णय गरिसकेका थियौं ।’


यो पनि पढ्नुहोस् : एकला चलो रे...


प्रधानमन्त्रीको रेखदेखमा खटिँदाको दबाबपछि केही राहतको श्वास फेरेका उनले सामान्य आईसीयूभन्दा एलआईसीयूमा राख्नुपछाडिका कारण पनि बताए । उनका अनुसार प्रधानमन्त्रीलाई अन्य बिरामीभन्दा अलग राखेर उपचार गर्दा नै सहज हुने भएकाले एलआईसीयू चयन भएको थियो । कुनै पनि संक्रमणको जोखिमबाट मुक्त राख्न पनि त्यस्तो निर्णय लिइएको उनले सुनाए । ‘एलआईसीयूमा हेपा फिल्टरदेखि आईसीयूका लागि आवश्यक सबै प्रविधि उपलब्ध छ । त्यहाँ कार्यरत नर्सिङ स्टाफ पनि प्रत्यारोणका बिरामीलाई आवश्यक सेवाबारे तालिम प्राप्त हुनुहुन्छ,’ उनले भने, ‘प्रधानमन्त्री नै भएपछि उहाँको सुरक्षा र गोपनीयताको कुरा आउँछ । सबै खुला भएको आईसीयूमा राखेर त त्यस्तो सेवा दिन सकिँदैन नि ।’

ओलीले जुन आईसीयूमा १० दिन बिताए, सुरक्षाका हिसाबले त्यहाँ पुग्न अस्पतालकै कार्यकारी निर्देशकलाई पनि मुस्किल थियो । ‘हामीलाई बरु प्रधानमन्त्रीको अगाडि पर्दा त्यति दबाब महसुस हुँदैन थियो, जति बाहिर सहकर्मी तथा मिडियाका साथीलाई फेस गर्दा हुन्थ्यो,’ प्रा.डा. आचार्यले भने, ‘प्रधानमन्त्रीको कुन ल्याब रिपोर्टमा के आयो भनेर सबै अंकमा जान्न चाहन्थे । समग्रमा त्यो ठीक होला तर सबै त बाहिर भन्न मिल्दैन । त्यसैले त्यो सुरक्षा आवश्यक थियो ।’


ओलीलाई दुई पटक आईसीयूमा रेखदेख गरेका आचार्यको अनुभवमा पनि प्रधानमन्त्री निकै सजिला बिरामीमा पर्छन् । ‘उहाँको उपचारमा संलग्न रहँदा कहिल्यै दबाब महसुस भएन,’ उनले भने, ‘उहाँ सबैसँग खुलेर बोल्नुहुन्थ्यो । गफ गर्नुहुन्थ्यो ।’ संक्रमणमुक्त राखेर डिस्चार्ज गर्ने जिम्मा लिएका उनले एलआईसीयूमा सात दिनसम्म कुनै पनि बाहिरी सूचना प्रधानमन्त्रीलाई दिन बन्देज लगाएका थिए । प्रत्यारोपणको सात दिनपछि मात्रै मनोरन्जन होओस् भनेर दैनिक क्रियाकलापपछि आराम गर्ने समयमा संगीत सुन्न दिएका थिए ।

डिस्चार्ज हुनु केही समयअघि मात्रै प्रधानमन्त्रीलाई आइप्याड चलाउन दिइएको थियो । ‘सात दिनपछि संगीत सुन्न दिएका थियौं,’ उनले भने, ‘प्रधानमन्त्रीले सुन्न रुचाउने गाना नर्सिङ स्टाफले मोबाइलमा बजाइदिन्थे ।’ प्रधानमन्त्रीले कस्ता प्रकारका गीत बढी सुन्न रुचाउँथे भन्नेबारे उनले केही बताउन चाहेनन् ।


प्रकाशित : चैत्र २, २०७६ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?