बुबाले पढाए, छोराले अपरेसन गरे – डा.उत्तम शर्मा

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालको यूरोलोजी विभागका प्रमुख प्रा.डा. उत्तम शर्मा मिडियामा आउन त्यति रुचाउँदैनन् । अहिले भने उनलाई मिडियाले यति धेरै पछ्याइरहेको छ कि उनलाई क्यामराको लेन्स र प्रश्नहरुबाट छेको पर्न निकै कठिन भइरहेको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे रिपोर्टिङका क्रममा बिहीबार साँझ अस्पताल पुग्दा उनीसँग कार्यकारी निर्देशकको कोठा अगाडि जम्काभेट भयो। हामीले उनलाई अन्तर्वार्ताका लागि आग्रह गर्‍यौं। उनी तयार भए।


सन् २००८ मा शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएदेखि नै उनी लगभग हरेक प्रत्यारोपणमा सहभागी छन्। यस्तोमा प्रधानमन्त्री ओलीको प्रत्यारोपणका लागि गरिएको शल्यक्रिया पनि उनकै नेतृत्वमा भएको थियो।प्रा.डा. उत्तम शर्मासँग कान्तिपुरकास्वरूप आचार्यले गरेको कुराकानी। प्रकाशित : फाल्गुन २३, २०७६ २१:२२

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘प्रत्यारोपणमा भारतीय चिकित्सक सामेल गराउने निर्णय प्रधानमन्त्रीकै हो’

स्वरूप आचार्य

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालको यूरोलोजी विभागका प्रमुख प्रा.डा. उत्तम शर्मा मिडियामा आउन त्यति रुचाउँदैनन् । अहिले भने उनलाई मिडियाले यति धेरै पछ्याइरहेको छ कि उनलाई क्यामराको लेन्स र प्रश्नहरुबाट छेको पर्न निकै कठिन भइरहेको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे रिपोर्टिङका क्रममा बिहीबार साँझ अस्पताल पुग्दा उनीसँग कार्यकारी निर्देशकको कोठा अगाडि जम्काभेट भयो। हामीले उनलाई अन्तर्वार्ताका लागि आग्रह गर्‍यौं। उनी तयार भए।

सन् २००८ मा शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएदेखि नै उनी लगभग हरेक प्रत्यारोपणमा सहभागी छन्। यस्तोमा प्रधानमन्त्री ओलीको प्रत्यारोपणका लागि गरिएको शल्यक्रिया पनि उनकै नेतृत्वमा भएको थियो।प्रा.डा. उत्तम शर्मासँग कान्तिपुरका स्वरूप आचार्यले गरेको कुराकानी:

शल्यक्रियापछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अहिले कस्तो छ?
प्रत्यारोपणपछि बिरामीको शरीरका प्यारामिटर्स (सूचकांक)हरु सामान्य छन्। बिरामीसँग हामीले कुराकानी गर्दा उहाँहरुले दिने जवाफ, शारीरिक प्रतिक्रियालगायत बायोकेमिकल प्यारामिटर्सहरु सबै हेर्नुपर्ने हुन्छ। त्यो सबै राम्रो छ। त्यसबाट हामी सन्तुष्ट छौं।

प्रधानमन्त्रीमा प्रत्यारोपण गरिएको मिर्गौलाले कसरी कार्य गरिरहेको छ?
हामीले अपेक्षा गरेअनुरुप नै पिसाब भइरहेको छ।

प्रधानमन्त्रीलाई मिर्गौला दिने दाताको अवस्था के छ?
उहाँको अवस्था पनि निकै राम्रो छ। उहाँ मेरो मामालाई कस्तो छ भनेर सोधिरहनुहुन्छ।

प्रधानमन्त्रीले नेपालमा त्यो पनि शिक्षण अस्पतालमा दोस्रो मिर्गौला प्रत्यारोपण गर्ने निर्णय सार्वजनिक गरेपछि मिश्रित प्रतिक्रियाहरु आइरहेका थिए। अन्तिममा तपाईंहरुले सफल प्रत्यारोपण गरेर देखाइदिनुभयो। कतिको चुनौतिपूर्ण थियो त्यो समय?
हाम्रो यो अवसर र चुनौतिको घडी थियो। हामीले यस संस्थामा २००८ मा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेपछि निरन्तर प्रत्यारोपण गर्दै आइरहेका छौं। हामीले ६ सयभन्दा बढी प्रत्यारोपण गरिसक्यौं। हाम्रो सफलताको दर निकै राम्रो छ र त्यो अन्तर्राष्ट्रिय मापदण्डअनुरुप छ। त्यसैले हामीमा त्यो ‘स्प्रिट’ थियो, छ र भोली पनि रहने छ। त्यो हिसाबले हामी एकदमै सक्षम छौं।
प्रधानमन्त्रीज्यूले जसरी यो स्थान चयन गर्नुभयो त्यसको लागि हामी यति खुसी र गौरवान्वित छौं त्यसको सीमा नै छैन। हामीले जुन दिन यो देशमा प्रत्यारोपण सुरु गर्‍यौं त्योभन्दा दुई गुणा हर्षित आज छौं।

कतिको दबाब थियो उहाँको शल्यक्रिया गरिरहँदा। मनमा, मस्तिष्कमा के चलिरहेको थियो?
जुनसुकै बिरामीको शल्यक्रिया गर्दा पनि दबाब त हुन्छ नै। नतिजा के आउँछ भन्ने सधैं तनाव भइरहन्छ। दाताको अवस्था के हुन्छ? त्यो सधैं दिमागमा चलिरहन्छ। पहिला त बिरामीको ज्यान जोगिनु पर्‍यो त्यसपछि मिर्गौलाको कुरा आउँछ। त्यसमा पनि प्रधानमन्त्रीले यति धेरै विश्वास गरेर आइसकेपछि अर्को थप दबाब त सिर्जना हुने नै भयो। ती सबै दबाब र तनावकाबीच हाम्रो टिमले जुन तरिकाले कार्य गर्‍यो त्यो आफैंमा तारिफयोग्य छ।

प्रधानमन्त्रीको तीन महिनाअघि मात्रै एपेन्डिसाइटीसका कारण ठूलो शल्यक्रिया गरिएको थियो। अहिले फेरि मेजर सर्जरी भएको छ। यो सबै अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ?
त्योभन्दा पनि अगाडि जाउँ। उहाँले पहिला पनि प्रत्यारोपण गराइसक्‍नुभएको थियो। इम्युनो सप्रेसेन्ट औषधिहरु सेवन गरिरहनुभएको थियो। शरीरमा संक्रमणका जोखिम बढिरहेका थिए। त्यसमा पनि एपेन्डेक्टोमी गरियो। त्यो जोखिम पनि पार गरेर आउनुभयो। त्यसपछि प्रत्यारोपण पूर्वका लामो परिक्षण प्रक्रियामा जानुभयो। डायलासिस भयो। त्यो सबैपछि उहाँ यस्तो स्थिर अवस्थामा आइपुग्नुभयो हामीले कहीँकतैबाट प्रत्यारोपणका लागि उपयुक्त छ भन्नेमा शंकै रहेन।

एपेन्डेक्टोमीपछि पनि प्रधानमन्त्री ओली चाँडै रिकभर हुनुभयो। नियमित डायलासिस हुँदा पनि आफ्नो दैनिक कार्यमा सहभागी भइरहनुभएको थियो। के साँच्चै उहाँको इच्छा शक्तिले पनि कुनै भूमिका खेलेको छ?
यो मेरो व्यक्तिगत विचार हो। उपचारमा एउटा वैज्ञानिक पाटो हुन्छ, अर्कोतर्फ बिरामीको मनोबलको पाटो हुन्छ। मनोबल भनेको अदृश्य पाटो हो। बिरामी आतंकित भइरहेको छ भने हामीलाई उपचार गर्नै अप्ठेरो हुन्छ। बिरामीमा जोश छ, गर्छु भन्ने हिम्मत छ, सकारात्मक सोच छ भने हामीलाई पनि उत्साह मिल्छ।

भनेपछि उहाँको इच्छा शक्ति दह्रो छ?
विल पावर राम्रो छ भन्ने कुरा शल्यक्रियाभन्दा दुईदिन अगाडि उहाँलाई भेट्दा मैले महसुस गरेको हुँ। शल्यक्रियाका लागि उहाँको परीक्षण गरिरहेको बेला कुराकानी हुँदा उहाँले हौसला दिँदै भन्नुभयो– ‘नआत्तिनुस् है।’ मैले भने– ‘हामी आफ्नो बेस्ट दिन्छौं, बेडमा सुतिसकेपछि तपाईं हाम्रो लागि अरु बिरामी सरह नै हो।’



तपाईंहरुको शल्यक्रिया टिममा एकजना भारतीय विज्ञ चिकित्सक पनि सामेल हुनुहुन्थ्यो। तपाईंहरुले आफैं सक्षम छौं भनिरहँदा किन बाहिरको विज्ञलाई सामेल गराइयो भन्ने प्रश्न उठेको छ। के भन्नुहुन्छ?
उहाँ एकदमै राम्रो सर्जन हो। म उहाँको सहभागितालाई निकै सकारात्मक रुपमा लिन्छु। म कुनै अप्रेसन गर्दैछु भने मेरै सहकर्मी आएर मलाई हामी मिलेर गरौं भन्छ भने पनि म खुसी हुन्छु। यस्तोमा ‘टू हेड्स आर बेटर द्यान वान हेड’ (एउटा दिमागभन्दा दुइटा दिमागले सोचेको राम्रो हुन्छ)।
अस्पतालहरुमा छुट्टाछुट्टै हिसाबको उपचारको ट्रेन्ड चलिरहेको हुन्छ। दुवैले राम्रो गरिरहेका हुन्छन्। त्यस्तोमा कोचाहिँ अब्बल त भन्ने पनि प्रश्न उठ्छ। तर कोभन्दा को ठूलो भनेर एकअर्कालाई सहयोग गर्ने होइन कि बरु मिलेर अझ राम्रो गरौं भन्ने हुन्छ।
प्रधानमन्त्रीजस्तो व्यक्तिको शल्यक्रिया गर्दा अझ राम्रो गरौं भन्ने लाग्नु स्वभाविक हो। त्यसमा पनि १२ वर्ष अघि पहिलो प्रत्यारोपण गरेको व्यक्तिलाई पनि सहभागी गरौं भन्ने उहाँले चाहना राखेपछि हुन्न भन्ने कुरै आउँदैन। जसले पनि आफूलाई एकदमै अप्ठेरो परेको बेला सहयोग गरेको व्यक्तिलाई बिर्से पनि फेरि दुःख परेको बेला सम्झिन्छ।
बाहिर मान्छेले विभिन्न कुरा गर्न सक्लान् तर, मुख्य कुरा के हो भने उहाँ एकदमै सक्षम चिकित्सक हो। त्यसमा दुईमत छैन। हामीले देख्यौं उहाँले गरेका कामहरु एकदमै उत्कृष्ट। म त त्यसमा पनि गौरव गर्छु।

उहाँ तपाईंहरुलाई यहाँ साथ दिन मात्रै आउनुभएको थियो?
होइन, उहाँ सक्रियरुपमा शल्यक्रियामा पनि सहभागी हुनुहुन्थ्यो। कसैले अन्यथा भन्छ भने त्यो गलत हो। अब म यसमा योभन्दा बढी बोल्न चाहन्नँ।

अहिलेको अवस्थालाई हेरेर भन्दा प्रधानमन्त्रीज्यूको रिकभरी पिरियड कति लामो हुनसक्छ? उहाँले के के कुरामा ध्यान दिनुपर्छ अब?
साधारणतया हामी बुधबार प्रत्यारोपण गर्छौं र आइतबार/सोमबार पिसाबनलीको जोडिएको पाइप निकाल्छौं। किनकी त्यो धेरै दिन राख्नु पनि जोखिमपूर्ण हुनसक्छ। मंगलबारतिर हामी कि त डिस्चार्ज गर्छौं कि अर्को कोठामा सार्छौं। पाँचदेखि सात दिन त हेर्छौं नै। एउटा स्थिर अवस्था आएपछि मात्रै डिस्चार्ज गर्ने हो। यो बीचमा उहाँको प्यारामिटर्सहरु कत्तिको जान्छ, उहाँको अवस्थाले कस्तो मोड लिन्छ त्यो हेर्नुपर्छ। किनभने शरीरले पहिला त बिग्रेको कुरालाई बनाउनुपर्‍यो अनि न अगाडि बढ्ने हो।
त्यसपछि उहाँले ख्याल गर्नुपर्ने भनेको भीडभाडमा जानु भएन। अनि औषधि, खानपिन सबैमा ध्यान दिनुपर्‍यो। यस्तै समयसमयमा चिकित्सकलाई देखाउनु पनि पर्छ। लगभग तीन महिनाको अवधि उहाँको लागि जोखिमपूर्ण नै हुन्छ। फेरि यसको मतलब उहाँले कामै गर्न सक्नुहुन्न भन्ने होइन। बसेर आफ्नो औपचारिक कार्यहरु गर्न सक्नुहुन्छ। गह्रौं काम पो नगर्ने हो त सरल काम त गर्न सकिन्छ। कुनै पनि बिरामीले गर्न सक्छ।
कतिपय कुरा चिकित्सकका रुपमा मैले भनेर मात्र पनि हुँदैन होला, राजनीतिक आवश्यकता पनि होला, त्यसमा मेरो भन्नु केही छैन। उहाँलाई नेफ्रोको टीमले पहिला पनि हेरिरहनुभएको थियो, अब पनि हेर्नुहुन्छ।

मैले कतैबाट तपाईंको बुबाले प्रधानमन्त्रीज्यूलाई पढाउनुभएको थियो भन्ने सुनेको थिएँ। के त्यो सत्य हो?
यो सत्य हो। मेरो बुबा बित्नुभयो। तर उहाँले कुरा गर्नुहुन्थ्यो। म झापाको हो, मेरो बुबा हेडमास्टर हुनुभएको स्कुलमा उहाँ पढ्नुहुन्थ्यो। यसबारे अस्ति हामी बस्दा पनि कुरा गर्‍यौं। उहाँलाई सबैकुरा याद रहेछ। त्यो देखेर म दंगै परें। मैले उहाँलाई पहिला नै भेट्न खोजेको थिएँ। तर मिलेको थिएन। जब भेटेर कुरा भयो उहाँलाई सबैकुरा याद रहेको पाएँ।

प्रकाशित : फाल्गुन २३, २०७६ २०:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×