१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

'बायाँ मिर्गौला झिकेर बायाँतर्फ नै जोड्यौं'

स्वरूप आचार्य

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा लगभग साढे चार घण्टा लगाएर सफलतापूर्वक दोस्रो मिर्गौला प्रत्यारोपण गरिएको छ । उक्त प्रत्यारोपणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका मिर्गौला प्रत्यारोपण विशेषज्ञ प्रा.डा. प्रेम ज्ञवालीसँग गरिएको विशेष अन्तरवार्ता :

'बायाँ मिर्गौला झिकेर बायाँतर्फ नै जोड्यौं'
प्रधानमन्त्रीज्यूको प्रत्यारोपण शल्यक्रिया कति बजेबाट सुरु भयो र कति घण्टा लाग्यो सम्पूर्ण कार्य सक्न?
हामीले उहाँलाई १०, सवा १० बजेको हाराहारी शल्यक्रिया कक्ष भित्र लगेका थियौं। शल्यक्रिया साढे १० बजे सुरु गर्‍यौं। दुईटा शल्यक्रिया ‘साइड बाइ साइड’ गरिएको थियो। सम्पूर्ण प्रक्रिया सकिँदा साढे चार घण्टा लाग्यो।

तपाईंहरुले दाताबाट मिर्गौला कसरी झिक्नुभयो?

हामीले दाताको ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गरेर मिर्गौला झिकेका हौं। त्यसो गर्दा दाताको रिकभरी समयको छोटो र सहज हुन्छ। हामीले यहाँ दाताबाट मिर्गौला झिक्दा ल्याप्रोस्कोपिक विधि नै प्रयोग गर्न थालेका छौं। यो विधिबाट दाताको शल्यक्रिया गरिएको उहाँ ३३/३४ औं हो। पहिला हामीले ठूलै घाउ बनाएर गथ्यौं। तर अहिले हामीले त्यो सिप पनि सिक्यौं र प्रविधि पनि उपलब्ध भएकोले त्यो नै प्रयोग गर्छौं।

प्रत्यारोपणका लागि दाताको कुन मिर्गौला तपाईंहरुले झिक्नुभयो?

हामीले बायाँतर्फको मिर्गौला झिकेका हौं।

बायाँ मिर्गौला नै चयन गर्नुको कुनै मुख्य कारण?

दाताको प्राय गरेर बायाँ मिर्गौला नै झिक्ने गरिन्छ। किनभने मिर्गौलामा मुटुबाट अक्सिजनयुक्त रगत लैजाने मुख्य नसा (रेनल आर्टरी) तथा मिर्गौलाले छानेको रगतलाई फोक्सोमा लिएर जाने नसा (रेनल भेन)को लम्बाई केही लामो हुने भएकाले पनि प्रत्यारोपणमा सहज हुन्छ। सामान्य भाषामा भन्दा निकालेर जोड्न सहज हुन्छ। अर्को कुरा यदि दाताको दायाँभन्दा बायाँ मिर्गौला प्रविधिक रुपमा राम्रो छ भने दायाँ मिर्गौला निकाल्छौं, बायाँ निकाल्दैनौं।

प्रधानमन्त्रीज्यूमा प्रत्यारोपित मिर्गौला कतातर्फ राखियो?

उहाँको पहिलो प्रत्यारोपण गर्दा दायाँतर्फ मिर्गौला राखिएको थियो। त्यसैले हामीले अहिले बायाँतर्फ मिर्गौला राखेका छौं।

प्रकाशित : फाल्गुन २१, २०७६ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?