२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

इँटा भट्टामा सहज जीवन खोज्दै रोल्पाली

दिपेन्द्र रोक्का

काठमाडौँ — उपत्यकाको ललितपुरमा ३० भन्दा बढी इँटा भट्टा सञ्चालनमा छन् । मंसिर, पुस र माघमा इँटा कारखानामा छुट्टै रौनक देखिन्छ । चिम्नीबाट निस्केको धुँवाको मुस्लोसँगै मजदुरहरु इँटा कारखानामा व्यस्त छन् बुङमतीमा आजभोलि । कारखानामा व्यस्त हुने मजदुरमध्ये आधाजसाे रोल्पाली छन् ।

इँटा भट्टामा सहज जीवन खोज्दै रोल्पाली

रोल्पा र रोल्पालीहरुले २५ वर्ष अगाडि आजकै दिन सहज जीवनको सपना बोकेर लडेका थिए । तर, इँटाको धुलो र चिम्नीको धुवाँको मुस्लो भित्रको जीवन अहिले निकै कठिन छ ।


रोल्पाकी २३ वर्षीय मनकुमारी घर्ती इँटा कारखानामा काम गर्न आएको २ महिना भयो । श्रीमान चुलबहादुर सँगै १ वर्षे नानी काखमा च्यापेर काठमाडौं आइपुगिन मनकुमारी ।


गाउँको ऋण तिर्न लागि आफ्नो काखे नानी छेउमा राखेर इँटा बोक्दै थिइन् । दैनिक ८ सयदेखि १ हजार इँटा बोक्छिन् । आफूले कति कमाउँछु भन्ने पनि थाहा छैन उनलाई । गएको हप्ता इँटा बोकेकै कारण उनको ढाड र पेट नमज्जाले दुख्यो । सञ्चो भएको भोलिपल्टदेखि फेरि आफ्नो काममा फर्किन् । ‘खाने मुख छ काम त गर्नैपर्‍यो’ उनका श्रीमान चुलबहादुर भन्छन् ।

रोल्पाबाट आएकी शर्मिला विक साहुबाट लिएको पैसा तिर्न नसकेपछि तिनै साहुमार्फत यहाँ काम गर्न आएकी रहिछिन् । साहुहरु ठेकेदार सरह हुन् । उनीहरुले गाउँ ठाउँबाट इँटा भट्टामा काम गर्ने मानिसहरु भेला पार्छन् । ३१ वर्षीय बुद्धिराम मगरले सानैमा इँटा भट्टामा काम गर्न सुरु गरेका थिए । त्यसपछि उनी विदेश गए अहिले फेरि फर्किएका छन् इँटाको खातमा ।


‘विदेशमा हुँदा पैसा बच्थ्यो बरु यहाँ त फुरमासी खर्च धेरै हुन्छ’ उनी भन्छन् । दैनिक इँटा बोकेर ८ सय देखि १२ सयसम्म कमाउँछन् । काममा खटिएको दिन त्योभन्दा धेरै पनि हुन्छ । मगर पानी पर्ने मौसममा रोल्पामै खेती किसानी गर्न फर्किन्छन् । वर्षमा ५–६ महिना उनी यतै इँटा भट्टामा बिताउँछन् ।

रोल्पाबाटै १ महिनाअघि साहु मार्फत भट्टा आएका प्रेमबहादर विकले आफ्नो काम असुरक्षित महसुस गरेका छन् । विदेशमा काम गर्दा कामदारको सुरक्षा कम्पनीले जिम्मा लिन्छ । तर, यहाँ कसले जिम्मा लिन्छ ? काम गर्दा लगाउने मास्क, बुट र ग्लोब भए आफ्नो काम अलि सुरक्षित हुने उनको विश्वास छ ।


समान्यतया एउटा इँटाभट्टामा १५० देखि २०० मजदुर काम गर्ने गर्दछन् । नेपाल ट्रड युनियन महासंघको तथ्यांक अनुसार हाल नेपालममा ५०० भन्दा बढी इँटा कारखानाहरु संचालनमा रहेका छन् । यस्ता भट्टामा काम गर्ने मजदुरको संख्या चार लाखभन्दा बढी मजदुरहरु छन् । रोजगारीको अवसर नहुँदा इँटा भट्टामा आउने मजदुरको संख्यामा वृद्दि हँदै छ ।

यस्ता इँटा भट्टाहरुमा नेपालीका साथसाथै भारतीय मजदुरहरु पनि उत्तिकै संख्यामा छन् । तथ्यांक अनुसार नेपालका हजारौं इँटाभट्टामा ४१ प्रतिशत भारतीय मजदुरहरु कार्यरत छन् ।


नेपाली मजदुरको तुलनामा भारतीयहरुमा इँटाको व्यवस्थापन र आवश्यक आगोको ज्ञान बेसी हुने इँटा भट्टाका सञ्चालकहरु बताउँछन् । मजदुरहरु कोही साहुमार्फत त कोही आफैं आउछन् ।

प्रकाशित : फाल्गुन १, २०७६ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?