चीनबाट उद्धारको पर्खाइमा रहेका नेपालीका अभिभावकहरुको आक्रोश– ‘के मरेपछि मात्रै ध्यान जाने हो? ’

कान्तिपुर संवाददाता

काठमाडौँ — पाटन, मंगलबजारका ताम्राकार दम्पत्ती हिजोआज उदास छन् । हसाना र नेमकृष्ण ताम्राकार कहिले आफ्नो छोरीलाई नजिकबाट हेर्न पाउँला भन्ने आशमा बाटो कुरेर बसिरहेका छन् ।

ZenTravel

चीनमा पीजी अध्ययनरत २९ वर्षीया छोरी सहाना २ हप्तादेखि कोठामा थुनिएर बसेको छ भन्ने थाहा पाएपछि हसाना रातभर निदाउन सक्दिनन् ।

प्रकाशित : माघ २४, २०७६ १०:५४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अभिनयको भोक

गोकर्ण गाैतम

अनेक हन्डर सहँदै अभिनयको मूलधारमा आइपुगेका एउटा प्रतिभाशाली कलाकार अंकित खड्काको संघर्षको कथा : 

कक्षा आठमा पढ्थे, उमेरचाहिं १८ पुगिसकेको थियो, स्कुल ड्रेसमै सिन्धुपाल्चोकको लप्सेबाट काठमाडौं आए, अंकित खड्का। हुटहुटी थियो– सिरियल खेल्ने।

कसैले अंकितलाई सुनाइदिएको थियो, काठमाडौंमा नयाँ सिरियल ‘अब त अति भयो’ सुटिङ हुँदैछ, त्यसका लागि नयाँ कलाकार चाहिएको छ, एक महिना अभिनय सिकाउँछन्, अनि सिरियल खेलाउँछन््। यत्ति सुनेको भरमा खल्तीमा २५० रुपैयाँ बोकेर राजधानी हान्निएका थिए। यहाँ आएपछि थाहा भयो, अभिनय सिक्न पैसा चाहिन्छ, त्यसपछि मात्र सिरियल खेल्न पाउँछ। तर, पैसा कहाँबाट ल्याउने?

दिदी भक्तपुरमा बस्थिन्, उनले आफ्नो पीडा पोखे। दिदीले झुम्का बन्धकी राखेर ५ हजार दिइन्। त्यही पैसा लगेर बुझाए। कमलविनायकबाट हरेक बिहान हिडेरै कालिकास्थान आउँथे। समय कति जान्थ्यो, ज्यान कति दुख्यो, हिसाब हुन्नथ्यो, गाडी भाडा कति बच्यो, त्यसले अर्थ राख्थ्यो। फेरि उनलाई सिरियल खेल्न यति हतारो थियो कि जस्तै कष्ट सहन पनि तयार थिए। १५ दिनपछि सुचना आयो, बाँकी पैसा नतिर्ने हो भने भोलिदेखि सिक्न नआउनू। दिदीको झुम्का त गइसक्यो, अब कहाँबाट दाम ल्याउनु ! विकल्प एउटै थियो, भोलिबाट नआउने। अंकितले त्यही गरे।

जति सिके, त्यहीबीच अंकितले आफूलाई अरुभन्दा अब्बल सावित गरेका थिए। त्यसैले आश थियो, सिरियल खेल्न पाउने। तर, कहाँ त्यस्तो हुनु? सिरियल सुटिङ भयो, कसैले वास्ता गरेन। उनी सम्झन्छन्, ‘पहिलो पाइलामै ठेस लागेपछि अति गाह्रो हुनेरहेछ। त्यसपछि धेरै समय तनावमै बित्यो।’ घर फर्कन मन लागेन, यता अरु काम थिएन। त्यहीं प्रशिक्षण लिने कतिपयले आफ्नो समूह बनाइसकेका थिए, एकअर्कालाई सहयोग–सिफारिस गर्थे तर उनी कुनै समूहमा थिएनन्। एक्लै–एक्लै। उनलाई पश्चताप हुनथाल्यो, फोकटमा काठमाडौं आइएछ।

डेढ दशक बित्न लाग्यो। अहिले पनि त्यस्तै लाग्छ? अंकित मुस्कुराउँदै भन्छन्, ‘लाग्दैन। केही गर्छु भन्ने उर्जा छ।’ भलै यसबीच कति ठक्कर खाए, त्यसको लेखाजोखा छैन। तर, रंगमञ्च र सिनेमामा आफ्नो अभिनय कौशल पस्किएर धेरै प्रसंशक कमाइसकेका छन्। सहायक भूमिकाबाट आफ्नो पहिचान बनाउन सफल थोरै अभिनेतामा पर्छन् उनी। उनी जब पर्दामा देखिन्छन्, वा स्टेजमा चढ्छन्, केही न केही विशेष लागिहाल्छ। पात्रमा पुरापुर आफूलाई रुपान्तरित गर्नु उनको खुबी हो। संघर्ष अझ बाँकी छ, त्यसका लागि हरेक कोणबाट आफूलाई तम्तयार राखेका छन्। भन्छन्, ‘अहिलेसम्मको उपलब्धि यही हो।’

अंकितका बुबा भारतमा नोकरी गर्थे। उनी उतै जन्मिए। तर, पढ्ने मेलोमेसो मिलेन। आठ वर्षको उमेरमा सिन्धुपाल्चोक घर फर्किएपछि नै हो, उनले कखरा सिकेको। कक्षामा सबैभन्दा ठूलो उनी नै। वार्षिकोत्सवदेखी वातावरण दिवस, बालदिवसम्म आयोजना हुने कार्यक्रमको उनलै नेतृत्व गर्नुपर्थ्यो। कक्षाको ‘मनिटर’ उनैलाई खटाइन्थ्यो। आफैंले कथा लेख्थे, आफू खेल्थे, साथीहरुलाई खेलाउँथे, केही न केही सन्देश हुन्थ्यो त्यसमा। अंकित हाँस्दै भन्छन्, ‘त्यसलाई नाटक भनिदोरहेछ, त्यतिबेला केही थाहा थिएन, पछि पो थाह भयो।’


गायक बन्ने की आरजे? तीनताका बडो दोधारमा थिए अंकित। तर, ‘अर्जुन’ फिल्म हेरेपछि उनी निश्चिन्त भए– अब हिरो बन्ने हो। गायक र आरजेको भूत त्यही उत्रियो। लेदरको ज्याकेट र बुट लगाएर जब राजेश हमाल भुइँमा खुट्टा बजार्थे, चारैतिर धुलो उठ्थ्यो। हो, अंकितलाई त्यस्तै स्टाइलिस हिरो बन्नुथियो।

उनलाई थाहा थियो, गाउँमा बसेर यो सपना पुरा हुन्न। त्यसैले त स्कुल ड्रेसमै काठमाडौं हुइकिएका थिए। तर, उनलाई थाहा नभएको कुरा के थियो भने त्यहाँसम्म पुग्न यो विरानो सहरमा कति हन्डर खानुपर्छ भन्ने।

मौका नपाएपछि त्यत्तिकै हल्लेर बसिरहेका थिए। एउटा जागिरको बन्दोबस्त मिल्यो– रातभर सुरक्षा गस्ती गर्नुपर्ने। पैसो थिएन, गर्नैपर्ने बाध्यता थियो। भक्तपुरको एउटा टोलको सुरक्षा गर्न खटिन थाले। काममा मन लगाउन खोज्थे तर हिरो हुने सपनाले चिमोट्थ्यो। यो पाराले हिरो भइन्न भन्ने निर्क्योल गर्दै जागिर छोडे। भक्तपुर छोडे, कालीमाटीमा बस्न थाले। केहि दिनपछि एउटा सुनौलो अवसर आयो– ‘पालेदाई’ फिल्मको कोरसमा नाच्ने। हिरो पनि अरु होइन, राजेश हमाल नै। अंकितलाई लागेछ, अबचाहिं मेरो दिन आयो।

कोरसमा पछाडि राखिएको थियो उनलाई, तैपनि दंग थिए, तीन दिन मस्त नाचे। चाउचाउको झोल खुब खाए। तर, न पैसा पाए, न हमालसँग चिनजान भयो। हमालसँग दश हात पर बसेर खिचेको फोटोमै चित्त बुझाउनुपर्‍यो। उनी हाँस्दै भन्छन्, ‘२५ रुपियाँ तिरेर धुलाएको त्यो फोटो अझै मेरो पर्समा छ।’ त्यसपछि डान्स सिक्न थाले, शंकर बिसीसँग। उनकाअनुसार त्यतिबेला सिताराम कट्टेल, कुञ्जना घिमिरे त्यहीं डान्स सिक्थे। डान्स सिकेर बचेको समय हार्डवेयरमा काम गर्थे। पैसा जोगाएर दिदीको बन्धकी राखेको झुम्का उकासे। तर, त्यसको बदलामा ‘फी’ बुझाउन नसक्दा डान्स कक्षाबाट निकालिए।

डान्स सिकेकै दौरान अंकितले थाहा पाएका थिए, बागबजारमा बस्यो भने हिरो हुन पाइन्छ। जिम गरेको ज्यान, लामो कपाल, ‘हिरो’ झैं देखिने गरी श्रेष्ठ टेलरिङ अगाडि उभिन्थे। तीन–चार वर्ष यत्तिकै बित्यो। अहँ, उनलाई कसैले पत्याएन। जब पैसा नहाली हिरो बनाउँदैनन् भन्ने थाहा पाए, बागबजार धाउन छाडे। त्यतिबेला उनको सम्पर्क भयो– चौतारी भिजनसँग। यसले लोकगीत र म्युजिक भिडियो बनाउँथ्यो। मौका पाउने आशमा अफिस धाउन थाले। अफिस खोल्ने, झाडु लगाउनेदेखि साँझ बन्द गर्नेसम्म गर्थे तर सुटिङमा समेत जान पाएनन्। केही समयपछि लोकगीतको कोरसमा नाच्न पाए, एउटा विज्ञापनमा झुलुक्क देखिन पाए। पारिश्रमिक त के पाउनु !

बाहिरको सुताइ
त्यतिबेला काठमाडौं छोडेर भागुम–भागुम लाग्थ्यो तर कहाँ जाने? अंकितसँग विकल्प थिएन। भोकै बस्नु सामान्य हुन्थ्यो। सुत्ने ठाँउ नभएर वीर अस्पताल बाहिरसमेत रात बिताए। कालिपाटीतिर चिनेको मान्छेको गाडीमा सुत्न पायो भने फुरुङ पर्थे। तर, हिरो बन्ने हुटहुटीले छोड्दै–छोडेन। अलिपछि लोकगीतमा नाचे, ‘धर्तीपुत्र’ र ‘इशारा’ फिल्म पनि खेले। फिल्म ‘पागल बस्ती’ बन्ने भयो। यसमा रोल ठूलै थियो, त्यसैले अंकित दंग थिए। दुर्भाग्य ! फिल्म बीचैमा रोकियो। तर, यसलाई सुखद घटना पनि मान्छन् उनी। कारण, यसपछि नै हो, उनी मन्डला थिएटरसँग जोडिएको। ‘पागल बस्ती’ खेल्नेक्रममै उनको आर्जेश रेग्मीसँग भेट भएको थियो।

उनीजस्तै संघर्षरत कलाकार आर्जेश जहिल्यै ‘मन्डला थिएटर तिर आउन’ भन्थे। अंकित ढाँट्दैनन्, ‘गुरुकुलको नामचाहिं सुनेको थिएँ की जस्तो लाग्छ। बाँकी थिएटरबारे केही थाह थिएन।’ स्ट्रेट कपाल, जिम गरेको गठिलो ज्यान, लोकगीत र फिल्म खेलेको, मन्डला जाने बेला अंकित आफूलाई खत्रै हिरो हुँ भन्ने थियो। ‘तर, दुईचार दिन सुनील पोखरेल सरको कक्षा लिएपछि मैले आफ्नो असली औकात थाहा पाएँ, घमण्ड सखाप भयो,’ उनले हाँस्दै भने। खासमा मन्डलाको सिकाईले उनको अभिनय होइन, जीवनप्रतिको दृष्टिकोण नै बदल्यो। सोच्ने प्रक्रिया र बानी व्यवहार अलग बनायो।

अंकितले अभिनय गरेको पहिलो नाटक हो, ‘जार’। त्यसमा उनले रुद्रमानको भूमिकाबाट तारिफ पाएका थिए। ‘जार’देखि हाल मञ्चन भइरहेको ‘झिम्केमामा’सम्म आइपुग्दा एक दर्जन नाटक खेले। ‘युमा’, ‘वैतरणी क्याफे’, ‘माथापञ्चर’, ‘छिद्र क्यानभासा’, ‘सलेदो’ आदि–आदि। तर, मन्डलाका हरेकजसो नाटकमा सेट डिजाइन, लाइटिङ, साउन्ड कतै न कतै जोडिएका हुन्छन्।

‘घामपानी’, ‘चंगा’, ‘गोपी’, ‘डमरुको डन्डिबियो’, ‘हुर्रे’ जस्ता फिल्ममा उनलाई महत्वपूर्ण भूमिकामा देखिन्छ। यी फिल्मबाट उनको अभिनयको दायरालाई थप फराकिलो भयो। अहिले नयाँ फिल्मको तयारीमा जुटेका छन्। लाग्छ, बल्ल उनको जीवनले लय पकड्दैछ।

अंकितको भोगाइले भन्छ, ‘आफ्नो काम इमानदारीतापूर्वक गर्ने हो, गल्तीबाट सिक्दै जाने हो। बाँकी त आफ्नो हातमा हुन्न रहेछ।’

प्रकाशित : माघ २४, २०७६ १०:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×