कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

जब ओलीको 'धक्का' देउवाले बुझेनन् ...

काठमाडौँ — प्रतिनिधिसभाको मंगलबारको बैठकको अध्यक्षता नवनिर्वाचित सभामुख अग्नि सापकोटाले गरे । उनले अध्यक्षता गरेको पहिलो बैठकमा शुभकामना दिने कार्यसूची तय भएको थियो ।

जब ओलीको 'धक्का' देउवाले बुझेनन् ...

मंगलबार बिहान बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिले क-कसले शुभकामना दिने भनेर टुंगो लगायो । जसमा सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखमा निर्वाचित भएका सापकोटालाई बधाई तथा शुभकामना दिने तय भयो । त्यसपछि संसदको प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बधाई तथा शुभकामना दिने भए ।

सभामुख सापकोटालाई शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले समसामयिक विषयमा चर्चा गरे । त्यसै क्रममा उनले भिजिट नेपाल २०२० को कुरा उठाए । उनले भने, 'नयाँ वर्ष २०२० लाई हामीले नेपाल भ्रमण वर्षको रूपमा अगाडि सारेका छौं । यसमा सुरुमै हामीलाई केही धक्काका संकेत, प्रकृतिक हिसाबले देखा परेका छन् । जसलाई हामीले सावधानीपूर्वक सामना गर्नुपर्नेछ । सरकार त्यसको तयारीमा लागेको छ ।'

प्रधानमन्त्रीले ती प्राकृतिक धक्का के हुन् केही भनेनन् । तर, बढी पर्यटक आउने मुलुक चीनमा फैलिएको कोरोना भाइरसको प्रकोपतर्फ उनले संकेत गरेको अनुमान गरियो ।

लगत्तै बोलेका प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सभामुखलाई शुभकामना दिँदै विभिन्न विधेयकलाई लिएर सरकारको आलोचना गरे । सरकारको आलोचना गर्ने कुर्सीमा रहेका उनले प्रधानमन्त्रीले एकछिन अगाडि भनेको 'धक्का' शब्दलाई लिएर पनि आलोचना गरे ।

'प्रधानमन्त्रीले धक्काको कुरा गर्नुभएको छ । धक्का आउँदैछ रे ! के धक्का हो यो ? कहाँबाट आउँदैछ ?,' आफूतिर हेरिरहेका प्रधानमन्त्रीलाई हेरेर देउवाले थपे, 'धक्का भन्ने नयाँ शब्द सुनेँ मैले आज । ठूलो धक्का आउँछ रे नेपालमा । कसले धक्का दिनेवाला छ, हामीले पनि थाहा पाउनु पर्‍यो । हामी सहयोग गर्न तयार छौं । कसले धक्का दिनसक्छ ? हामी पनि हेरौं । तर धक्का कसले दिँदैछ प्रधानमन्त्रीले बोल्नु भएको छैन ।' देउवाले यसो भनिरहँदा कांग्रेस सांसदहरू टेबुल ठोकिरहेका थिए ।

तर, ओलीले स्पष्टसँग भनेको 'धक्का' देउवाले अर्कै अर्थमा बुझेको स्पष्ट थियो ।

सम्बन्धित समाचारः

प्रकाशित : माघ १४, २०७६ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?