कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जाडोमा शरीर तताउने चाकु [भिडियाेे]

काठमाडौँ — जाडोमा खासगरी माघे संक्रान्तिमा खाइने एक परिकार हो चाकु । चाकुलाई नेपाली चकलेटको रुपमा समेत चिनिन थालेको छ । काठमाडौं उपत्यकाको प्राचीन सहर टोखा र चाकु एक अर्काका पर्यायजस्तै बनेका छन् । तोरीको तेलका लागि खोकना र जुजु द्यौका लागि भक्तपुर भएजस्तै टोखा चाकुका लागि प्रख्यात छ । 

जाडोमा शरीर तताउने चाकु [भिडियाेे]

नेपाल भाषामा ‘तु’ भनेको उखु र ‘ख्य’ भनेको खुला ठाउँ हो । धेरै उखु खेती हुने भएकाले यस ठाउँलाई पहिले ‘तुख्य’ भनिन्थ्यो । जुन अहिले टोखाको नामले चिनिन्छ । स्थानीय काशीलाल श्रेष्ठका अनुसार यहाँ पहिले धेरै उखु खेती हुन्थ्यो । बाजेहरुले उखुको रस निकालेर त्यसलाई पकाइ चाकु बनाउँथे ।

चाकु पहिले नेवार समुदायले मात्र खाने भएतापनि अहिले सबैमाझ प्रिय छ । टोखा गेटबाट अघि बढ्ने बित्तिकै चाकुको मगमग बास्नाले जोकोहीलाई पनि लोभ्याउँछ । योमरी पून्ही सुरुभएसँगै टोखाका चाकु व्यापारीलाई अहिले चाकु बनाउन भ्याइनभ्याइ छ ।

‘जाडो बढेसँगै चाकुको व्यापार र माग बजारमा धेरै छ । वर्षमा २ महिना हामीलाई भ्याइनभ्याइ हुन्छ,’ काशीलाल चाकु प्रोडक्सनका बुद्ध श्रेष्ठ भन्छन् । माग धेरै बढेका कारण श्रेष्ठ आजकल बिहान ४ बजेदेखि बेलुका १० बजेसम्म आफ्नो कारखानामा व्यस्त हुन्छन् ।

चार पुस्ते उनको यो व्यापारमा फरक पनि आएको छ । उनका हजुरबुबा पहिले खर्पनमा चाकु बोकेर असन, भक्तपुर, पाटन र साँखुसम्म बेच्न पुग्थे । अहिले व्यापारीहरु गाडी लिएर चाकु किन्न उनको कारखानामै आइपुग्छन् । उनले अहिले चाकुबाहेक तिलको लड्डु र अरु मिठाइको व्यापार पनि सुरु गरेका छन् ।

चाकु बनाउने काममा उत्तिकै मिहेनत पनि लाग्छ । चाकु बनाउन साधरणतया सख्खरलाई १३० डिग्री तापक्रम नहुन्जेल भाँडामा उमालिन्छ । उमालिएको चाकुलाई अथ (माटोको भाँडा)मा खन्याएर सेलाइन्छ । यसलाई झन् चिसो बनाउन सफा र चिसो जमिन वा मार्बलमा राखिन्छ । त्यसपछि सेलाएको चाकुलाई खम्बामा झुन्ड्याइएको किलामा अड्याई सरसर तानिन्छ । यसो गर्नाले चाकु अझ मिठो हुने र रंगपनि राम्रो आउने चाकु व्यापारी बताउँछन् ।

चाकु शरीरका लागि पनि फाइदाजनक मानिन्छ । यसमा क्याल्सियम, फस्फोरस र आइरन लगायतका तत्वहरु पाइन्छ । सुत्केरी महिलालाई तागतका लागि हाम्रो समाजमा चाकु खुवाउने चलन छ । योमरी पुन्हि र माघे सक्रान्तिमा चाकुले विशेष महत्व राख्ने गर्दछ । जाडोमा तातो गराउने भएका कारण पनि पुस्तौंदेखि चाकुको महत्व हाम्रो समाजमा रहिआएको छ ।

बुद्ध श्रेष्ठका अनुसार उनले बनाएको चाकु अहिले चीन र अस्ट्रेलियामा समेत जाने गरेको छ । पहिले २–३ बोरा सख्खर चाहिने ठाउँमा अहिले २० देखि २४ बोरा सख्खर खपत भइरहेको छ । सरकारले राम्रोसँग ल्याब परीक्षण गरेर नेपाल गुणस्तरको चिन्ह दिए आफ्नो व्यापार अन्तर्राष्ट्रियकरण गर्ने योजना समेत उनको छ ।

प्रकाशित : पुस ८, २०७६ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?