सभामुखमा मेरो दाबी १०० प्रतिशत छ : उपसभामुख तुम्बाहाङ्फे (भिडियो)

कान्तिपुर संवाददाता

काठमाडौँ — उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले स्वाभाविक रुपमा आफू सभामुख पदको दाबेदार भएको बताएकी छन् ।

उनले कान्तिपुरसँगको कुराकानीमा निवर्तमान सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको सजाय आफूलाई नदिन पनि पार्टी नेताहरुलाई आग्रह गरेकी छन् । आफू योग्य र क्षमतावान् भएरै सभामुखमा दाबी गरिरहेको उनको भनाइ थियो ।

प्रकाशित : मंसिर २९, २०७६ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्

महराको गल्तीमा म किन सती जाने ? : उपसभामुख तुम्बाहाङ्फे

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसदको पाँचौं अधिवेशनमा प्रतिनिधिसभाको पहिलो महत्वपूर्ण एजेन्डा सभामुख चयन हुने भएको छ । सभामुखमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा पूर्वएमालेबाट हुने कि पूर्वमाओवादीबाट हुने भन्ने बहस जारी छ । सभामुखमा पूर्वएमालेबाट सुवासचन्द्र नेम्वाङ र हालकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको तथा पूर्वमाओवादीबाट अग्नी सापकोटाको दाबी छ । सभामुख निर्वाचनको विषयमा उपसभामुख डा. तुम्बाहाङ्फेसँग इकान्तिपुरका जयसिंह महराले गरेको कुराकानी :

संघीय संसद प्रतिनिधिसभाको पाँचौ अधिवेशन आह्वान भएको छ । सुरुमा सभामुखको निर्वाचन हुने निश्चित छ । तयारी कस्तो भइरहेको छ ?
संसद बैठकको आह्वान भइसकेपछि सबै पूर्वतयारी गरिसकेका छौँ । बैठक कक्षहरूमा आवश्यक पर्ने सबै व्यवस्था गरिसकेका छौँ । पुसको ४ गते ४ बजे बैठक बस्छ । हाम्रो सभामुख पद रिक्त छ । त्यसका लागि निर्वाचन प्रक्रियालाई अगाडि बढाउनुपर्ने हुन्छ । त्यसका लागि कार्यव्यवस्था परामर्श समिति बैठक बसेर कार्यसूची तयार गर्छौँ ।

सभामुखको निर्वाचनका लागि तपाईंले उपसभामुख पद खाली गर्नुपर्ने होला, त्यसको तयारी के छ ?
प्रक्रिया कहिले प्रारम्भ गर्ने भन्ने विषय कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्छौँ । त्यसपछाडि मात्रै कहिले हुन्छ (राजीनामा), के हुन्छ भनेर टुंगो लाग्छ । अहिले त बैठक आह्वान मात्रै भएको छ ।

सत्तापक्षले सभामुख पद लियो भने उपसभामुख पद सत्तापक्षको तर्फबाट मैले छोड्नुपर्छ । मैले यसो भनिरहँदा लाग्न सक्छ कि यो पार्टी बिनाको मान्छेले कसरी सत्तापक्षको दलको कुरा गरिरहेको छ ? यो कुरालाई हामीले कसरी बुझ्नुपर्छ भने जतिबेला म माननीय (उपसभामुख) बनेर यहाँ आएँ र प्रतिनिधिसभाका सबै माननीय सदस्यहरू कुनै न कुनै दलबाट आउनुभएको छ । दलले उम्मेदवार बनाएर नै निर्वाचित भएको अवस्था हो । त्यतिबेला सभामुख र उपसभामुख फरक–फरक दलको भएको अवस्था थियो । अहिले दुवै पार्टी मर्ज (एकता) भएको अवस्था छ । अहिले सभामुख पदको निर्वाचन गर्दाखेरि संविधानको त्यो व्यवस्था (सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने) कार्यान्वयन गर्नुपर्छ ।

संविधान कार्यान्वयन गर्नुपर्दा सत्तापक्षले सभामुख पद लियो भने उपसभामुख पदबाट मैले जुन व्याख्या गरे त्यो आधारमा राजीनामा गर्नुपर्छ । त्यसपछाडि मेरो भूमिका के हुन्छ त भन्ने विषय सम्बन्धित दलसँग छलफल गर्नुपर्छ । सम्भवतः त्यो दलले बोलाउला भनेर मैले बाटो हेरिरहेको अवस्था छ । त्यसपछाडि के हुन्छ अनि टुंगो लाग्छ ।
उपसभामुखबाट राजीनामा र सभामुखमा उम्मेदवार बनाउनेबारे तपाईंसँग नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले छलफल गरेको छ ?
कुनै विषयमा पनि छलफल भएको छैन ।

राजीनामा गर्नुपर्छ भनेर सार्वजनिक रूपमा नेकपा संसदीय दलको उपनेता सुवास नेम्वाङले भन्नुभएको छ त ?
छैन । मलाई दलको उपनेताले पनि भन्नुभएको छैन । नेताले पनि भन्नुभएको छैन । सरकारमा रहेको कसैले पनि भन्नुभएको छैन । तर, मैले बुझ्ने कुरा के हो त भन्दाखेरी म अहिले उपसभामुख हो । निर्वतमान सभामुख (कृष्णबहादुर महरा) को जुन घटना घट्यो त्यसपछि सभामुख पद खाली छ । त्यो खालीलाई पूरा गर्नका लागि निर्वाचन त हुन्छ । निर्वाचन हुँदा सभामुख पदमा अहिलेको सत्तापक्षले उम्मेदवार बनायो भने मैले राजीनामा गर्नुपर्छ । मैले राजीनामा कसैले भनेर गर्ने होइन । संविधान कार्यान्वयन गर्ने दायित्व मेरो पनि हो । संविधानमा के लेखिएको छ भने सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्नेछ । त्यो व्यवस्थाअनुसार उपसभामुखको नाताले मैले राजिनामा गर्नुपर्छ भनेको । राजीनामा गर भनेर मलाई कसैले पनि भनेको छैन ।

यसअघि सभामुख बनाउने भए राजीनामा दिन्छु नत्र दिन्न भन्नुभएको थियो अहिलेको अडान के हो ?
मैले त्यसरी भनेको होइन । तर, मेरो दाबी के हो भने हामीले अभ्यास गरिसकेको, अथवा संसदीय अभ्यासमा हामीले उपसभामुखमा काम गर्ने व्यक्तिलाई सभामुख बनाएर नजीर स्थापित गरेका छौँ । त्यो नजीरलाई नै हामीले कन्टिन्यू (निरन्तरता) किने नगर्ने ? निरन्तर किन नगर्ने भनेर प्रश्न गर्नुको अर्थ के हो भन्दाखेरी अहिलेको उपसभामुख पनि सभामुखमा दाबी गर्न लायक छ है भनेको क्या ! कुनै क्षमता बिना दाबी गर्ने कुरा आउँदैन ।
एउटा कुरा के पनि भन्छु भने म महिला भएको कारणले गर्दा सभामुख पद चाहियो भनेको होइन, क्षमताका आधारमा भनेको हो ।

आवश्कयताका आधारमा भनेको । मेरो इच्छा र रहरले म सभामुख हुनुपर्ने भन्ने होइन । अहिलेको आवश्यकताले म सभामुख हुनुपर्छ भन्ने हो । सभामुखको आवश्यकता किन भन्ने कुरा के छ भने कहिलेकाहीँ हामी बाहिर पनि हेर्छौं । बाहिरको माहोल पनि हेर्छौं । यहाँभित्रको माहोल पनि हेर्छौं । अहिलेको सिंगो मुलुकभित्र पनि आधा जनसंख्या ओगटेको जुन महिला समुदाय छ त्यो समुदायको आवश्यकता बमोजिम उहाँहरूको भनाइ, रोजाइ पनि अहिलेको उपसभामुखलाई सभामुख बनाउन पाए राम्रो भन्ने कुरा पनि छ नि त । त्यो कुरामा टेक्दाखेरी हामीले महिलाहरूको प्रतिनिधित्व गर्ने कि नगर्ने ? अहिलेको जुन महिलाहरूको आवश्यकता छ त्यो आवश्यकता भनेको महिलाको मात्रै होइन पुरुषको पनि हो । सिंगो समाजको आवश्यकता हो । त्यो आवश्यकतालाई परिपुर्ती गर्ने दायित्व पनि हो । यो आधार, कारण र आवश्यकताले गर्दाखेरी म पनि त्यहाँ जानसक्ने क्यान्डिडेट (उम्मेदवार) हो भनेर मैले पहिले पनि भनेको, अहिले पनि भन्दैछु ।

निर्वतमान सभामुख महराले गरेको गल्तीको सजाय मलाई किन दिने पनि भन्नुभएको थियो...
त्यो एकदम सही कुरा हो । एकदम सही प्रसंग हो । हाम्रो नेपालमा सतीप्रथा पहिले नै उन्मुलन भएको थियो । म सम्झिँदैछु बेला बेला यस्तो कुरा आउँछ कि- किन बनाउने उपसभामुखलाई सभामुख ? यस्सो सम्झिन्छु कि सतीप्रथा उन्मुलन गरिसकेको बेला हामीले त्यो कार्यान्वयन किन गर्ने ? गल्ती त स्वभावैले एकजनाले गरेको हो । त्यो गल्तीमा म सँगसँगै सती जानुपर्ने किन ? त्यसको जवाफ मैले खोजिरहेको छु । हामीले एक किसिमले प्रथा उन्मुलन गरेका छौँ । त्यै प्रथालाई राजनीतिक क्षेत्रमा हामीले कार्यान्वयन गर्ने भन्ने हुन्न ।

यसको जवाफ आएको छ ?
त्यो जवाफको पर्खाइमा छु म ।

सभामुख बनाउने भूमिकामा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल हुनुहुन्छ भन्ने छ, उहाँहरूले तपाईंलाई सभामुख बनाउछौँ भनेर केही संकेत दिनुभएको छ ?
मलाई थाहा छैन दलभित्रको कुरा । दलले के गर्दैछ मलाई थाहा छैन । कुन कुन नेताको प्रमुख भूमिका हुन्छ त्यो पनि थाहा छैन । दलले के गर्छ, दलले केही कुरा त भन्छ होला भन्ने पर्खेर बसेको छु ।

सभामुखमा तपाईंको दाबी छ भन्ने सन्देश त्यो ठाउँमा पुगेको छ कि छैन ?
त्यो पुग्यो कि पुगेन मेरो मापन गर्ने यन्त्र छैन ।

नेकपामा सभामुख पद कसलाई बनाउने भन्नेमा पूर्वएमाले र पूर्वमाओवादीमा विभाजन भएको देखिन्छ । पूर्वएमालेबाट सुवासचन्द्र नेम्वाङ र तपाईंको दाबी देखिन्छ भने पूर्वमाओवादीले 'हामीले पाउनुपर्छ' भनिरहेको अवस्था छ । यो परिस्थितिलाई कसरी हेरि रहनुभएको छ ?
दलभित्र के हुँदैछ मलाई त्यतातिरको केही पनि थाहा छैन । मैले देखेको, जानेको, भनेको, बुझेको संसदीय अभ्यासभित्र हामीले के गर्दैछौँ ? भविष्यमा मैले के गर्नुपर्छ भन्ने हो । पार्टीले के गर्छ त भन्ने भित्रको कुरा मलाई थाहा छैन ।

नेकपाभित्र 'तपाईंलाई उपसभामुख बनाएको हो स्वतः सभामुख बनाउ भन्न कसरी मिल्छ ?' भन्ने प्रश्न पनि उठेको छ?
स्वतः दाबी गर्न कसरी मिल्छ र भन्नेहरू सम्भवतः राजनीति गरेरै आएको व्यक्ति नै हुनुपर्छ । त्यस्ता राजनीतिकर्मीले के हेर्नुपर्‍यो भने आफूले के अभ्यास गरेको थियो । कुनै न कुनै दलको कुनै न कुनै संगठनमा बसेको व्यक्ति हुन्छ । कोही सदस्य हुन्छ, कोही उपाध्यक्ष हुन्छ, कोही अध्यक्ष हुन्छ । उपाध्यक्षले अध्यक्षको दाबी गर्नु कुनै अनौठो कुरा होइन । जसले यो प्रश्न गर्नुहुन्छ उहाँहरूले दाबी गरेरै अगाडि बढेको मान्छेजस्तो लाग्छ ।

तपाईंलाई सभामुख बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले चासो राखेको भन्ने कुरा पनि सार्वजनिक भएको छ, सत्यता कत्तिको हो ?
मैले पनि अनलाइन र पत्रपत्रिकामा पढेको हो । उहाँले के गर्नुभएको छ थाहा भएन । मैले पढेर थाहा पाएको । बाँकी कुरा त थाहा छैन मलाई ।

मन्त्रिपरिषद् पुनर्गठनका क्रममा तपाईंले उपसभामुखबाट राजीनामा गरेर मन्त्री पदको शपथ लिने भन्ने चर्चा थियो । त्यतिबेला तपाईंले नमान्नुभएको हो कि सल्लाह नै भएको थिएन र मन्त्री बन्नुभएन ?
यसमा मलाई कसैले केही पनि भनेको होइन । त्यो पनि संचारमाध्यममा पढेरै थाहा पाएको हो । एउटा कुरा के भने म अगाडी कसरी जान्छु भन्ने कुरो अनलाइन र पत्रपत्रिकाले लेखेर के गर्छ भन्ने होइन । मलाई दलले पनि त्यो सोधेको होइन । यदि त्यतिबेला कसैले 'मन्त्रिपरिषदमा जाने प्रयोजनका लागि राजीनामा देऊ' भनिदिएको भए एउटा उत्तर थियो ।

मैले त्यतिबेला पत्रकारहरूले सोध्दा भने पनि कि 'मलाई यस्तो खालको प्रस्ताव आएको भए पनि मैले राजीनामा दिन्नथे ।' कारण के हो त भन्दाखेरि प्रतिनिधिसभाको सभामुख पद रिक्त छ । यो एउटा संस्था हो । संस्थाको पहिलो पद खाली छ । खाली भइसकेपछि दोस्रो पदमा बसेको व्यक्तिले पनि खाली गरेर हिँड्न मिल्दैन भन्ने मेरो तर्क थियो । मेरो दायित्व र मेरो कर्तव्य के हो भन्दाखेरि एउटा भइरहेको संस्थालाई खाली बनाएर हिँड्ने होइन । यदि मलाई भनिहालेको भए यही कुरा बताउँथे । तर मलाई कसैले केही पनि भन्नुभएको थिएन । त्यतिबेला दिएको जवाफ पनि यही हो र अहिले पनि यही जवाफ दिन्छु ।

त्यसो भन्नुको मतलब मैले राजीनामा दिने ठाउँ छैन भन्नुभएको हो ?
तपाईंले कुरै बुझ्नुभएको रहेनछ । के प्रश्न सोध्नुहुन्छ । कहाँ राजीनामा दिने भन्ने व्यवस्था छ ।

छोडेर जान मिल्दैन भन्नुको अर्थ के त ?
छोडेर जान मिल्दैन भन्नुको अर्थ एउटा संस्थालाई खाली बनाएर हिँड्न मिल्दैन । जबकि उपसभामुख भएर मैले काम गरिरहेको छु । काम गर्ने क्रममा मैले गल्ती गरको छैन । निरन्तर आफ्नो कामलाई अगाडी बढाइरहेको छु । यति गर्दागर्दै यो संस्थालाई खाली गराएर जान मिल्दैन भन्ने सन्दर्भ र प्रश्नको सन्दर्भ मिल्दैन । सभामुख र उपसभामुखले एक अर्कामा राजीनामा दिने हाम्रो कानुनी प्रवधान छ । अस्ति सभामुखले मलाई सम्बोधन गरेर राजीनामा दिनुभयो मैले स्वीकृत गरिदिएँ । यदि सभामुख भएको भए मैले सभामुखलाई सम्बोधन गर्थेँ । यो कतिबेला हो भन्दाखेरि हाम्रो संसद नचलिरहेको अवस्थामा । संसद चलिसकेपछि त बैठकलाई सम्बोधन गरेर राजीनामा दिने अवस्था रहन्छ । त्यो ठाउँ नै छैन भन्ने कुरा छ । तर संस्थालाई खाली गरेर जान हुन्न भन्ने मेरो तर्क हो ।

कानुनीरूपमा सभामुखले गर्ने काम तपाईंले गर्दा अदालतमा मुद्दा परेको छ, यसलाई कसरी हेर्नुभएको छ ?
अदालतमा पुगिसकेको कुरामा मेरो टिप्पणी छैन । अदालतले जे भन्छ त्यहीँ हुन्छ ।

पार्टीमा पकडको अवस्थालाई हेरेर भन्दा सभामुखमा तपाईंको दाबी कत्ति बलियो छ ?
पार्टीमा पकड–सकड जान्दिनँ । मेरो दाबी १०० मा १०० प्रतिशत छ ।

प्रकाशित : मंसिर २९, २०७६ १९:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×