नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको छः प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको बताएका छन् । मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको आज अपराह्न उद्घाटनपछि सिंहदरबारबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइँमा पुर्‍याउन नयाँ जोश, गतिशीलता र दिशा प्रक्षेपण गर्नु आवश्यक रहेको बताए । 


उनले पाइपलाइन परियोजना सञ्चालनमा आएपछि समयको बचत हुनाका साथै ढुवानी लागत कम हुने, वायु प्रदूषण न्यूनीकरणमा सहायता मिल्ने बताए। 'पाइप लाइन परियोजनाले नेपाली उपभोक्तामा सकारात्मक प्रभाव पारेको छ,' प्रधानमन्त्रीले भने, 'आजैदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ मूल्य घटाएको छ।'

उनले आयोजना सम्पन्न गर्न भारत सरकारले गरेको सहकार्य र सहायताका लागि आभार प्रकट गरे । 'परियोजना नेपाल र भारतको व्यापार तथा पारवहन पूर्वाधारको सम्बन्धमा ‘कनेक्टिभिटी’ को सर्वश्रेष्ठ उदाहरणसमेत हुनेछ,' प्रधानमन्त्री ओलीले भने, 'यसका लागि म प्रधानमन्त्री मोदीजी र भारत सरकारलाई धन्यवाद दिन चाहन्छु ।'

नेपाल–भारतको सहकार्यका क्षेत्र एकाध परियोजनामा मात्र सीमित नरहेको उल्लेख गर्दै उहाँले रेलवे, सडक, जलविद्युत्, एकीकृत जाँच चौकीलगायत विविध क्षेत्रमा द्विपक्षीय सहायताका लागि सम्झौता भएको बताए ।

प्रधानमन्त्री ओलीले पारस्पारिक लाभका लागि दुई देशबीच साझेदारी र सहयोगलाई थप सुदृढ पार्न सक्षम वातावरण सिर्जना गरेको बताए । 'हाम्रा दुई देश बीचको सम्बन्ध यति गहन छ, यसलाई जहाँ र जहिले पनि विस्तार गर्ने अवसर रहेको छ,' उनले भने ।

नेपाल र भारत दुवै स्पष्ट बहुमतसहित राजनीतिक स्थायित्वको मार्गमा अगाडि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, 'बढ्दो आर्थिक वृद्धिदर, गतिशील र सक्षम मानव संशाधनको उपलब्धताले हामीलाई विकास र समृद्धिका लागि आशाजनक वातावरण तयार गरेको छ ।'

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई नेपाल भ्रमणको निम्तासमेत दिएका थिए ।

प्रकाशित : भाद्र २४, २०७६ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्

विश्वकप २०२२ छनोट: पहिलो ‘अवे’ जित

राजु घिसिङ

काठमाडौँ — विश्वकप फुटबल २०२२ छनोटको पहिलो खेलमा नेपालले खाडीको यात्रा गर्दै कुवेतविरुद्ध ७–० को लज्जास्पद हार बेहोरेको थियो । त्यसको पाँच दिनभित्रै मंगलबार नेपालले चाइनिज ताइपेईलाई उसैको भूमिमा २–० ले हरायो । नेपालको पहिलो ‘अवे’ जित यही हो । यसअघि नेपाली टिमले तटस्थ मैदानमा मात्रै सफलता पाएको थियो ।

फिफा वरीयतामा ४१ स्थान माथिको टिमविरुद्ध ताइपेई रंगशालामा दुवै गोल अञ्जन विष्टले गरे । उनले सुजल श्रेष्ठले प्रहार गरेको फ्रिकिकमा हेडद्वारा गोल गर्दै तेस्रो मिनेटमै नेपाललाई अग्रता दिलाएका थिए । दोस्रो गोल उत्कृष्ट रह्यो । डिफेन्डर दिनेश राजवंशीले विशाल राईसँग ‘वान टच पास’ खेल्दै बनाएको आकर्षक मुभमा विंगर रवि पासवानले क्रस गरे । त्यसमा सुजल श्रेष्ठले हेडबाट मिलाइदिएको बल नियन्त्रण गर्दै अञ्जनले गोलमा परिणत गरेर टिमको अग्रता दोब्बर बनाए ।

‘यो विश्वकप छनोटको पहिलो खेलमै कुवेतविरुद्ध अनपेक्षित नतिजा बेहोरेपछि हामीलाई आफ्नो खेलमा फर्किनुपर्ने दबाब थियो,’ नेपाली टिमका कप्तान किरण चेम्जोङले ताइपेईबाट कान्तिपुरसँग भने, ‘फुटबलमा असम्भव केही हुन्न । हामी टिम स्पिरिट पुनरागमन गर्नुपर्छ भनेर उत्साही भयौं । घर फर्किनुअघि जसरी पनि जित्नुपर्छ भनेर खेल्यौं । हामी सबैले कडा मिहिनेत गरेपछि ऐतिहासिक जित हात लाग्यो ।’ स्वीडिस प्रशिक्षक योहान कालिनले गत मार्चमा टिम सम्हालेयता नेपालले छैटौं खेलमा आएर पहिलो जित निकालेको हो ।

‘जित सधैं राम्रो हुन्छ,’ उनले भने, ‘खेलाडीले राम्रो प्रदर्शन गरे । आवश्यक गोल गरे । राम्रो प्रदर्शनले नै अंक दिलायो ।’

सफलताले सबैलाई ऊर्जा दिएको उनले बताए । ‘सेट पिसमा भएको पहिलो गोलको क्रसिङ राम्रो थियो र दौडाइ पनि । यस टिम निर्माणले निरन्तरता पाउने आशा छ,’ उनले भने, ‘सधैं विजयी नै भइन्छ भन्ने होइन । तर स–साना तहबाट अगाडि बढ्नुपर्छ । कुवेतविरुद्ध ७–० ले हारेको खेलबाहेक अरूमा राम्रो प्रदर्शन गरेका छौं ।’

कालिनले जिम्मेवारी सम्हलेयता यसअघिका पाँच खेल (४ मैत्रीपूर्ण र १ विश्वकप छनोट) मा नेपालले २ बराबरी र ३ हारको नतिजा निकालेको थियो । उनले कुवेतविरुद्ध ‘बेन्च’ मै राखेका मिडफिल्डर अञ्जनलाई ताइपेईविरुद्ध विक्रम लामाको स्थानमा पहिले रोजाइमा अवसर दिएका थिए । अञ्जनले अन्तर्राष्ट्रिय फुटबलको २९ औं खेलमा आएर गोल गरेका हुन् । कालिनले अघिल्लो खेलमा घाइते भएका अजित भण्डारीको स्थानमा दिनेश राजवंशी र अर्का डिफेन्डर सुमन अर्यालको भूमिकामा रञ्जित धिमाललाई खेलाएका थिए ।

सन् २०११ जुलाईमा दशरथ रंगशालामा भएको दुई लेगमा इस्ट टिमोरलाई २–१ र ५–० ले पराजित गरेयता विश्वकप छनोटमा नेपालले पहिलोपल्ट जित हात पारेको हो । सन् २००१ मा बग्दाद र अल्माटीमा मकाउलाई ४–१ र ६–१ ले पराजित गरेको नेपालले विश्वकप छनोटमा हात पारेको यो पाँचौं जित हो । नेपालले अब १० अक्टोबरमा अस्ट्रेलियाविरुद्ध क्यानबेरामा खेल्नेछ ।

प्रकाशित : भाद्र २४, २०७६ १९:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्