'२८ लाख गुम्यो, झण्डै गएन ज्यान'

जनकराज सापकोटा

काठमाडौँ — युरोप जाने सपना देखेर म्याग्दीको मंगला गाउँपालिका ४ का रवीन्द्र रोका काठमाडौंको तीनकुनेस्थित एक कन्सलटेन्सीमा धाइरहेका थिए । तर कन्सलटेन्सीले भनेजसरी युरोप पठाउन नसकेकै बेला उनको भेट कन्सलटेन्सीमा सँगै सेवा लिइरहेका सिन्धुपाल्चोकका सचिन बरालसँग भयो ।

गत माघको कुरा हो, सचिनले सुनाए, मेरो एक जना दाइ अमृत बराल क्यानाडा छन्। उनले सबै प्रक्रिया मिलाइदिन्छन्। उतै जाम।

सचिनको कुरा सुनेपछि रविन्द्रले क्यानडामा रहेको बताउने अमृतसँग ह्वाट्सएपमार्फत कुरा गरे। अमृतले भने, 'क्यानडा आउने भए मेरो साथी योगेश सापकोटासँग कुरा गर्नु।' रविन्द्रले भारतको नयाँ दिल्ली रहेका योगेशसँग कुरा गरे। क्यानाडा छिराइदिने, भिसा लागेपछि मात्रै पैसा दिने योगेशको सर्त उनले पत्याइहाले। रविन्द्र दिल्ली जाने तयारीमा लागे। तर सँगैका साथी सचिनले आफूसँग पैसाको अभाव भएकाले तत्काल नजाने बताए। माघ २२ गते रविन्द्र आफूजस्तै अर्का एक जनासँग दिल्ली उडे। योगेशलाई भेटे। क्यानाडा जाने पक्का भएको विश्वासमा उनले बुबा टिकाप्रसाद र मामा सोमबहादुर आले मगरलाई पैसा बोकेर दिल्ली आउन भने। बुबा र मामा माघ २९ मा योगेशले भनेअनुसारको पैसा बोकेर दिल्ली पुगे। सोही राति एक बजेको फ्लाईटमा क्यानाडा जाने आशामा रविन्द्र दिल्लीस्थित ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगे। उनलाई उडाउन भनेर योगेश पनि त्यहीँ आइपुगेका थिए।

योगेशकै सल्लाहमा बुबा र मामा योगेशका एक नेपाली साथी जीवन भट्टराई र अर्को भारतीयको साथमा लागेर विमानस्थलबाट सोझै गुडगाउँको होटलमा पुगे। सोमका अनुसार होटलको कोठा नम्बर ४ सय २ मा पुगेपछि उनी र रविन्द्रका बुबालाई जीवनले चिया खान दिए। सोमले सुनाए, ‘दुई सुर्की चिया पिएपछि घुमाएजस्तो भयो। अनि हामी अचेत भयौं।’ दुवै अचेत भएपछि जीवन र भारतीयले उनीहरुको साथमा भएका साढे २६ लाख रुपैयाँ, पर्समा रहेको खुद्रा पैसा, दुई थान मोबाइल गरेर करिब २८ लाख रुपैयाँ लुटेर फरार भए। सोमका अनुसार उनीहरुलाई बेहोस पार्नुपूर्व भारतीयले फोनमा अस्पतालमा कुरा गरेजस्तो सुनिन्थ्यो। बेहोस भएकाहरु अर्ध होसमा आउँदा लुटेराहरु पैसा लिएर भागीसकेका थिए।

क्यानाडा उड्ने आशामा विमानस्थलमा पासपोर्ट र टिकट कुरेर बसेकै बेला योगेश फुत्त बेपत्ता भए। उनले लगातार योगेशलाई फोन गरे। तर उनी सम्पर्कमा आएनन्, न पासपोर्ट र टिकट नै आइपुग्यो। केही सीप नलागेपछि उनी मध्यरातमा होटलमा फर्के। त्यहीबेला अन्य एक साथीबाट उनले बुबा र मामालाई बेहोस बनाएर पैसा लुटिएको खबर सुने। रविन्द्रले भने, ‘राति नै बुबा बसेको होटल पत्ता लगाएर अस्पताल लगे।’

सोमका अनुसार यो घटनामा पैसा पनि लुटने र अंग झिकेर बेच्ने कोसिस गरेको हुनसक्ने बताए। उनले आफूहरुले १२ घन्टा अस्पतालमा उपचार गराएर आफन्तीसँग पैसा मागेर नेपाल फर्किएको बताए। उनले भने, ‘पैसा त गुम्यो नै, झण्डै ज्यान पनि गएन।’

पीडितको उजुरीका आधारमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जेठको अन्तिम साता योगेशलाई काभ्रेबाट पक्राउ गर्‍यो। उक्त घटनाको अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकारीका अनुसार योगेशले बेहोस अवस्थामा रहेका रविन्द्रका मामा र बाबुको तस्बिर आफ्नो मोबाइलबाट श्रीमतीलाई पठाइदिएको देखिन्छ। प्रहरीले बेहोस बनाएर रकम लुटनेमात्रै उद्देश्य नराखेर मिर्गौला लगायतका अंग झिकेर बेच्नेसमेत उद्देश्य राखेको हुन सक्ने आशंका गरेको छ। ब्युरोको डिएसपी राजकुमार सिलवालले भने, ‘मानव बेचबिखनको यो गिरोहले पैसा लुट्ने र मानव अंगसमेत बेचबिखन गर्ने प्रयास गरेको देखिन्छ।’

प्रहरीको अनुसन्धानले क्यानाडा रहेको बताउने अमृतले इन्डोनेसियामा बसेर मानव तस्करीको संजाल चलाइरहेको निष्कर्ष निकालेको छ। प्रहरी स्रोतका अनुसार इन्डोनेशिया, बैंकक र भियतनाममा बसेर काठमाडौं र दिल्लीमा एजेन्टहरु राखी संगठित मानव तस्करीको अभ्यास पछिल्लो समय निकै फस्टाएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रहरीको अन्तर्राष्ट्रिय संगठन (ईन्टरपोल) ले २०७२ असार २९ मा डिफ्युजन नोटिस जारी गरी चैतको अन्तिम साता बैंककबाट संगठित मानव तस्करीको गिरोह चलाइरहेका पर्शुराम गुरुङलाई पक्राउ गरेको थियो। डिएसपी सिलवालले भने, ‘यो घटनाको पनि अन्तर्राष्ट्रिय कनेक्सनबारे खोजी भइरहेको छ।’

प्रकाशित : असार ३, २०७६ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्

इन्जिनियरिङ कलेजमा तोडफोड

काउन्सिलमा दर्ता नगरेकामा विद्यार्थी आक्रोशित
कान्तिपुर संवाददाता

विराटनगर — इन्जिनियरिङ काउन्सिलमा दर्ता नगरेको भन्दै मंगलबार पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस ‘स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी’ का विद्यार्थीले प्रशासन र लेखामा तोडफोड गरेका छन् । उनीहरूले क्याम्पस प्रमुख मनोजकुमार साहको कुर्सीसमेत जलाएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीको प्रशासन र लेखा विभागमा मंगलबार विद्यार्थीले तोडफोड गर्दा भएको क्षतिग्रस्त सामग्री । तस्बिर : विनोद/कान्तिपुर 

तोडफोडका कारण क्याम्पसको प्रशासनिक विभागका कम्प्युटर, फोटोकपी मेसिन, टेलिफोन, फर्निचर र झ्यालका सिसा फुटेका छन्।

काउन्सिलमा दर्ता नगरेकाले आफूहरूको भविष्य अन्योलपूर्ण भएको भन्दै विद्यार्थीहरू आक्रोशित बनेका हुन्। कलेजको लापरबाहीका कारण काउन्सिलमा दर्ता नभएको र ल्याबका सामग्रीसमेत नरहेको भन्दै उनीहरूले पटक–पटक आन्दोलन गरिसकेका छन्।

‘ब्याचलर इन सिभिल इन्जिनियरिङ’ को दुई ब्याचका विद्यार्थी उत्तीर्ण भए पनि काउन्सिलमा दर्ता हुन सकेका छैनन्। विश्वविद्यालयले यो क्याम्पसलाई इन्जिनियरिङ काउन्सिलमा अझै दर्ता गरेको छैन। अनुगमनका लागि पटक–पटक आएको इन्जिनियरिङ काउन्सिलको टोलीले क्याम्पसमा पूर्वाधार अभाव, ल्याबका सामान नभएको र विषयगत शिक्षक नभएको भन्दै हालसम्म दर्ता नदिएको क्याम्पस प्रशासन स्रोतको दाबी छ।

काउन्सिलमा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगे पनि क्याम्पसको फाइल मन्त्रिपरिषदको क्याबिनेटमा पुग्न नसक्दा दर्ता प्रक्रियामा ढिलाइ भएको क्याम्पस प्रमुख साहले बताए। काउन्सिलले तोकेको मापदण्ड क्याम्पसले पूरा गरी दर्ता प्रक्रिया अगाडि बढाएको उनको दाबी छ। क्याम्पस काउन्सिलमा दर्ता नहुँदा सिभिलका ५० भन्दा बढी विद्यार्थी उत्तीर्ण भए पनि उनीहरूले शैक्षिक प्रमाणपत्रको सदुपयोग गर्न पाएका छैनन्।

यो क्याम्पसको सिभिल इन्जिनियरिङतर्फ एक ब्याचमा ४८ जना विद्यार्थी अध्ययनरत छन्। विद्यार्थी वकिल भट्टराईले क्याम्पसमा नियमित पढाइसमेत नहुने गरेको गुनासो गरे। परीक्षाकै मुखमा क्याम्पस प्रशासनले असार ३ देखि ३१ गतेसम्म क्याम्पस बिदाको सूचना प्रकाशित गरेको छ।

प्रकाशित : असार ३, २०७६ १९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्