यसरी निकालियो कञ्चनजंघाबाट शव
ताप्लेजुङ — विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणको क्रममा मृत्यु भएका दुई आरोहीको शव निकालिएको छ ।
चौथो आधार शिविरमा मृत्यु भएका भारतीय नागरिक ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुन्तल करारको शव हेलिकप्टरबाट काठमाडौं लगिएको हो ।
उनीहरुको शव दोस्रो शिविरसम्म शेर्पाले झारेका थिए । त्यहाँबाट हेलिकप्टरमा राखेर सुकेटार विमानस्थल हुँदै काठमाडौं लगिएको हो । पीक प्रमोशन प्रालिबाट आरोहणमा गएकामध्ये दुई जनाको मृत्यु भएको थियो भने दक्षिण अमेरिकी मुलुक चिलीका रोड्रिगो भिभ्याञ्चो हराइरहेका छन् । उनलाई यो सिजनमा भेट्ने सम्भावना कम रहेको मिङ्मा शेर्पाले बताए ।
आरोहणका क्रममा बिरामी परेका दुई भारतीय र एक जर्मनीको काठमाडौंमा उपचार भइरहेको छ । उनीहरुलाई हेलिकप्टरबाट तत्काल उद्धार गरिएको थियो । ८ हजार ५ सय ८६ मिटर उचाइको कञ्चनजंघामा यो सिजनमा ३४ जनाले आरोहण अनुमति लिएका थिए । अरुको सफल आरोहण भएको कम्पनीहरुले बताएका छन् ।