तरकारी बोकेका गाडीमा मध्यराति छापा

तरकारीमा बिचौलियाको रजाईँ
राजु चौधरी

काठमाडौँ — पाछिल्लो समय बजारमा तरकारीको भाउ उच्च बिन्दुमा पुगेको छ । बजार मूल्य अनुगमन तथा नियन्त्रण गर्ने जिम्मा पाएका वाणिज्य आपूर्ति तथा उपभोक्ता स‌ंरक्षण विभागको तथ्याङ्क अनुसार अहिले गोलभेडाको मूल्य ५ वर्षयताकै बढी हो ।

व्यवसायीले भारतको लोकसभा निर्वाचनका कारण मूल्य बढेको बताउँदै आएका छन् । सरकारी निकाय भने मूल्य बढ्नु रहस्यमय भएको तर्क गर्छन् । राजधानीको कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । उक्त बजारमा दैनिक ९ सय टनसम्म तरकारी भित्रिने गरेको छ । मूल्य अचाक्ली बढेपछि आइतबार राति विभागको अनुगमन टोलीले विभिन्न जिल्लाबाट उपत्यका भित्रिने मुख्य नाका थानकोट चेकपोष्टमा विशेष अनुगमन गरेको छ । आइतबार राति १० देखि ४ बजेसम्म भएको अनुगमनमा तरकारी बोकेका करिब २० वटा ट्रकमा जाँच गरेको छ ।


अनुगमनका क्रममा व्यवसायीहरुले विगतकै कैफियत दोहोर्याउदै आएको पाइएको छ । 'सबैको कैफियत प्रकृति एउटै छ । साविक बिलबिजक जारी भएको छैन । किसानबाट कतिमा खरिद भयो । त्यो तरकारी कहाँ कतिमा बिक्री हुन्छ, बिलबिजक नै छैन,' अनुगमन टोली सयोजक एवं निरीक्षण अधिकृत पवन प्याकुरेलले भने, 'बिलबिजक नै जारी नहुँदा किसान र उपभोक्ता ठगिने देखिन्छ ।'

'पूरै आपरदर्शी व्यवसाय भएको छ । किसानबाट उठाएएर ल्याएका छन् । बिचौलिया भए पनि आफूलाई किसान दाबी गर्दै आएका छन्,' तिमिल्सिनाले भने, 'बिचौलिया हावीले बजारमा समस्या देखियो । कुन किसानबाट खरिद र कहँा कतिमा बिक्री गर्ने जानकारी नै छैन ।'

चालकहरुका अनुसार किसानले राम्रो काक्रोको प्रतिकिलो मूल्य ३० र अलि बिग्रेको १० रुपैया पाउँछन् । तर, कालीमाटीमा काक्रोको मुल्य ६५ रुपैया निधारण गरिएको छ । कालीमाटीभन्दा बाहिरको पसलमा करिब ८०/९० रुपैयामा बिक्री हुँदै आएको छ ।

किसान पनि बिचौलियका तह धेरै हुदाँ समस्या भएको बताउँछन । 'हामीले कतिमा बिक्री गरेको केही जानकारी हुँदैन । प्रतिकिलो ३०/४० मा बिक्री भएको तरकारी आफै खरिद गर्दा ५०/६० रुपैया किलो पर्छ । उपत्यकामा १ सय रुपैयासम्म बेच्छन् भन्ने सुनेका छौ,' मध्यरातमा तरकारी बोकेको ट्रकसँगै आएकी धुनिबेशी २-छत्रदेउराली भगवती मोक्क्तानले भनिन्, 'विभिन्न तहमा बिचौलियाले नाफा खान्छन् । त्यसैले उपभोक्तालाई महंगो र किसानलाई सस्तो ।'



प्रकाशित : जेष्ठ ६, २०७६ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्

सावित्राको चार गोल

सेतु उपाधि नजिक
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली स्टार खेलाडीद्वय सावित्रा भण्डारी र अनिता बस्नेत आबद्ध सेतु एफसीले इन्डियन वुमन्स लिग फुटबलको फाइनल यात्रा तय गरेको छ । सोमबार सेमिफाइनलमा सेन्ट्रल एसएसबी वुमन्स फुटबल टिममाथि ८-१ गोलको फराकिलो जित निकाल्दै सेतुले मणिपुर पुलिस विरुद्धको उपाधि भिडन्त पक्का गर्‍यो । 

पन्जाबस्थित गुरु नानक रंगशालामा सेतुलाई फाइनलमा पुर्‍याउन सावित्राले ह्याटि्रकसहित ४ गोल गरिन् । प्रतियोगितामा उनको यो तेस्रो ह्याटि्रक हो । उनले यस लिगमा व्यक्तिगत गोलसंख्या १३ पुर्‍याएकी छन् ।

सावित्राले ४ गोलका अलावा दाङमेई ग्रेसले पनि ह्याटि्रक पूरा गरिन् भने रतनवाला देवीले १ गोल थपिन् । सावित्राले पहिलो हाफको ४१ औँ मिनेटमा व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरिन् । सावित्रा, ग्रेस र रतनवालासम्मिलित सेतुको अग्रपंक्ति निकै नै आक्रामक बनेको खेलमा सावित्राले ५९ र ६५ औँ मिनेटमा गोल गरी ह्याटि्रक पूरा गरिन् । अन्तिम मिनेटमा उनले चौथो गोल गरेकी थिइन् ।

यसअघि १३ औँ मिनेटमा ग्रेसको गोलमार्फत सेतुले अग्रता बनाएको हो । त्यसयता उनले पहिलो हाफको इन्ज्युरी समयमा दोस्रो गोल गरिन् भने ५२ औँ मिनेटमा ह्याटि्रक पूरा गरिन् । रतनवालाले ७१ औँ मिनेटमा एक गोल गरिन् । रतनवालाले गोल गर्नु एक मिनेटअघि एसएसबीका लागि दुलार मारान्डीले एक गोल फर्काएकी थिइन् ।

सोमबारै पहिलो सेमिफाइनलमा मणिपुर पुलिसले गोकुलम केरला एफसीलाई ४-२ ले पराजित गरेको थियो । ४७ औँ मिनेटमै १० खेलाडीमा समेटिँदा २-१ ले पछि रहेको मणिपुरले सशक्त प्रदर्शन गरी नाटकीय रूपमा खेल आफ्नो पक्षमा पारेको थियो ।

सेतु र मणिपुरले समूह चरणको पहिलो खेलमा प्रतिस्पर्धा गरेका थिए । जहाँ सेतु ६-४ ले विजयी भएको थियो । त्यसमा पनि सावित्राले ४ गोल गरेकी थिइन् । लिगमा सेतु अपराजित टिम हो भने मणिपुरले सेतुसँग मात्र हारेको छ ।

प्रकाशित : जेष्ठ ६, २०७६ २०:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्